राष्ट्रपतिज्यू, ‘तपाईंको श्रीमानको हत्यारा खोज्नुस्, मेरो श्रीमानको हत्यारा नछोड्नुस्’

NAWALPUR TIMES
प्रकाशित : २०७७ फागुन ८ गते २२:५८
राष्ट्रपतिज्यू, ‘तपाईंको श्रीमानको हत्यारा खोज्नुस्, मेरो श्रीमानको हत्यारा नछोड्नुस्’

नेपाल तरुण दल चितवनका तत्कालीन अध्यक्ष शिव पौडेलको हत्यामा जेल सजाय भोगिरहेका तीनजना दोषीको सजाय मिनाहा गरेपछि वीना पौडेलले दु:ख व्यक्त गरेकी छन्। उनले सत्ता र शक्तिको आडमा राष्ट्रपतिले हत्यारालाई सफाइ दिएको बताइन्। उनी २०६८ हत्या गरिएका शिव पौडेलकी श्रीमती हुन्।

‘राष्ट्रपति र प्रधानमन्त्रीले आफ्ना कार्यकर्ता भएकै कारण उनीहरुलाई आममाफी दिनुभएको छ,’ उनले भनिन्, ‘यो खबर सुनेपछि मलाई विश्वास लागिरहेको छैन, किनभने राष्ट्रपतिकै पनि श्रीमानको हत्या भएर अपराधी पत्ता लाग्न सकेको छैन, उहाँले कसरी यस्तो गर्न सक्नु भयो होला भन्ने लागेको छ।’

उनले आफ्ना श्रीमानका हत्यारालाई आममाफी दिने निर्णय फिर्ता लिन आग्रह गरिन्। ‘२६ वर्षको उमेरमा मेरो ५ वर्षको बच्चा थियो, म जस्ता सामान्य मान्छेका श्रीमान मारिएका छन्, उहाँले कारबाही भोगिरहेकाहरुलाई पनि आममाफी दिनुहुन्छ,’ उनले भनिन्, ‘सुखसुविधा, आराम पाएर राष्ट्रपतिले आफ्नो श्रीमानको हत्यारा बिर्सिनु भयो होला म बिर्सिन सक्दिनँ, म मेरो श्रीमानको हत्या गर्नेलाई पूरा सजाय भोग्ने गराउनका लागि अनेक प्रयत्न गर्नेछु।’

उनले आफ्ना श्रीमानलाई षडयन्त्रपूर्वक फसाइएको भन्दै जेलमै हत्या गरेका हत्यारा पुष्टि भएका व्यक्तिलाई पूरा कारबाही हुनुपर्ने बताइन्। ‘मेरो श्रीमानमाथि षडयन्त्रपूर्वक आरोप लगाएर जेलमा राखिएको थियो, त्यहाँको प्रहरीले मेरो श्रीमानको संलग्नता नभएको बताएपछि बाबुराम भट्टराई र वामदेव गौतमको सरकारले प्रहरी प्रमुख परिवर्तन गरेर जसरी पनि जेलमा पठाउने षडयन्त्र गरेर जेलमा लगेर हत्या गरिएको थियो,’ उनले भनिन्, ‘अपराध गर्नेले सजाय पाउँछन्, कानुनी कारबाही हुन्छ भन्ने जुन विश्वास थियो त्यो टुटेको छ।’

उनले आफूले राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेट गर्न चाहेको बताउँदै भनिन्, ‘म उहाँलाई भेटेर मेरा कुरा राख्न चाहन्छु, उहाँलाई म वास्तविक कुरा बुझाउन चाहन्छु, हत्याराहरुलाई आममाफी नदिइयोस्।’ उनले देशमा हत्याहिंसा र बलात्कारपछिका हत्याहरुमा पनि प्रधानमन्त्रीले चासो नदिएका कारण शान्तिसँग बस्न नसक्ने अवस्था आइसकेको बताइन्।

२०६८ सालको पुसमा जिल्ला कारागार चितवनमा तरुण दल चितवनका तत्कालीन अध्यक्ष शिव पौडेलको हत्यामा संलग्न फणिन्द्र श्रेष्ठ, दिलबहादुर मोक्तान र सुनिल केसी छन्। पौडेलमाथि २०६८ मंसिर २0 मा कारागारभित्र आक्रमण भएकोमा उपचारका क्रममा पुस २ गते काठमाडौँमा मृत घोषणा गरिएको थियो।

प्रधानमन्त्री केपी शर्मा ओली सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रजातन्त्र दिवस (फागुन ७ गते) का अवसरमा पाँच सय भन्दा बढी कैदीबन्दीको बाँकी कैद सजाय माफी मिनाह दिएकी हुन्। मन्त्रिपरिषद्को‌ सिफारिसमा ४०१ कैदीको बाँकी कैद मिनाह तथा १७९ जनाको भुक्तान हुन बाँकी कैदमा छुट दिइएको हो। सरकारको सिफारिसमा आममाफी पाउने तीनैजना नेकपाको ओली खेमा समर्थक हुन्। देशसञ्चारबाट

प्रकाशित : २०७७ फागुन ८ गते २२:५८
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI