आठ प्रहरीको हत्या गर्ने विकास दुबे को हुन ?

NAWALPUR TIMES
प्रकाशित : २०७७ असार २० गते १०:१०

एजेन्सी । उत्तर प्रदेशको कानपुर क्षेत्रलाई आधार बनाएका कुख्यात अपराधी विकास दुबेलाई पक्राउ गर्न बिहीबार राति बिठुर थाना क्षेत्र गएको प्रहरीमाथि आक्रमण भयो । सडकमा जेसीबी राखेर बाटो छेकी घरका छतबाट प्रहरीमाथि गोली हानिएको थियो ।

आक्रमणमा आठ प्रहरी मारिए । ६ जना घाइते भए । विकास दुबेका दुई सहयोगी पनि मारिएको प्रहरीको दाबी छ । तर, प्रहरीले दुबेलाई भने पक्राउ गर्न सकेन ।

कानपुरको चौबेपुर थानामा दुबेविरुद्ध ६० भन्दा बढी उजुरी दर्ता छन् । यीमध्ये धेरै हत्या र हत्या प्रयासका उजुरी छन् । पछिल्लो तीन दशकदेखि अपराधका विकास दुबेको नाम जोडिएको छ । कयौँ पटक उनको गिरफ्तारी पनि भयो । तर बिना सजाय रिहा भए ।

दुबे चौबेपुर थाना क्षेत्रको बिकारु गाउँका बासिन्दा हुन् । उनले आफ्नो समूह बनाएर कानपुर नगरमा लुट, डकैती र हत्या जस्ता अपराध बढाए । सन् २००० मा शिवलीको तत्कालीन नगरपञ्चायतका अध्यक्ष लल्लन वाजपेयीसँग विवाद भएपछि उनी अपराधको संसारमा छिरेका थिए ।

१२ फुट अग्लो पर्खालले घेरिएको दुबेको घर ।

उनले त्यही साल ताराचन्द इन्टर कलेजका सहायक प्रबन्धक सिद्धेश्वर पाण्डेको हत्या गरे । यसमा अदालतले जन्मकैदको फैसला गरे पनि उनी जमानतमा बाहिर आए ।

उनले प्रहरी थानाभित्रै गएर सन् २००१ म राज्यमन्त्री सरहको पदमा रहेका श्रम सम्झौता बोर्डका अध्यक्ष सन्तोष शुक्लाको हत्या गरे । दुबेले गरेको यो अहिलेसम्मको ‘हाइ प्रोफइल’ हत्या हो । शुक्ला बीजेपी नेता थिए ।यस मुद्दामा दुबे पक्राउ परेका थिए । तर, यति ठूलो घटनामा पनि प्रहरीले अदालतमा दुबेविरुद्ध कोही साक्षी दिएन । त्यहीकारण अदालतदे उनलाई सफाइ दियो ।

उक्त घटनापछि दुबे राजनीतिमा लागे । सन् २००२ मा उत्तर प्रदेशमा बहुजन समाज पार्टीको सरकार थियो । मायावती मुख्यमन्त्री थिइन् । त्यति वेला शिवराजपुर, रिनयाँ र चौबेपुरमा दुबेको जगजगी थियो ।

उनले २००४ मा केबल कारोबारी दिनेश दुबेको हत्या गरे । उनले जेलबाटै शिवराजपुरको नगर पञ्चायतको चुनाव जिते । २०१८ मा उनले आफ्नै काकाका छोरा अनुरागमाथि सांघातिक हमला गरेका थिए ।

बिकरु गाउँमा उनका परिवार १५ वषैदेखि निर्विरोध प्रधान चुनिइरहेका छन् । जिल्ला पञ्चायतमा पनि उनकै परिवारले १५ वर्षदेखि चुनाव जितिरहेका छन् । उनलाई पक्राउ गरेर बुझाउनलाई प्रहरीले २५ हजार पुरस्कार दिने घोषणा गरेको छ ।

-भारतीय संचार माध्यमहरुको सहयोगमा

प्रकाशित : २०७७ असार २० गते १०:१०
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI