एमालेको आज देशभर जिल्ला अधिवेशन, ओलीले बिहान ११ बजे भर्चुअल उद्घाटन गर्ने

NAWALPUR TIMES
प्रकाशित : २०७८ पुष २३ गते ७:३६
एमालेको आज देशभर जिल्ला अधिवेशन, ओलीले बिहान ११ बजे भर्चुअल उद्घाटन गर्ने

नवलपुर । नेकपा एमालेले आज देशभर जिल्ला अधिवेशन गर्दैछ । प्रतिकूल मौसमका कारण केही हिमाली जिल्ला र तयारी नपुगेका बाहेक जिल्लामा भने अधिवेशनको अर्को मिति तय हुनेछ ।

एमालेका अध्यक्ष केपी ओलीले बिहान ११ बजे जिल्ला अधिवेशनलाई भर्चुअल माध्यमबाट सम्बोधन गर्नेछन् । केन्द्रीय कार्यालयको एक्सन रूमबाट एकैसाथ भर्चुअल उद्घाटन र सम्बोधन गर्ने कार्यक्रम रहेको केन्द्रीय प्रचार विभाग उपप्रमुख विष्णु रिजालले जानकारी दिए ।

एमालेको १०औं महाधिवेशन गत मंसिरमै सकिए पनि जिल्ला अधिवेशन एकसाथ उद्घाटन हुन लागेको हो ।  जिल्ला तहमा पनि सकेसम्म सर्वसम्मत नेतृत्व चयनका लागि पहल गर्न केन्द्रले निर्देशन दिएको छ ।

जिल्ला तथा प्रदेश अधिवेशनका लागि दशौं राष्ट्रिय महाधिवेशनको लागि निर्धारण गरिएका पार्टी सदस्यलाई नै आधार बनाउन एमालेले सर्कुलर गरेको छ । जिल्ला अधिवेशन सकिए लगत्तै प्रदेश सम्पर्क कमिटी र प्रदेश संगठन कमिटीको अधिवेशनको तयारी थाल्ने एमालेले जनाएको छ ।

एमालेको प्रदेश अधिवेशन भने माघ ८ गतेका लागि तोकिएको छ ।

 

प्रकाशित : २०७८ पुष २३ गते ७:३६

ताजा अपडेट

Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI