कोरोना, ज्येष्ठ नागरिक र बढ्दो दुर्व्यवहार

NAWALPUR TIMES
प्रकाशित : २०७७ असार १९ गते १८:४३

श्रीधर लामिछाने, अमेरिका

कोरोनाले वर्तमान विश्व आतंकित छ। विश्वका धेरै देश मध्ये सबै भन्दा विकसीत कहलिएको अमेरिका सबै भन्दा बढी आक्रान्त छ।कोरोनाबाट पंक्तिकारले यो आलेख लेखिरहँदा ३ जुलाई २०२० को वर्ल्डोमिटरको तथ्यांकानुसार  विश्वमा १ करोड १० लाख १८ बहजार ६ सय ४२ जनामा कोरोना संक्रमण फैलिएको छ भने मृत्यु हुनेको संख्या पांच लाख २४ हजार ८ सय २५ पुगेको छ। अमेरिकामा मात्र २८,३७,६१२ जनामा कोरोना संक्रमण भैसकेको छ भने यसबाट मृत्यु हुनेको संख्या १ लाख ३१ हजार ५०३ पुगेको छ।

कोरोना नेपालमा विशेषत विदेश बाट आएको हो। त्यस मध्ये पनि धेरै छिमेकी मुलूक भारतबाट आयो भन्नु अत्युक्ति नहोला। जहाँ बाट आए पनि, नेपालमा कोरोना यसरी बढ्नुको कारण केलाएर हेर्दा अलि बढी लापरवाही र हेल्चेक्र्याई मुख्य हो। न्युनतम अनुशासन पनि पालना नगर्नु को कारण पनि कोरोनाको संक्रमण दिनानुदिन बढ्दो छ। त्यस्तै सरकारले पनि समयमा विदेशबाट आएर कोरोना पीडित भएकाहरूको परिक्षण र सहि व्यवस्थापन गर्न नसक्नु अर्को कारण हो।

ज्येष्ठ नागरिकहरु थप मारमा

संक्रमित र मृतक बाहेक कोरोनाले आम मानिसमा ठुलो आतंक फैलाएको छ। बिगत ५-६ महिनाको समयमा मानिस धेरै जसो मुलुकमा लक्डाउन मा परे यसले आर्थिक रुपममा पनि ठुलो असर गरेको छ। कोरोनाले ल्याएको आर्थिक प्रभाब त अध्ययन हुने नै छ। कोरोना कहरको पछिल्लो ५-६ महिनाको अवधिमा लागेको बन्दाबन्दीले हर प्रकारले मानिस पिडित हुन पुगेको छ। धेरै मानिस डिप्रेसनको सिकार भैसकेका छन् भने अझ यसको दुष्परिणाम अध्ययन गर्न बाँकि नै छ। आम मानिसको हालत नै दुरावस्था छ भने ज्येष्ठ नागरिकहरु थप मारमा परेको छन् भन्दा सायद विमति नहोला।

अमेरिकाको सन्दर्भमा ज्येष्ठ नागरिक सचेत र साबधानी अपनाएको देखियो जस्तै मास्क लगाउने, स्यानिटाईजरको प्रयोग गर्ने, आवस्यकता नपर्दा सम्म बाहिर नजाने, जूम, मेस्सेंजर आदि सामाजिक संजालमार्फत समुह छलफल गर्ने, संस्थागत रूपमा पनि कोरोनाबारे सचेत गराउने काम प्रशस्त मात्रामा गरेको देखियो।

मैले अल्बानिया, ब्राजिल, भारत, जर्मनी, स्कटल्याण्ड, सिकागो, मेरील्याण्ड लगायतका विभिन्न व्यक्तिहरुसंग कुरा गर्ने उनिहरुको अनुभव सुन्ने मौका पाएँ। त्यो सुन्दा अन्तरिक रूपमा ज्येष्ठ नागरिक र उनिहरुका संस्था र राज्य समेतले ज्येष्ठ नागरिकहरूको पक्षमा धेरै प्रकारका काम गरेको अनुभूति गरें, सुनेँ।

तर अमेरिका, वेलायत र यस्तै विकसित देशका मृत्यु हुने व्यक्तिहरुको सूची हेर्ने हो भने लगभग ८० प्रतिशत भन्दा बढी व्यक्ति ज्येष्ठ नागरिक नै रहेकोले पनि पुष्टि गर्छ कि कोरोनाको पहिलो टार्गेट नै ज्येष्ठ नागरिक हुने रहेछन। जति-जति उमेरको सिमा बढी छ त्यति नै बढी रोगको शिकार हुने जोखिम बढी छ। लासमाथि गरिने राजनीतिबाट जोखिम त्यति नै बढी छ जति कोरोनाबाट संक्रमण हुनेको संख्या बढिरहेको छ।

नेपालको सन्दर्भमा हेर्दा युवाहरू स्वाभाविक रूपमा कमाउ धमाउ गर्न जानु पर्यो। बालवालिका र किशोरहरु पनि अध्ययनमा लाग्नैपर्यो। ज्येष्ठ नागरिकलाइ सचेत गरिएको मात्र हैन आवश्यकता भन्दा बढी त्रासमा पनि राखिएको छ जुन कुरा वास्तविकता पनि हो एक हदसम्म कि यो रोगले पहिलो टार्गेट गर्ने ज्येष्ठ नागरिकलाई नै हो।त्यसैले पनि घरमा नै थन्किएर घरमा वस्नुपर्ने ज्येष्ठ नागरिक नै हुन्।

मानसिक पिडा उनीहरुमा नै हुन्छ। त्यो पनि दुइ प्रकारले, एउटा त आफै विरामी परिएला सन्तानको निमित्त भार भईएला भन्ने। अनि अर्को तर्फ सन्तान छोरा छोरी, नाति नातिना विरामी पर्लान भन्ने चिन्ता पनि उनीहरुमा नै बढि हुन्छ। सामान्यतया आर्थिकरूपमा पीडित ज्येष्ठ नागरिक नै हुन्छन भन्ने त अध्ययन हरुले प्रमाणित गरेको नै छ। त्यस्तै भएको रकम को दुरुपयोग हुन सक्ने अवस्था उनीहरुकै हुन्छ। अझ एक्लो र सहायताहीन निरिह ज्येष्ठ नागरिकहरुको आर्थिक दुर्व्यवहार हुने सम्भावना पनि उत्तिकै छ।

बिगतमा ज्येष्ठ नागरिक भत्ता सन्तान वा रेखदेख गर्नेलाइ नदिएको कारण नै धेरै ज्येष्ठ नागरिकले ज्यान गुमाएको घटना पनि हामीले धेरै देखेका र सुनेका छौँ। यसो भएमा उपयुक्त कानुनी उपचार हुने उपयुक्त प्राबधान पनि छैन।भएको प्राबधानबाट उपचार लिन पनि जताततै जोखिमयुक्त वातावरण छ। यो तितो सत्य हो। अव यसबाट जोगिन पहिलो सजगता अपनाउनुपर्ने ज्येष्ठ नागरिक स्वयम् ले नै हो।त्यसपछी प्रभावकारी गर्न सके स्थानीय निकाय र तिनका पदाधिकारीको हुन्थ्यो। तर कैयन केसमा हामीले थाहा पाएका छौँ कि यि संस्था र व्यक्तिहरु ज्येष्ठ नागरिक सहयोगभन्दा बढी सताउने र ठग्ने गरेका थुप्रै कथाहरु पढ्न पाईएको छ।

असम्मानजनक व्यवहार घटाउनका लागि केही सुझावहरु

यस्ता दुर्व्यवहारबाट होसियारीका साथ बच्न पहिलो काम ज्येष्ठ नागरिकहरू लाइ सचेत बनाइनु पर्छ। दोस्रो स्थानीय निकाय र यिनका जन प्रतिनिधिले समन्वय र सहयोग गर्नु पर्छ। विकशित देशमा ज्येष्ठ नागरिक धेरै नै सचेत छन् र पनि मृत्युहुने वा उपचार नपाउने व्यक्तिहरु उनीहरु नै हुन पुगेका छन्।

नेपालको परिप्रेक्ष्यमा हेर्दा अहिले कोरोनाकोसंक्रमण धेरैनै बढी रहेको बेलामा राज्यले वा अन्तर राष्ट्रिय निकाय (WHO) ले निर्देषित गरे अनुसार नियमको पालना गर्नुको विकल्प छैन। तर संगसंगै आर्थिक संकट टार्न गरिने दैनिक ज्याला मजदुरी गर्ने क्रममा अपनाउनु पर्ने सावधानी पनि उत्ति नै जरुरि छ। अर्थात् अव नेपालीले पनि कोरोनासंग कसरी सहज ढंगले बाँच्ने भन्ने कुरा सिक्नु पर्ने छ। अन्यथा हामी धेरै ठुलो संकटमा पर्नेछौं। त्यस्तै ज्येष्ठ नागरिकहरु आफै परिचालित हुने अवस्थामा सचेततापुर्वक आफै स्वचालित हुन सक्रिय रहन र सामाजिक काममा संलग्न हुने अवसर दिने दिलाउने, ज्येष्ठ नागरिक हरुको यथार्थ अवस्था पत्ता लगाउन स्थानीय निकायले वस्तुनिष्ठ अध्ययन गरि तिनको सूची तयार गर्ने र वर्षको एकपटक सूचना अपडेट गर्ने गर्नु जरूरी छ।

किशोर र युवाको स्वयंमसेवक समुह निर्माण गरि ज्येष्ठ नागरिक हितार्थ प्रयोग गर्ने, व्यवहारिक रूपमा ज्येष्ठ नागरिक समुह (सम्भव भए सम्म) निर्माण गर्न सहजीकरण गर्ने, न्युनतम आवस्यकता पुरा हुने अवस्था सिर्जना गर्ने, समूह आफैले गर्न सक्दा सहज नभए स्थानीय निकायले व्यवस्था मिलाउने, राज्यको सेवाको प्रभावकारिता अनुगमन मूल्यांकन गर्न र सेवाको सुनिश्चितता गर्न निगरानी गर्ने निकाय निर्माण गरि प्रभावकारी कार्यन्वयन गर्ने, त्यस्तो निकाय संघिय, प्रदेश स्तरमा र स्थानीय स्तरमा गर्दा उपयुक्त हुने देखिन्छ।

कोरोनाको कहर रहिन्जेल सामुहिक रूपमा उपस्थित हुन गाह्रो हुने हुदा जूम, भाइबर, फेस टाइम, वा हुन सक्ने व्यवहारिक विकल्प दिएर ज्येष्ठ नागरिकलाइ मनोसामाजिक विक्षिप्तता बाट विचलित नहुने वातावरण तयार गर्ने, दिर्घ रोगी र विशेष स्वास्थ्य अवस्था रहेका ज्येष्ठ नागरिकहरूको सुरक्षाको निमित्त माथि उल्लेख गरिए अनुसार को अवस्था पत्ता लगाई व्यक्तिगत आवस्यकता अनुसार सेवा र सहयोग पुर्‍याउन परिवारजन लाई सचेत गर्ने। त्यस्तै वृद्धाश्रम र हेरचाह केन्द्रमा रहेका ज्येष्ठ नागरिक हरुको स्वास्थ्य सुरक्षा स्थानीय निकाय मार्फत सुनिश्चित गराउने व्यवस्था मिलाउने।

परिवार बिना एक्लो व्यक्तिगत जीवन यापन गरिरहेका ज्येष्ठ नागरिक हरुको विशेष निगरानी गर्ने र उनीहरुको आवश्यकता पुर्‍याउने संरचना तयार गर्न स्थानीय निकाय लाइ प्रोत्साहन गर्ने। आम विश्व मानव समुदायले यो कोरोनाले ल्याएको राम्रो स्वास्थ्यको लागि सजग हुनु पर्ने कुराहरु जस्तै सामाजिक दुरी कायम गर्नु पर्ने, जसकहाँ जहिले पायो जसरि पायो त्यसरी जाने अनि खाने कुरा लाइ होसियारी गराएको छ।

निष्कर्ष

हरेक संकटहरूमा मुख्य पिडा ज्येष्ठ नागरिकहरुलाइ नै हुने गरेको कुरा तथ्यहरूले प्रमाणिक गर्दछन। तसर्थ उनीहरूलाई हुने मानसिक पिडा बाट मुक्त गर्न र हरप्रकारका दुर्व्यवहारबाट वचाउन राज्य, सामाजिक संघसंस्था र घर परिवारले हरप्रकारले सजग एवम् सचेत हुन आवश्यक छ। र सम्बन्धित निकायबाट तदनुरूप कार्यक्रम संचालन गर्नु आवस्यक छ।

सुझाब को लागि [email protected]

प्रकाशित : २०७७ असार १९ गते १८:४३
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI