चीनबाट नेपाली भुमि अतिक्रमण भएको छैन : परराष्ट्र मन्त्रालय

NAWALPUR TIMES
प्रकाशित : २०७७ असार ११ गते २२:१६
चीनबाट नेपाली भुमि अतिक्रमण भएको छैन : परराष्ट्र मन्त्रालय

सरकाले नेपाल र चीनबीच सन् १९६१ अक्टोबर ५ को सीमा सन्धिका आधारमा सीमांकन भएको तथा चीनबाट नेपाली भूमि अतिक्रमित नभएको स्पष्ट पारेको छ ।

बिहीबार विज्ञप्ति जारी गरी परराष्ट्र मन्त्रालयले कृषि तथा पशुपक्षी विकास मन्त्रालयले सीमाबारे प्रतिवेदन तयार नगरेको र यो उसको क्षेत्राधिकारसमेत नभएको पनि जिकिर गरेको छ ।

सञ्चारमाध्यममा चीनबाट नेपाली भूमि अतिक्रमित भएको समाचार आइरहेका वेला परराष्ट्र मन्त्रालयले खण्डन गरेको हो । 

कृषि मन्त्रालयले रिपोर्ट नभएको पहिले नै स्पष्ट पारिसकेको र सार्वजनिक भएको भनिएको कथित रिपोर्ट खारेज गरिसकेको पनि परराष्ट्रले जनाएको छ ।

नेपाल र चीनबीच विगतको सीमा सन्धि र त्यसपछिका प्रोटोकलहरूका आधारमा सीमांकन सम्पन्न भएको पनि परराष्ट्रको भनाइ छ ।

सीमा स्तम्भ नम्बर ३७ र ३८ नहराएको र यसबारे दुवै देशबीच विवाद नभएको पनि परराष्ट्र मन्त्रालयले जनाएको छ । 

परराष्ट्रले विज्ञप्तिमा भनेको छ– कुनै पनि समस्या आएमा नेपाल सरकारले दुई देशका सम्बन्धित अधिकारीहरूबीचको आपसी परामर्शमार्फत समाधान गर्नेछ ।

परराष्ट्र मन्त्रायले दुई छिमेकीहरूबीचको सम्बन्धलाई प्रतिकूल प्रभाव पार्ने समाचार नदिन पनि सञ्चारमाध्यमलाई अपिल गरेको छ ।

प्रकाशित : २०७७ असार ११ गते २२:१६
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI