गुल्मीमा थप ११ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या ३१ पुग्यो

NAWALPUR TIMES
प्रकाशित : २०७७ असार २ गते ७:४३
गुल्मीमा थप ११ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या ३१ पुग्यो
corona

गुल्मीमा थप ११ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । प्रादेशिक प्रयोगशाला रुपन्देहीमा गरिएको परीक्षणमा मुसिकोट नगरपालिकाका ८ जना र रेसुङ्गा नगरपालिकाका ३ जनामा कोरोना पुष्टि भएको हो ।

मुसिकोट नगरपालिका ३०, २९, २८, २१ र २० वर्षका पुरुष तथा २६ वर्षकी महिला र ५ वर्षकी बालिकामा कोरोना पुष्टि भएको प्रमुख जिल्ला अधिकारी भरतकुमार शर्माले बताए ।

यसैगरी मुसिकोटबाट रिफर गरेर भैरहवामा उपचारत अर्का एक जनामा पनि कोरोना पुष्टि भएको मुसिकोट नगरपालिकाका स्वास्थ्य संयोजक ढालबहादुर जिसीले बताए । योसँगै मुसिकोट नगरपालिकामा कोरोना संक्रमण पुष्टि हुनेहरुको संख्या ११ पुगेको छ ।

यस्तै रेसुङ्गा नगरपालिकाका वडा नम्बर ३ का ४८ वर्षका पुरुष, वडा नम्बर ६ का १९ वर्षका पुरुष र वडा नम्बर १४ का २५ वर्षका पुरुषमा पनि कोरोना संक्रमण पुष्टि भएको रेसुङ्गा नगरपालिकाका स्वास्थ्य संयोजक बोम अर्यालले बताए ।

यससँगै गुल्मी जिल्लामा कोरोना भाइरस संक्रमितको संख्या ३१ पुगेको छ। संक्रमितमध्ये २ जना उपचारपछि घर फर्किएका छन् भने २ जनाको मृत्यु भइसकेको छ ।

जिल्लामा हालसम्म ३७२९ जनाको आरडिटी बिधिबाट परीक्षण गरिएको छ। पीसीआर बिधिबाट परीक्षण गर्न ७०६ जनाको स्वाब संकलन गरिएकोमा ४०५ जनाकोमात्र रिपोर्ट आएको छ । ३०१ जनाको रिपोर्ट आउन बाँकी रहेको प्रमुख जिल्ला अधिकारी शर्माले बताए ।

गुल्मी जिल्लामा २ हजार ८ सय ९ जना क्वारेन्टिनमा बसेका छन् । भारत लगायत तेस्रो मुलुकबाट आएकाहरुलाई ५ हजार ३ सय ८ बेडको क्वारेन्टिन तयार गरिएको छ । जिल्लामा हाल ७७ बेडको आइसोलेसन बेड तयार गरिएको छ ।

प्रकाशित : २०७७ असार २ गते ७:४३
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI