बलात्कारलाई सामान्य नलिइयोस्, लोगो फुकालेर आउन नपरोस्’: सांसद गौतम

NAWALPUR TIMES
प्रकाशित : २०७७ असार १६ गते १९:४६

पोखरा । सुदूरपश्चिममा क्वारेन्टिनमा बलात्कृत महिलाको विषय गण्डकी प्रदेशसभामा उठाउने सांसदहरुलाई नेकपाका सांसद राजीव पहारीले ‘हाम्रो प्रदेशमा भएको होइन, बाहिरका कुरा ल्याएर पृथ्वी नै आफूले थामेको जस्तो नगर्न’ भन्ने जवाफ फर्काएपछि सोमबारको प्रदेशसभामा उनको अभिव्यक्तिलाई लिएर विरोध भएको छ । 

साविकको नेकपा एमालेको भातृसंगठन युवा संघका पूर्वाध्यक्षसमेत रहेका सांसद पहारीले बलात्कृत महिलाको विषय गण्डकी संसदमा उठ्नुलाई ‘दिल्लीमा पानी पर्दा, पोखरामा छाता ओड्न खोजिएको’ भन्दै व्यंग्य समेत गरेका थिए ।

रोष्टमबाटै बलात्कारजस्तो जघन्य अपराधको विषयलाई हल्का र अन्यत्र भएको हुँदा बोल्नुनपर्ने अभिव्यक्ति दिएपछि सोमबारको प्रदेशसभामा कांग्रेस सांसदले ‘आत्मरक्षाको तालिम किशोरीलाई मात्रै नभई गण्डकी प्रदेशका माननीयहरुलाई पनि आवश्यक रहेको’ बताएका छन् ।

सांसद हुनुमाभन्दा महिला हुनुमा अभिमान रहेको बताउँदै लोगो फुकालेर तत्क्षण कडा कदम चाल्न बाध्य नपार्न पनि चेतावनी दिएका छन् । प्रदेशसभामा बोल्दै प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसकी प्रमुख सचेतक ओमकला गौतम चालिसेले भनिन्, “बलात्कार जहाँ भए पनि, जसमाथि भए पनि हाम्रो प्रदेशको विषयवस्तु बन्न सक्छ, बन्नुपर्दछ । 

आफ्नै छोरी, बुहारीमाथि घटना भएमात्र व्यतित हुने तर अन्य दिदीबहिनीको अस्मिता लुटिएको पीडामा मनोरञ्जनात्मक भावभंगीमा व्यक्त गरेर कुत्सित शब्दवाण चलाउने कार्यको जति निन्दा गरे पनि कम हुन्छ । हाम्रा लागि सांसद हुनुको गौरवभन्दा नारी भएकोमा अभिमान छ । लोगो फुकालेर तत्क्षण कडा कदम चाल्न हामीलाई बाध्य नपारियोस् ।”

नारी अस्मिता र सम्मानको रोस्टमबाटै खिल्ली उडाउने माननीयबाट नारी प्रतिष्ठाको रक्षा गर्न, किशोरीलाई दिइने आत्मरक्षा तालिम प्रदेशसभामा माननीयहरुलाई पनि दिन आवश्यक रहेको उनले बताइन ।

“किशोरीलाई जस्तै आत्मरक्षा तालिम प्रदेश सभाका हामी माननीयलाई पनि चाहिएको छ । सामाजिक विकास मन्त्रालयले लैंगिक हिंसाविरुद्धको १६ दिने अभियान सञ्चालनका लागि २० लाख र किशोरीहरुका लागि आत्मरक्षा सम्बन्धी तालिमका लागि १५ लाख विनियोजन गरेको छ । सभामा अभिव्यक्त केही विचार सुन्दा लैंगिक हिंसाविरुद्ध १६ दिने अभियान प्रदेश सभाबाटै सुरु गर्नुपर्ने देखिन्छ,” उनले भनिन ।

सांसद पदमा रहेको व्यक्तिले दिएको अभिव्यक्तिले गण्डकी प्रदेश नै शर्मनाक बनेको उनले बताइन ।

“क्वारेन्टिनमा बस्दा एक नेपाली महिला बलात्कृत भइन् । पीडाले मर्माहित भएर हामी माननीयले त्यो निन्दनीय कार्यको भत्र्सना गर्‍यौं । यस्तो प्रकृतिको घटना रोक्ने उपायको खोजी गरौं र दोषीलाई कानुनको कठ्घरामा उभयाइनु पर्दछ भन्यौं । को सत्तापक्ष, को प्रतिपक्ष, को पुरुष, को महिला, सबैले एक स्वरमा आवाज उठायौं । यही सभामा एक माननीयले गण्डकी प्रदेशमा त्यो बलात्कारको घटना नघटेको हुँदा महिला अस्मिताको रक्षा गर्न उठेको आवाजलाई उपहास गर्ने खालको अभिव्यक्ति दिनुभएको देख्दा प्रदेश सभा मात्र हैन समग्र प्रदेश नै शर्मनाक भएको छ ।”

गत असार ६ गते राजीव पहारीले बलात्कृत महिलाको विषयसँगै क्वारेन्टाइन, पीसीआर र परीक्षण दक्षिण एसियामा सबैभन्दा बढी नेपालमा भएको दाबी गरेका थिए । विदेशसँग कोरोनाको तुलना गरेका उनले नेपालको सुदूरपश्चिम प्रदेशको घटना भने यहाँ बोल्न नहुने बताएका थिए ।

सांसद चालिसेले जवाफमा प्रश्‍न गरिन्, “युरोपको मार्क्सको कुरा गर्न हुने, चीनको माओको कुरा पनि गर्ने, भारतका गान्धी र नेहरुको कुरा पनि गर्न मिल्ने, चन्द्रमा मंगल उपग्रहको कुरा गर्दा पनि आपत्ती नहुने, अन्तरीक्ष मानव एलियनको पीडाबारे पनि बोल्न सकिने । वातावरण, प्रकृति वनजंगल जनावारको बारेमा बोल्दा पनि सान्दर्भिक हुने । तर, अस्मिता गुमाएकी नेपाली चेलीको बारेमा बोल्न नपाइने ? कस्तो मनोविज्ञान हो ?”

पहारीको उक्त अभिव्यक्ति अहिले पनि संसदको रेकर्डमा छ । मानव सभ्यता नै लज्जित हुने उक्त अभिव्यक्ति रेकर्डमा रहँदासम्म प्रदेशसभाले उक्त कार्यलाई मौन समर्थन गरेको जस्तो देखिने हुँदा त्यसलाई हटाउन पनि उनले माग राखिन् ।

“मानव सभ्यता नै लज्जित हुने त्यस्तो अभिव्यक्ति संसदको रेकर्डमै रहनु महिलालाई दोस्रो दर्जाको नागरिक ठान्ने निन्दनीय कार्यमा सभाको मौन समर्थनको रुपमा व्याख्या हुनेप्रति सजग हुन माननीय सभामुखको ध्यानाकर्षण गराउन चाहान्छु ।” तर, १० दिनपछि माननीयको अभिव्यक्तिबारे आवाज उठाउँदा ढिलाई भएकोमा उनले क्षमा पनि मागिन् । 

“प्रदेश सभामा त्यस्तो संवेदनाशून्य अमानवीय अभिव्यक्ति रोष्टमबाटै प्रस्तुत भइरहँदा नारीमाथि कुत्सित शब्द र भावले आक्रमण गरिरहँदा हामी मौन बस्यौं । नियमापत्ति गरी सदनलाई पापमय बनाउनबाट रोक्न नसक्नुको अपराधबोध म स्वयंलाई पनि भएको छ । त्यो कुकृत्यको मुकदर्शक भई, प्रतिक्रिया शून्य भई आफ्नो दायित्व पूरा नगरेकोमा सभामुखमार्फत बलात्कृत चेली, नेपाली महिला र सम्पूर्ण सभ्य मानव समाजसँग क्षमायाचना गर्दछु । कौरब सभामा दुशासनले द्रौपदीको चीरहरण गर्दा मौनता साँधेका भीष्म र द्रोणको भन्दा बढी हृदय हामी माननीयको पोल्नु स्वभाविक नै होला,” उनको भनाई छ ।

यसबाहेक सरकारको तर्फबाट आउनुपर्ने जवाफ माननीयबाट आउँदा आश्चर्य लागेको उनले बताइन् । सरकारको जवाफ दिने सांसदलाई नियमावली संशोधन गरेर उत्तरमन्त्री बनाउनुपर्ने भन्दै उनले व्यंग्यात्मक जवाफ दिएकी छन ।

“हाम्रो प्रदेशसभामा माननीयले यो काम गरिरहेको देख्दा आश्चर्य लागेको छ । मन्त्री र मुख्यमन्त्री बोल्न जान्दैनन्, प्रश्नको सटिक उत्तर उहाँहरुलाई आउँदैन, सम्बन्धित मन्त्री, मुख्यमन्त्री ती पदका लागि सर्वथा असक्षम र अयोग्य छन् भन्ने मानसिकताबाट अभिप्रेरित भइ गरिएको हो भने पनि यो गलत छ । यस्तो किसिमको गतिविधि नियमित भइरहँदा बरु एउटा बिना विभागीय उत्तरमन्त्री नियुक्त गरेर नियमावलीमा समेत संशोधन गरी यो क्रियाकलापलाई संसदीय बनाउन सभामुखमार्फत सरोकारवालाहरुसँग आग्रह गर्न चाहान्छु ।”

प्रकाशित : २०७७ असार १६ गते १९:४६
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI