४ महिनादेखि सञ्चालक समिति विहिन वन समुह, तस्करको निशानामा चितुवा, खुर र दाह्रा काटेर गायब

NAWALPUR TIMES
प्रकाशित : २०८० वैशाख २६ गते १५:०३
४ महिनादेखि सञ्चालक समिति विहिन वन समुह, तस्करको निशानामा चितुवा, खुर र दाह्रा काटेर गायब
खगेन्द्र पराजुली/नवलपुर ।
शरीरका अंग काटिएको अवस्थामा नवलपु्रको एक सामुदायिक वनभित्र मृत चितुवा फेला परेको छ । जिल्लामै उत्कृष्ट पिकनिक स्पर्टका रुपमा मानिएको देवचुली नगरपालिका वडा नं. ९ को घुमाउरी सामुदायिक बन उपभोक्ता समूहको वन क्षेत्रमा चोरी शिकारीको निशानामा परेर प्रकृतिमा मृत चितुवा फेला परेको हो ।
डिभिजन बन कार्यालयका अनुसार चारवटै खुट्टा र वङ्गारा काटिएको अवस्थामा बयस्क भाले चितुवा मरेको भेटिएको हो । खुर सहितका चारवटै खुट्टा र दाह्रा सहितको बंगारा नभेटिएकाले तस्कर गिरोहकै संलग्नता भएको हुनसक्ने वन कार्यालयको जिकिर छ । कार्यालयका सहायक बन अधिकृत दीपक प्रसाद पण्डितका अनुसार अखेटोपहरको गैरकानूनी र अवैध धन्दामा संलग्न तस्करको गिरोहले मारेको हुनसक्ने अनुमान गरिए पनि थप अनुसन्धान भैरहेको जानकारी दिए ।
जंगलमा घाँस दाउरा गर्न गएका महिलाहरुको समूूहले बनको धेरै भित्र अप्ठेरो खोंचमा (ढुंगे ओडार जस्तो ठाउँमा) सुतिरहेको बाघ देखिएको भनेर खवर गरेपश्चात बन कर्मचारी–प्रवाधिक सहितको टोली घटनास्थल पुग्दा मरेको अवस्थामा चितुवा फेला परेको पण्डितले जनाकारी दिएका हुन् । सड्ने स्थितिमा पुगेको र गन्हाउन थालेकाले ४–५ दिन अगाडि नै मृत परेको हुनसक्ने उनले बताए ।
वन कर्मचारी र प्राविधिक सहितको टोली र स्थानीय अगुवाहरुको रोहोवरमा सिनो पुरेर विसर्जन गरिएको हो । अरु बेलाभन्दा फरक प्रकृतिमा मरेको भेटिएकाले जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रमुख भुवनेश्वर तिवारी समक्ष समेत अनुसन्धान र संदिग्धको खोजपडतालमा सुरक्षा निकायलाई परिचालन गर्न आग्रह भएको पनि पण्डित जनाउँछन् ।
बैशाख २४ गते आईतवार फेला परेको मृत चितुवा प्राकृतिक प्रकृतिको मरण नभएको भन्दै थप अनुसन्धानका लागि सब डिभिजन वन कार्यालय देवचुली बुलिङ्गटारका प्रमुख लिलाराज खकुराललाई अनुसन्धान अधिकृतका रुपमा जिम्मेवारी दिईएको छ यद्यपि अहिलेसम्म अनुसन्धानमा ठोस उपलब्धि भएको छैन । पछिल्लो समय यो सामुदायिक बन सञ्चालक समिति विहिन छ ।
जिल्लाकै नमूना सामुदायिक बनमध्येको सूचीमा पर्ने यस घुमाउरी सामुदायिक वन उपभोक्ता समुहको कार्य समिति उपर बन सम्वन्धि मुद्धा लागेपछि २०७९ माघ महिनादेखि बन कर्मचारी र हेरालुको भरमा चलेको छ । राजनैतिक पुर्वाग्रहमा फसाउने नियतले अराजक तत्वको उक्साहटमा मुद्धा हालिएको अनुसन्धान र तारेखमा तानिएका निलम्वित कार्यसमितिका पदाधिकारी सदस्यको स्पष्टीकरण छ । उता, गैरकानूनी रुपमा बनक्षेत्रभित्र हेभी इक्युप्मेण्ट प्रयोग गरेर बाटो बनाउने बहानामा रुख नष्ट पारिएको उजुरी हाल्ने पक्षको आरोप छ ।
अधिकांश उपभोक्ता भने समितिले विना स्वार्थ बनको अप्ठ्यारो क्षेत्रमा बैधानिक छपान कटानका काठ ढुवानी गर्न असहज रहेको खोल्सामा ट्रयाक मिलाउने काम गर्दा परिवन्दमा पारिएको बताउँछन् ।
यसैवीचमा बिशेष साधारण सभामार्फत आयोजक समिति गठन गर्न बोलाईएको एक विशेष भेलामा भेला भएका उपभोक्ताले असहमति जनाएपछि वन कार्यालयबाट पुगेका अधिकारीहरु विना निर्णय फर्केका थिए । अहिले सञ्चालक समिति नहुँदा बन क्षेत्रभित्र हुने अवाञ्छित गतिविधि बढेको छ ।
यसैको परिणाम बनमा अंग–अंग काटिएको अवस्थामा विभत्स चितुवा मृत भेटिएको स्थानीय उपभोक्ताले टिप्पणी गरेका छन् । यस्तै, आर्थिक वर्षको अन्त्य लाग्दै गर्दा थुप्रै सञ्चालित योजना अवरुद्ध, सम्झौता भएर गर्नुपर्ने योजना स्थगित, विभिन्न आर्थिक हिसावकितावको फरफारमा विलम्ब लगायतका प्रशासनिक असरहरु देखा परेका छन् ।
यस्तै, निगरानीमा पहुँच नपुग्दा बनपैदावरको चोरी निकासी, लागु पदार्थ दुब्र्यसनीको अखडाका रुपमा मौलाएको स्थानीय सुनाउँछन् । उता, देवचुली नगरपालिका समस्याप्रति मौन छ । बार्षिक आम्दानीको १० प्रतिसत स्थानीय सरकारलाई बुझाउनुपर्ने भन्ने राजश्व शिर्षकको भुक्तानीका लागि परिपत्रका साथ ताकेता गर्ने तर आफ्नै नगरभित्र परेको समस्याको विषयमा नगरपालिकाले गर्नुपर्ने सहजीकरणमा मौन रहेको वन समूहका सरोकारवालाको गुनासो छ ।
समितिलाई माघ ४ गते ७ जना उपभोक्ताले बन कार्यालयमा उजुरी हालेका थिए । अहिले यो मुद्धा डिभिजन बन कार्यालय नवलपुरमा विचाराधिन प्रक्रियामा छ ।
प्रकाशित : २०८० वैशाख २६ गते १५:०३
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI