जिल्ला अदालत बाँकेका पाँचजना कर्मचारीमा कोरोना पुष्टि

NAWALPUR TIMES
प्रकाशित : २०७७ साउन १९ गते ८:४४
जिल्ला अदालत बाँकेका पाँचजना कर्मचारीमा कोरोना पुष्टि
corona

बाँकेमा अदालतका कर्मचारीलाई पनि कोरोना देखिएको छ। जिल्ला अदालत बाँकेका पाँचजना कर्मचारीमा कोरोना पुष्टि भएको हो। जिल्लामा समुदायस्तरमा कोरोना फैलिएको भन्दै तीन दिन निषेधाज्ञा सुरु गरेको पहिलो दिन आइतबार नै अदालतका कर्मचारीमा कोरोना पुष्टि भएको हो।

त्यस्तै राँझास्थित आर्मी अस्पतालका चिकित्सकलाई पनि कोरोना पुष्टि भएको छ। अदालतका कर्मचारीसहित १२ जनामा कोरोना देखिएको हो। कोरोना संक्रमित हुनेमा बाँके जिल्लाका स्थायी निवासी ७ जना रहेका छन्।

भेरी अस्पताल नेपालगञ्जमा गरिएको परीक्षणमा आर्मी अस्पतालका चिकित्सकसहित तीन जना, जिल्ला अदालतका पाँच जना, खजुराका एकजना, दाङका नेपाली सेना एकजना, टीकापुरका चिकित्सकसहित दुई जनामा कोरोना देखिएको छ।

समुदायमा कोरोना फैलिएको भन्दै बाँकेमा तीन दिन निषेधाज्ञा जारी गरिएकाे छ। त्यसका साथै बाँके प्रशासनले कोरोना देखिएको कोर एरियालाई सिल गर्ने रणनीति बनाएको छ।

बिहान जिल्लास्तरीय कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (डीसीसीएमसी)को बैठक बसेको थियो। बैठकले संक्रमितको संख्या बढेमा नेपालगञ्जको वडा नं. ३, ८ र ११ नम्बरका केही भागलाई सिल गर्ने तयारी गरेको छ। नेपालगञ्जको भीडभाड हुने त्रिभुवनचोक, आन्तरिक राजश्व कार्यालय, यातायात र अदालतका कर्मचारीलाई पनि कोरोना देखिएको छ।

प्रकाशित : २०७७ साउन १९ गते ८:४४
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI