शशांकको संकेतका अर्थहरु

NAWALPUR TIMES
प्रकाशित : २०७८ कार्तिक २७ गते ९:५०
शशांकको संकेतका अर्थहरु

काठमाडौं। महाधिवेशनको मिति नजिकिदै गर्दा नेपाली कांग्रेसका नेताहरु प्रसव पीडामा रहेकी सुत्केरी जस्तै छट्पटाउन थालेका छन्। सबै कुरा सोचेजस्तै भएको यस्तो पीडा कम हुन्थ्यो। तर परिस्थिति आँखा अगाडी मिल्ने भन्दा नमिल्नेतर्फ अघी बढेको देखेपछि यो छट्पटी हुनु स्वभाविक पनि हो । यसैकारण पनि यो छट्पटीलाई कम गर्ने उपचारका लागि नेताहरु आफ्नो समूहमा गृहकार्यमा जुटेका छन्।

बालुवाटार वैठकमा सभापतिमा उमेद्वारी घोषणा गरिसकेका विमलेन्द्र निधीसँग देउवाको हसिमजाकमै भएपनि राम्रै राजनीतिक सवालजवाफ भयो। यो सवालजवाफको प्रकृती र प्रवृती हेर्दा देउवालाई निधीले पनि कहि न कहि छटपटाउने स्थितिमा पुर्‍याउन सक्छन भन्ने देखिएको छ।

यद्यपी सबै राजनीतिक जोडघटाउ गरेका देउवा आत्तिएका भन्दा पनि ढुक्क जस्तो देखिदै गएका छन्। १३औं महाधिवेशनमा आफूसँगै चुनाव उठेका पौडेलको समूहमा सभापतिको थप आकाँक्षी भएपछी अहिले देउवा थप ढुक्क देखिएका हुन्। अझ पौडेल समूहमा उपसमूहहरुको नेतृत्व गर्ने सभापतिका आकाँक्षीहरुको कडा अभिव्यक्तिले पनि पौडेल समूह सम्हालिने भन्दा पनि भत्किने बाटोतर्फ अग्रसर भएको आँकलन गर्न थालिएको छ।

यिनै परिस्थितिको विष्लेषण पछि आफ्नो समूहमा विभिन्न उपसमुहको नेतृत्व गर्दै  सभापति सहित पदाधिकारीहरुको आकांक्षीहरुलाई राखेर पौडेलले शुक्रवार वैठक राखेका थिए। सो वैठकमा एकल उमेद्वार बनाउने विषयमा छलफल भएपनि कुरा मिल्न भने सकेन। प्रकाशमान सिंह भारतमा भएका कारण वैठकमा आएनन्। काठमाडौंमा नै भएको भएपनि उनका पछिल्ला अभिव्यक्तिहरुलाई विश्लेषण गर्दा उनी आउनेमा पनि शंका थियो।

यद्यपी सभापतिकै अर्का आकाँक्षी शेखर कोइरालाको उपस्थितिले भने सायद पौडेल समूहले केहि राहत महशुस गरेको मान्न सकिन्छ। अझ महामन्त्री डा.शशांक कोइरालाको प्रस्तुतीले समूहमा धेरै भरोसा दिएको वैठकमा सहभागी एक नेताले बताए। महामन्त्री कोइरालाले संस्थापन इतर समूहबाट एकमात्रै उम्मेदवार नभए नेतृत्व परिवर्तन सम्भव नहुने बताएर आफ्नो समूहमा दवाव बढाउने काम गरे। समूहको वैठकमा राखेका कुरालाई उनले संक्षिप्त रुपमा पत्रकारहरुसँग पनि साटे। कोइरालाले सभापतिमा दावी गर्ने ४ जनामध्ये १ जना मात्रै सभापतिको उम्मेदवार बन्नुपर्ने बताए । साझा उम्मेदवार बनाउन नसक्ने भए सभापति शेरबहादुर देउवालाई पार्टी बुझाइदिए हुने कोइरालाले पत्रकारहरुसँग बताइरहँदा उनले त्यो भन्दा धेरै अर्थपूर्ण विषय वैठकमा राखेका थिए।

कोइरालाले साझा उम्मेदवार चयनका लागि संवाद जारी रहेको उल्लेख गर्दै रामचन्द्र दाई, प्रकाशमानजी, शेखरदा र आफू बसेर सहमतिको प्रयास गर्ने बताए। महत्वपूर्ण कुरा सहमतिका लागि आफू बाधक नबन्ने महामन्त्री कोइरालाले प्रष्ट्याए। सभापतिको एक बलियो उमेद्वार मानिएका कोइरालाले पार्टी जोगाउन समूहमा एकताको विकल्प नरहेको बताएर आफ्नो तर्फबाट हदैसम्मको लचकता प्रदर्शन गरेका थिए।

संभवत कोइरालाको यो भनाइले अन्य नेताहरुलाई पनि सहि निष्कर्षमा पुग्न दवाव बढाउने अन्य नेताहरुले बताएका छन्। कांग्रेस नेता अर्जुन नरसिंह केसीले साझा उमेद्वार बनाउन सन्दर्भमा वैठक एक कदम अघी बढेको उल्लेख गर्दै समूहको तर्फबाट एक मात्र उमेद्वार बन्ने विश्वास व्यक्त गरे। उसो त उनी आफै पनि समूहको तर्फबाट सभापतिको एक मात्र उमेद्वार बनाउन सक्रिय भएर लागेका छन्।

शशांकले सहमतीको वाधक नबन्ने उद्घोष पछि पौडेलले केहि राहत महशुस गरेका छन्। प्रकाशमान सिंह र डा शेखर कोइरालाको यो प्रस्ताव माथि कसरी प्रतिक्रिया जनाउँछन त्यो भने हेर्न बाँकी छ। तर महामन्त्री कोइरालाको यो संकेतले दुबै नेताहरु थप रक्षात्मक बन्ने अवस्था भने आउन सक्ने सोहि समूहकै नेताहरु बताउँछन्।

सभापतिका आकाँक्षीहरु सबैले पदाधिकारीहरुमा एकै खालका नेताहरुलाई राख्न चाहेका छन्। व्यक्तिगत रुपमा कोहिसँग नजिक भएपनि उमेद्वार बन्ने क्रममा चाहि समूहको तर्फबाट सभापतिको एकल उमेद्वार भए मात्र खुलेर उमेद्वारी दिन सक्ने उनीहरुको पनि वाध्यता छ। नत्र कुनै नेतासँग मात्र जोडिएर पदाधिकारीमा उमेद्वारी दिने कुराले चर्चा त होला तर जीत निकाल्न गाह्रो हुने आँकलन पदाधिकारीका आकाँक्षीहरुको छ। सम्भवत यो अवस्थामा पदाधिकारीमा प्रभावशाली उमेद्वारहरु सभापतिका उमेद्वारले नपाउने अवस्था बन्न सक्छ। शुक्रवारको वैठकपछि पदाधिकारीहरुको यो मुडलाई सभापतिको आकाँक्षीहरुले अनुमान गरेका हुन सक्छन्।

महामन्त्री कोइरालाको संकेत पछि पौडेलले पनि सहमतिका लागि सधै उदार रहेको जनाउँदै आफू पूर्ण अवधिका लागि सभापति बन्ने नभइ आफ्नो नेतृत्वमा आगामि निर्वाचनमा कांग्रेसलाई बहुमत दिलाएर त्यसपछि तत्काल नेतृत्व हस्तान्तरण गर्न सकारात्मक रहेको बताए । उनले टिमभित्र सहमति जुटाउन आफू लचक रहेको भन्दै आफूबाहेकका दावेदार शशांक, प्रकाशमान र शेखरजीबीच आपसमा सहमति भए मान्ने तर सहमति भएन भने एक्लाएक्लै लड्नुभन्दा आफ्नै नेतृत्व स्वीकार गर्न सबैलाई सहज हुने भन्दै सहयोगको लागि आग्रह समेत गरे।

बैठकमा उपस्थित केन्द्रीय सदस्यहरुले सभापतिमा एकजना मात्रै नेताको उम्मेदवारी हुनुपर्ने अन्यथा महाधिवेशनमा हार हुने बताएर नेताहरुमाथि दवाव बढाएका थिए । यो दवावले संस्थापन इतर समूह सभापतिको एकल उमेद्वार बनाउन थप दवावमा पर्ने चाहि देखिएको छ। महाधिवेशन प्रतिनिधी चयन गर्ने क्षेत्रीय अधिवेशन अघी एकल उमेद्वार बन्ने सन्देश प्रवाह गर्नेगरि गृहकार्य अझ बढाउने नेता धनराज गुरुङरुले बताएका छन्।-हाम्रा कुरा डटकमबाट

प्रकाशित : २०७८ कार्तिक २७ गते ९:५०

ताजा अपडेट

Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI