प्रदेशमा उम्मेदवारको मनोनयन दर्ता धमाधम, कुन प्रदेशमा कति छन् मतदाता ?

NAWALPUR TIMES
प्रकाशित : २०७८ मंसिर १७ गते १३:५९
प्रदेशमा उम्मेदवारको मनोनयन दर्ता धमाधम, कुन प्रदेशमा कति छन् मतदाता ?

काठमाडौंं। नेपाली कांग्रेसको प्रदेश तहको संरचना गठनका लागि आज सात प्रदेशमध्ये ६ वटा प्रदेशमा उम्मेदवारको मनोनयन दर्ता हुँदैछ।कांग्रेसले प्रदेश अधिवेशन मार्फत नेतृत्व चयन गरेर पार्टीलाई पहिलो पटक देशको संविधान अनुसार संघीय संरचनामा रुपान्तरण गर्न लागेको हो।

कांग्रेसको केन्द्रीय निर्वाचन समितिका सचिव जगन्नाथ श्रेष्ठका अनुसार प्रदेश २ बाहेकका जिल्लामा अहिले उम्मेदवारको मनोनयन दर्ताको काम अघि बढिरहेको छ। प्रदेश २ मा अधिवेशन गराउन कांग्रेसले नेता रमेश रिजाललाई संयोजक तोकेको छ।

रिजालका अनुसार प्रदेश २ मा अधिवेशन बिहीबार नै उद्घाटन भए पनि प्रदेश भित्रका केही जिल्लाको केही प्रतिनिधि सभा क्षेत्रको अधिवेशन हुन बाँकी रहेकाले शनिबार मात्र मनोनयन दर्ताको तयारी भइरहेको छ।

प्रदेश २ को निर्वाचन समितिका अनुसार भोलिसम्म प्रतिनिधि सभा निर्वाचन नभए सम्पन्न भइसकेका क्षेत्रका मतदाताहरुलाई मात्र भए पनि सहभागी गराएर अधिवेशन शुरु गर्ने तयारी छ। केन्द्रीय निर्वाचन समितिका अनुसार प्रदेश १ को अधिवेशन विराटनगरमा हुँदैछ । सो प्रदेशमा एक हजार ७ सय ७० जना प्रदेश अधिवेशनका लागि नेतृत्व चयनको प्रक्रियामा मतदाता हुनेछन् ।

यसैगरी प्रदेश २ को अधिवेशन जनकपुरमा हुनेछ। प्रदेश २ मा कति मतदाता हुन्छन् भन्ने तय भइसकेको छैन। त्यहाँ आज साँझसम्म अन्तिम नामावली प्रकाशन गर्ने तयारी छ । यसैगरी बागमती प्रदेशको अधिवेशन हेटौडामा हुँदैछ । बागमतीमा २ हजार १ सय ३७ प्रतिनिधि सहभागी हुँदैछन् ।

यसैगरी गण्डकी प्रदेशमा १ हजार १ सय ५३ जना प्रतिनिधिले मतदान गर्न पाउने छन् । सो प्रदेशको अधिवेशन पोखरामा हुँदैछ । लुम्बिनी प्रदेशमा १ हजार ६ सय ४२ जना महाधिवेशन प्रतिनिधि प्रदेश संरचनाको नेतृत्व चयनको प्रक्रियामा सहभागी हुँदैछन् । लुम्बिनी प्रदेशको नेतृत्व चयनका लागि भैरहवामा अधिवेशन जारी छ ।

यस्तै कर्णाली प्रदेशमा ७ सय ४९ प्रतिनिधि मतदाता रहने केन्द्रीय निर्वाचन समितिले जानकारी दिएको छ। कर्णालीको अधिवेशन सुर्खेतमा भइरहेको छ ।

यसैगरी सुदूरपश्चिम प्रदेशमा १ हजार १६ जना प्रतिनिधिले प्रदेश अधिवेशनका लागि मतदान प्रक्रियामा सहभागी हुन पाउने छन्। सो प्रदेशको अधिवेशन धनगढीमा भइरहेको छ।

कांग्रेस विधान अनुसार प्रदेश अधिवेशनमा प्रदेश सभा निर्वाचन क्षेत्रबाट निर्वाचित प्रदेश अधिवेशन प्रतिनिधि, प्रतिनिधि सभा क्षेत्रीय अधिवेशनबाट निर्वाचित महाधिवेशन प्रतिनिधि बाहेक सम्बन्धित प्रदेशभित्रका निवर्तमान केन्द्रीय सभापति, उपसभापति, महामन्त्री, कोषाध्यक्ष, सहमहामन्त्री र केन्द्रीय कार्यसमितिका सदस्य पनि मतदाता रहन्छन् ।

यसैगरी प्रदेशभित्रका पार्टीको जिल्ला कार्यसमितिका सभापति, प्रदेशका भ्रातृ, शुभेच्छुक संघ संस्थाका प्रमुखहरु पनि प्रदेश अधिवेशनमा प्रतिनिधिका रुपमा सहभागी हुन पाउने छन् ।

 

प्रकाशित : २०७८ मंसिर १७ गते १३:५९
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI