रकमान्तर गरेर भूमिसुधार मन्त्री पद्मा अर्याललाई डेढ करोडको गाडी

NAWALPUR TIMES
प्रकाशित : २०७७ असार २५ गते १९:०२

काठमाडौ । कोभिड-१९ का कारण देश आक्रान्त भएका बखत भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्मा अर्याललाई डेढ करोडको गाडी चढ्न मन लागेको छ।

आफू चढ्दै आएको गाडी पोखरामा थन्क्याएर मन्त्री अर्याल नयाँ गाडी खरिदमा लागेकी हुन्। उनको गाडीमोहलाई साकार पार्न मन्त्रालयले अर्थबाट डेढ करोड रुपैयाँ स्वीकृति पनि लिइसकेको छ।

भूमि तथा भू-उपयोग व्यवस्थापन कार्यको बजेट रकमान्तर गरी मन्त्रालयले अर्यालका लागि गाडी खरिद गर्ने योजना अघि बढाएको हो।

स्रोतका अनुसार मन्त्रालयले उक्त शीर्षकको पाँच करोड ३७ लाख रकमान्तर गरी सवारीसाधन खरिद गर्न खोजेकोमा अर्थ मन्त्रालयले मन्त्री अर्यालका लागि मात्रै गाडी खरिदको अनुमति दिएको छ।

मन्त्रालयले मन्त्री र नापी विभाग अन्तर्गतका कार्यक्रमका लागि सवारीसाधन खरिद गर्न पाँच करोड ३७ लाख रुपैयाँ रकमान्तर गर्न अर्थ मन्त्रालयमा सहमति माग्दै प्रस्ताव पठाएको थियो। अर्थले भने रकमान्तर शब्द उल्लेख नगरी मन्त्रीलाई गाडी किन्न सहमति दिएको छ।

कोरोना भाइरस (कोभिड-१९) महामारी चलिरहेका बेला भूमि मन्त्रालयले अर्थमा वैशाख ९ गते उक्त प्रस्ताव पठाएको थियो। अर्थले प्रस्ताव गएको एक साता ननघाई वैशाख १५ गते मन्त्री अर्यालका लागि मात्रै खरिद गर्न सहमति दिएको छ।

प्रकाशित : २०७७ असार २५ गते १९:०२

ताजा अपडेट

Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI