अस्पतालमा बेड खोज्दा-खोज्दै एम्बुलेन्समै जनप्रतिनिधिको मृत्यु

NAWALPUR TIMES
प्रकाशित : २०७८ वैशाख २४ गते १६:२८
अस्पतालमा बेड खोज्दा-खोज्दै एम्बुलेन्समै जनप्रतिनिधिको मृत्यु

रुपन्देही । पछिल्लो समय रुपन्देहीमा नयाँ भेरियन्टको कोरोना भाइरसको प्रभाव अत्यन्तै जटिल रूपमा देखा परेको छ । जहाँ अस्पतालका शय्या हरू खाली छैनन् भने भरिएका शय्या माथि जीवनको कामना गरिरहेकाहरू जीवन बचाउने बुटी (अक्सिजन) को प्रतीक्षामा छन् ।

यसबिच जनप्रतिनिधिले समेत अस्पतालको खाली शय्या चाहर्दा चाहर्दै, ज्यान गुमाउन पुग्दा, यहाँको अवस्था कस्तो छ, भन्ने कुरा सजिलै अनुमान गर्न सकिन्छ । शुक्रवार (आज) बुटवल उपमहानगरपालिका वडा नं.-७ का वडा सदस्य नवीन थापा मगरको अस्पतालको अक्सिजन सहितको शय्या नपाउँदा मृत्युवरण गर्नुपरेको बुटवल उप-महानगरपालिकाका नगरप्रमुख शिवराज सुवेदीका स्वकीय सचिव मेघराज भट्टराईले बताए ।

उनले अत्यन्तै कारुणिक शब्दमा भने, कोरोना सङ्क्रमित वडा सदस्य थापामगरको अस्पतालमा बेड खोज्दा-खोज्दै एम्बुलेन्समै मृत्यु व्यहोर्नू पर्दा दुखी भएको छु । बिहीबार बिहान देखी राती ९ बजे सम्म कोभिड विरुद्धकै अभियानमा खटिएर घर फर्किए लगत्तै, पुनः अस्पताल जानुपर्ने भयो । जाँदा वडा सदस्य थापामगर अक्सिजनको आवश्यकतामा छटपटाई रहनु भएको थियो । क्रिमसन अस्पताल मणिग्राममा आइसियु एवं भेन्टिलेटर खोज्दा नपाएपछि, अस्पताल खोज्न एम्बुलेन्समै राखेर भैरहवा चाहर्दा अन्ततः दुखान्त भयो स्वकीय सचिव भट्टराईले भने ।

उनी भन्छन्, एम्बुलेन्समा अस्पताल खोज्दै गर्दा आफूलाई वडा सदस्य थापाले ‘मेघराज छिटो गर, न म यहाँ एम्बुलेन्स भित्र अक्सिजन लगाएर मात्रै बस्न सकिरहेको छैन मलाई छिटो अस्पताल भित्र लगिहाल भन्दै, चिच्याई रहेको स्मरण सुनाए । समयमै उपचार नपाएका कारण वडा सदस्यले मृत्युवरण को अवस्था भोग्नु पर्छ भने अरूको के हाल होला ? भट्टराईले बिलौना गरे । रुपन्देहीको अवस्थालाई हेर्ने हो भने महामारी भयावह भइसकेको स्थिति रहेको छ ।

प्रकाशित : २०७८ वैशाख २४ गते १६:२८

ताजा अपडेट

Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI