किशोरीलाई बलात्कार प्रयास गर्ने युवक पक्राउ

NAWALPUR TIMES
प्रकाशित : २०७७ चैत ५ गते ६:३१
किशोरीलाई बलात्कार प्रयास गर्ने युवक पक्राउ

विद्यालयबाट घर फर्किँदै गरेकी १६ वर्षीय किशोरीलाई बलात्कार प्रयास असफल भएपछि कुटपिट गर्ने युवकलाई जिल्ला प्रहरी कार्यालय बाँकेले पक्राउ गरेको छ । बलात्कार प्रयास गर्दा किशोरीले नमानेपछि मराणाशन्न हुनेगरी कुटपिट गरेर फरार भएका नेपालगञ्ज उपमहानगरपालिका– ४ निवासी २० वर्षीय युवक जुनैद हल्वाइलाई प्रहरीले भारतबाट पक्राउ गरेको प्रहरी उपरीक्षक ओमबहादुर रानाले जानकारी दिए ।

उनका अनुसार नेपालगञ्जस्थित एक सामुदायिक विद्यालयमा कक्षा ९ मा पढ्ने किशोरीलाई हल्वाइले गत माघ १६ गते विद्यालयबाट फर्किरहेका अवस्थामा डर धम्की देखाइ स्थानीय एक होटलमा लगेर बलात्कार प्रयास गरेका थिए । किशोरीले प्रतिकार गरेपछि युवकले मरणाशन्न हुने गरी कुटपिट गरेका थिए ।

जुनियादको आक्रमणबाट गम्भीर घाइते भएकी ती किशोरीलाई नेपालगञ्जस्थित बालबालिकासम्बन्धी काम गर्ने संस्थाको सेल्टरमा राखेर उपचार गरिएको थियो । लामो समयसम्मको उपचारपछि केही दिनअघि मात्र ती बालिका घर फर्केकी छिन् । बालिकालाई बलात्कार–हत्या प्रयास गरेपछि जुनियाद फरार थिए ।

नेपालगञ्जबाट भागेर भारत पुगेका हल्वाइलाई नेपाल प्रहरीले भारतीय प्रहरीको सहयोगमा मङ्गलबार पक्राउ गरेर ल्याएको प्रहरी उपरीक्षक रानाले बताए । प्रहरीले आज पत्रकार सम्मेलन गरेर युवकलाई सार्वजनिक गरेको हो ।
किशोरीमाथि भएको बलात्कार–हत्या प्रयासका दोषीलाई पक्राउ गरी कडा कानूनी कारवाही गर्नुपर्ने भन्दै नागरिक समाज, अधिकारकर्मी, विभिन्न संस्थाले आवाज उठाउँदै आएका थिए । घटनापछि किशोरीका परिवारले जिल्ला प्रहरी कार्यालयमा बलात्कार र हत्या प्रयास गरेको जाहेरी दिएको प्रहरी उपरीक्षक रानाले बताए ।

प्रकाशित : २०७७ चैत ५ गते ६:३१
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI