नुवाकोट त्रिशूली जिल्ला अस्पतालमा कार्यरत सातजना कर्मचारीसहित आठ जनामा आरडीटी परीक्षण गर्दा कोरोना पोजेटिभ भेटिएको छ। १६८ जनामा र्यापिड डाइग्नोस्टिक (आरडीटी) टेस्ट गर्दा आठजनामा कोरोना पोजेटिभ देखिएको हो ।
आरडीटी टेस्ट गर्दा आठजनामा शङ्कास्पद नतिजा देखिएको जिल्ला अस्पताल त्रिशूलीले जानकारी दिएको छ । आरडीटी टेस्ट पोजेटिभ देखिएकामध्ये एकजना त्रिशूली अस्पतालको आइसोलेसन वार्डमा रहेका बिरामी र बाँकी अस्पतालका कर्मचारी रहेको त्रिशूली अस्पताल नुवाकोटका प्रमुख तथा मेडिकल सुपरिटेन्डेन डा. रेमकुमार राईले जानकारी दिनुभयो ।
उहाँका अनुसार अस्पतालमा कार्यरत कर्मचारीमध्ये एक सुरक्षाकर्मी, दुई स्वास्थ्यकर्मी र अन्य एम्बुलेन्स चालकहरू छन् । उनीहरूको स्वाब सङ्कलन गरी काठमाडौँ पठाउने तयारी भइरहेको जिल्ला अस्पताल त्रिशूलीले जानकारी दिएको छ।
आरडीटीमा पोजेटिभ देखिए तापनि पीसीआरबाट प्रयोगशालामा नेगेटिभ देखिनसक्ने चिकित्सहरूले बताएका छन । नमुना सङ्कलन गरिएकाहरूको अवस्था सामान्य रहेको अस्पतालले जनाएको छ ।
नमुना सङ्कलन गरिएका १५ जनाको स्वाब सङ्कलनका लागि राष्ट्रिय प्रयोगशाला टेकु लगिएको छ । आरटीडी परीक्षणमा पोजेटिभ हुँदैमा आत्तिनुपर्ने अवस्था नभए पनि उच्च सतर्कता भने अपनाउनुपर्ने अस्पतालका फोकल पर्सन डा. अमितकुमार श्रेष्ठले बताउनुभयो।
आरडीटीबाट कोरोना पोजेटिभ देखिएकाहरूको पीसीआर परीक्षणका लागि नमुना पठाइने स्वास्थ्य कार्यालय नुवाकोटका कोभिड फोकल पर्सन जर्नादन शिलवालले भन्नुभयो, ‘थप जाँचका लागि स्वाब सङ्कलन गरेर पीसीआर गरेपछि कोरोना पोजेटिभ हो वा होइन आधिकारिक रूपमा पुष्टि हुन्छ ।’
प्रकाशित : २०७७ जेठ ८ गते ६:१९
No ads found for this position
Facebook Comment