नेपालमा पनि गाँजालाई वैधानिकता दिनु पर्ने विषयमा बहस सुरु

NAWALPUR TIMES
प्रकाशित : २०७७ मंसिर २१ गते २१:४९
नेपालमा पनि गाँजालाई वैधानिकता दिनु पर्ने विषयमा बहस सुरु

काठमाडौं, २१ मंसिर । संयुक्त राष्ट्र संघले गाँजालाई खतरनाक लागू औषधको सूचीबाट हटाएपछि नेपालमा गाँजाले वैधानिकता पाउनु पर्ने बहस फेरि एकपटक चर्किएको छ ।

संसदमा विचाराधीन अवस्थामा रहेको गाँजा बिधेयक आउँदो संसदबाट पारित गराउन पहल गर्ने सांसदहरुले बताएका छन् । नेपालले यसबर्ष भित्रै गाँजामा लगाएको प्रतिबन्ध हटाउनु पर्ने माग पनि उनीहरुको छ ।

 

गाँजालाई लागू औषधको रूपमा लिन नहुने तर्क युएनले नै पुष्टि गरिदिएको छ । गाँजा चुरोट, रक्सीभन्दा अत्यन्त कम हानिकारक भएको तथ्य विज्ञानले प्रमाणित गरिसकेको छ । कुनै समय नेपालको सिंहदरबार वैद्यखानामा गाँजा मिक्स गरेर आयुर्वेदिक औषधिहरु बनाइने गरिन्थ्यो ।

तर २०३३ सालमा गाँजामा प्रतिबन्ध लगाएपछि अहिले नेपालमा गाँजाबाट बन्ने आयुर्वेदिक औषधि समेत बनाउन पाइदैन ।

नेपालमा गाँजामा लगाएको प्रतिबन्ध हटाउनुपर्ने माग सहित प्रतिनिधि सभामा विधेयक दर्ता भएको पनि धेरै भैसक्यो । यो बर्ष भित्रै गाँजामा लगाएको प्रतिबन्ध हटाउने कोसिसमा सांसदहरु छन् ।

नेपालमा किन प्रतिबन्धित भयो गाँजा ?

बिंसं. २०१७ साल चैतमा संयुक्त राष्ट्रसंघीय मुख्यालयमा सम्पन्न सम्मेलनले अन्तर्राष्ट्रिय सन्धि ‘द सिंगल कन्भेन्सन अन नार्कोटिक ड्रग्स १९६१’ पारित गर्यो, जसले गाँजालाई पनि अफिम सरहको कडा खालको लागूऔषध मान्दै प्रतिबन्ध लगायो ।

सदस्य राष्ट्रहरूले गाँजा खेती नियन्त्रणका लागि अग्रसरता लिनुपर्ने अनिवार्य व्यवस्था गर्यो । त्यसै अनुरुप नेपालले पनि गाँजामा प्रतिबन्ध लगाउन बाध्य भयो ।

नेपालले २०३३ सालमा लागूऔषध (नियन्त्रण) ऐन जारी गरेर ‘गाँजाको खेती, उत्पादन, खरीद–बिक्री, निकासी, पैठारी, सञ्चय र सेवन गर्न’ प्रतिबन्ध लगाइयो ।

अहिले गाँजा खुल्ला गर्नुपर्ने माग किन चर्कियो ?

अमेरिकामा करीब ११ वर्ष लगाएर गरिएको अध्ययनले दुखाइ कम गर्ने अन्य औषधि (पेन किलर)का तुलनामा गाँजा प्रभावकारी देखिएको छ । नेपालमा परम्परागत रूपमै गाँजाबाट बनाइएको आयुर्वेदिक औषधि प्रयोग हुन्थ्यो ।

आयुर्वेदमा ‘विजया’ भनिने गाँजाबाट निर्मित औषधि अनिद्रा, शीघ्र स्खलन, झाडापखाला, अत्यधिक पीडा, मानसिक रोग जस्ता समस्यामा प्रयोग हुने गरेको सिंहदरबार वैद्यखानाको अभिलेखमै उल्लेख गरिएको छ ।

नेपालको हावा पानी गाँजा खेतीको लागि अत्ति उपयुक्त मानिन्छ । नेपालमा गाँजाले बैधानिकता पाए अर्थतन्त्रमा टेवा पुग्ने छ ।

प्रकाशित : २०७७ मंसिर २१ गते २१:४९

ताजा अपडेट

Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI