ब्रत बसेकी महिलाको मन्दिरमा पूजा गर्दागर्दै मुत्यु

NAWALPUR TIMES
प्रकाशित : २०७७ साउन ५ गते २२:४९
ब्रत बसेकी महिलाको मन्दिरमा पूजा गर्दागर्दै मुत्यु

सुर्खेत : ब्रत बसेकी एक महिलाको मन्दिरमा पूजा गर्दागर्दै मुत्यु भएको छ । सोमबार दिउँसो जिल्लाको बराहताल गाउँपालिका-८ भट्टेघाडीस्थित शिव धाम मन्दिरमा पूजा गर्दागर्दै उनको मृत्यु भएको हो । 

उनी साउने सोमबारे ब्रत बसेकी थिइन् । मृतक ५० वर्षीया महिला लक्ष्मी शाही वडा नम्बर ४ सिम्लेघारी निबासी हुन् । दिउँसो करिब १२ बजेतिर मन्दिरमा पूजाआजा गरी नृत्यकर्म गर्ने क्रममा मृत्यु भएको वडाध्यक्ष मणिराज कार्कीले बताए ।

उनका अनुसार मृतक लक्ष्मीसँगै उनकी बुहारी पनि मन्दिर आएकी थिइन् । तर मृतक लक्ष्मी भने दिर्ग रोगीको बिरामी रहेको र हिजोदेखि ब्रत बसेर खाना नखाएको उनले बताए ।  स्थानीय भैरव प्राविमा कार्यरत शिक्षिका मनिषा शाहीका अनुसार मन्दिरमा जल चढाउँदै पूजा गर्नेक्रममा लक्ष्मी बेहोस भएकी थिइन् । पछि होस् नखुलेरै उनको मृत्यु भएको हो । 

उक्त मन्दिरमा हप्तामा दुई दिन सोमबार र शुक्रबार पूजा लाग्छ । मृतक लक्ष्मीको शव अहिले मन्दिर नजिकै उनका आफन्तको घरमा राखेर परिवारलाई बोलाइएको वडाध्यक्ष कार्कीले बताए । घटनाबारे स्थानीयले प्रहरीलाई समेत जानकारी गराएका छन् ।

यसैबीच लकडाउन खुकुलो भएसँगै सुर्खेतको देउतीबज्यै मन्दिरमा पनि दिनप्रतिदिन दर्शनार्थीको भीड बढ्दै गएको छ । तर उनीहरुले कोरोना महामारीलाई केन्द्रित गरी सामाजिक दूरीको पालना भने गरेका छैनन् । 

मन्दिर दर्शन गर्नेहरुको धुइँचो लाग्न थालेपछि लाइनमा बसेर दर्शनार्थीले पालो क्रमअनुसार पूजा गर्ने गरेका छन् । लकडाउन खुकुलो भएपनि मन्दिरजस्ता निकै भीडभाड हुने ठाउँमा सुरक्षा उपाय अपनाउनु पर्ने हो । तर यस विषयमा कसैले ध्यान दिएका छैनन् ।

प्रकाशित : २०७७ साउन ५ गते २२:४९
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI