सहकारीको पैसा चक्रिय ब्याजमा , कर्मचारी देखि समितिको मिलोमतो सम्म

NAWALPUR TIMES
प्रकाशित : २०७७ जेठ २ गते १४:३८
सहकारीको पैसा चक्रिय ब्याजमा , कर्मचारी देखि समितिको मिलोमतो सम्म

रामकुमार श्रेष्ठ/नवलपरासी, २ जेठ ।
पूर्वी नवलपरासीको कावासोती १४ त्रिभुवनटारमा रहेको साना किसान कृषि सहकारी संस्था लिमिटेडको केही कर्मचारी र समितिका केही पदाधिकारी मिलेर सहकारीको रकम चक्रिय व्याजमा लगाउने गरेको तथ्य खुलेको छ । यो क्रम झण्डै ५ बर्ष अघिदेखि चलेको भए पनि अहिले आएर मात्रै यसको भण्डाफोर भएको छ । कर्मचारीको सक्रियतामा अहिले मात्रै एक करोड बढी रकम चक्रिय व्याजमा लगाएको पाइएको हो ।

स्रोतका अनुसार ऋणीले ऋणका लागि भरेको फारममा कबोल गरिएको रकम मध्ये केही रकम मात्र ऋणीलाई दिने र बाँकी रकम कावासोतीका ठूला ठूला व्यापारीहरुलाई कर्मचारीले चक्रिय ब्याजमा लगाउने गरेको पाइएको छ । २०६४ साल यता कर्मचारीहरुले ऋणीको रकम आउन बाँकी छ, खातामा एक दुई दिन पैसा छैन भन्दै ऋणीलाई कम रकम दिएर बाँकी रकम ऋणीको नाममा आफूले झिकेर चक्रिए ब्याजमा लगाउने गरेका हुन् ।

स्रोतका अनुसार पछिल्लो पटक पनि एक करोड बढी रकम त्यसरी अपचलन गरेको पाइएको छ । यो रकम अझै बढ्न सक्ने स्रोतले जनाएको छ ।

यसरी आयो बाहिर रहस्य

समितिका सदस्य हेमराज दाहालले कर्मचारीसँग सापट भन्दै ऋणीको पैसा करिब २२ लाख ९९ हजार रुपैयाँ लिएर चक्रिय ब्याजमा चलाए पछि यो तथ्य विस्तारै बाहिर आएको हो । समितिका अध्यक्ष हरिबहादुर बस्नेतले घटनाको पुष्टि गर्दै दाहालसँगको उक्त रकम असुल भईसकेको बताए । अध्यक्ष बस्नेतले अहिले छानविनको क्रममा एक करोडको हाराहारीमा रकम अपचलन भएको पाइएको र आधाआधी रकम लकडाउनको समयमै असुल गरेको समेत बताए ।

सदस्य दाहालले आफूले कर्मचारीसँग उसको बचत रकमबाट सापट मागेको तर पछि आफ्नो खातामा बचतबाट नभई सोझैं सहकारीको खाताबाट रकम आएको थाहा पाएपछि आफू अलमलमा परेको बताए । उनले आफूले चक्रिय ब्याजमा नभईर २४ प्रतिशत व्याजमा रकम लिएको दावी गरे । दाहालले रकम लिएको कर्मचारीबाट विस्तारै बाहिर गएपछि सहकारीका कर्मचारीहरुको हर्कत बाहिर आएको हो । एकले अर्कालाई दोषारोपण गर्न थालेपछि घटना बाहिर आएको हो ।

दाहालले आफूलाई सिध्याउन केही विरोधीले आफूलाई यो घटनामा फसाउन खोजेको तर आफू निर्दोष रहेको बताए । दाहालको घटना बाहिर आएपछि दाहाललाई यसरी रकम दिने कर्मचारीलाई एक पटक चेतावनी मात्र दिएर छाडिएको थियो भने दाहालसँग उक्त रकम असुल गरिएको स्रोतले बताए । दाहाललाई रकम दिने कर्मचारीले यस्तो घटनामा आफूमात्र नभई अन्य कर्मचारीहरुले पनि यस्तै गर्ने गरेको बताउन थालेपछि दाहालले आफूलाई सिध्याउन केही विरोधीले आफूलाई यो घटनामा फसाउन खोजेको तर आफू निर्दोष रहेको बताए । उनले उक्त रकम आफूले ११ दिनमा भित्रै तिरेको बताए ।  दाहाललाई रकम दिने कर्मचारीले यस्तो घटनामा आफूमात्र नभई अन्य कर्मचारीहरुले पनि यस्तै गर्ने गरेको बताउन थालेपछि घटना बाहिर आएको हो ।

छानविन समिति गठन

घटना बाहिर आएपछि समितिले अर्जुन श्रेष्ठको नेतृत्वमा छानविन समिति बनाएका छ । समितिले १० जेठ सम्ममा प्रतिवेदन बुझाउने गरी छानविन गरिरहेको समितिका संयोजक अर्जुन श्रेष्ठले बताए । श्रेष्ठका अनुसार अहिलेसम्म हेमराज दाहालको नाममा २२ लाख ९९ हजार रकम गएर असुल भएको र अन्य कर्मचारीहरुबाट ४० लाख बढी घोटला भएको पाइएको तथापि छानविन प्रक्रिया अगाडि बढीरहेको उनले बताए । समितिका सदस्य हेमराज दाहालले छानविनलाई अलि गहिराइबाट लगिएको बताए । उनले आफूले रकम लिए पछि नै कर्मचारीले गर्ने घोटालाको बारेमा थाहा भएर नै छानविनलाई अगाडि बढाएको बताए

आखिर कसरी आयो घटना बाहिर

करिब चार पाँच महिना अगाडि बनेको नयाँ समितिको एक जना सदस्य हेमराज दाहालले सहकारीका एक जना कर्मचारीसँग रकम सापट माग्दा उनले आफ्नो बचतबाट दिन्छु भनेर बचतबाट नभई सोझै सहकारीको खाताबाट उक्त रकम दिएपछि घटना बाहिर आएको हो ।

दाहालले उक्त रकम चक्रिय ब्याजमा लिएको अन्यले दावी गर्दै आएपनि दाहालले भने २४ प्रतिशत ब्याजमा लिएको स्वीकार गरेका छन् ।
दाहाललाई वचतबाट भनेर दिइएको रकम बचतबाट नभई सोझै सहकारीको मुल रकमबाट दिइएको घटना बाहिर आएपछि अन्य घटनाहरु विस्तारै बाहिर आएको हो।

अहिलेसम्म के केमा भेटियो घोटाला

स्रोतका अनुसार सहकारीले कर्जा प्रवाहदेखि ऋण असुली र ब्याज असुल तथा मिनाहाका लागि एउटा सफ्टवर प्रयोग गरेर हिसाब किताब राख्ने गरेको छ । कर्मचारीले उक्त सफ्टवयरका केही कमजोर पक्ष फाइदा उठाउँदै घाटाला शुरु गरेको पाइन्छ । २०६४ सालबाट शुरु भएको यो घोटला काण्ड २०७१ सालबाट अझै बढी फस्टाएको पाइएको स्रोतले जनाएको छ ।

स्रोतका अनुसार सहकारीलाई कुनै घाटा नदेखाइए पनि कर्मचारीले भने सफ्टवयरको कमजोर पक्षबाट फाइदा लिएका छन्

ब्याज असुली गर्दा एकदुई दिन ढिलो ब्याज तिर्न आउनेको ब्याजदर बढी लिने तर सफ्टवयरमा चढाउँदा कम चढाउने गरेको पाइएको छ । त्यसैगरी स्रोतका अनुसार ऋणी लिन आएका ऋणीलाई कर्जा स्वीकृत भएको रकम भन्दा निक्कै कम जस्तै १० लाख कर्जा स्वीकृत भएको ऋणीलाई २÷३ लाख रुपैयाँ दिने र बाँकी १०÷१५ दिन पछि लिन आउनु अहिले पैसा छैन भनेर फकाई उक्त ऋणीको नाममा कर्मचारी आफैले रकम लिएर ब्यापारीलाई चक्रिय ब्याजमा लगाउने गरेको भेटिएको छ । त्यसैगरी १० लाख कर्जा स्वीकृत भएकोले आफूलाई आवश्यक परेको रकम मात्रै लगेर बाँकी रहेको रकम पनि ऋणीको नाममा आफूले झिकेर चलाउने र पछि ऋणीलाई थाहै नदिई आफूले सवा ब्याज तिरिदिने गरेको खुलेको छ । नवलपुरमा चक्रिय ब्याज अझै पनि मौलाइरहेको छ । एक लाखको दिनको एक हजार रुपैयाँ ब्याज लिने गरी चलेको चक्रिय ब्याजका कारण नवलपुमा कतिको घरबास नै उठिबास भएको छ त्यसैको दलदलमा कर्मचारी पनि फसेको देखिन्छ ।

त्यसैगरी बचतका लागि उठाएको रकम सोही दिन वचतकर्ताको खातामा जम्मा नगरिदिएर केही दिन पछि जम्मा गरिदिने र बीचको समय चक्रिय ब्याजमा समेत लगाउने गरेको पाइएको स्रोतले बतायो ।

चार जना कर्मचारी निलम्बित घटना बाहिर आएपछि समितिले सहकारीका प्रबन्धक बद्री रिजाल सहित ४ जना कर्मचारीलाई निलम्बन गरेको छ ।

छाननिलाई सहज गराउनका लागि कर्मचारीलाई निलम्बन गरेको अध्यक्ष बस्नेतले बताए । २३ बैशाखदेखि ४ जना कर्मचारीलाई कार्यालयमा हाजिर हुन नदिएको र ३१ बैशाखबाट ४ जना कर्मचारीलाई समितिले निलम्बन गरेको हो । एक थरी हेमराज दाहाल सहितको टोलीले अनियमितता गरेको आरोप लगाएका छन् भने अर्को पक्षले कर्मचारीहरुले नै बढाई गरेको बताउँदै आएका छन् । प्रबन्धक रिजालले भने आफू नै अनुसन्धानको दायरामा परेकोले यस विषयमा केही बोल्न नमिल्ने र प्रतिवेदन आएपछि मात्रै आफूले यस विषयमा बोल्न मिल्ने बताए ।

अख्तियारले माग्यो कागज पत्र कावासोती १४ त्रिभुवनटारमा रहेको सहकारी यहाँका साना किसानहरुको एउटा सहयोगी र भरपर्दाे सारथीको रुपमा विकास भएको छ । साना साना कृषि ऋणदेखि ठूला ऋण र विउविजन, मल आदि खरिदका लागि साना किसान कृषि सहकारी यहाँको सानादेखि ठूला किसानको सारथी बनेको छ ।

एकाएक घटना बाहिर आएपछि सबैको चासो र चिन्ता बढेको छ । यसैबीच अख्तियारले सहकारीलाई पत्र पठाएर छानविनका लागि कागजपत्र मागेको छ । समितिका अध्यक्ष हरि बस्नेतले अख्तियारबाट पत्र आएको स्वीकार गरे । त्यसैगरी जिल्ला प्रशासन कार्यालय नवलपरासी बर्दघाट सुस्ता पूर्वका प्रमुख जिल्ला अधिकारी पिताम्बर घिमिरेले छानविन समिति बनेको र समितिले छानविन सकेर प्रतिवेदन आएपछि आफूले उक्त प्रतिवेदन अख्तियारमा पठाइदिने बताए ।

प्रकाशित : २०७७ जेठ २ गते १४:३८
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI