मास्क नलगाई घरबाहिर निस्कनेलाई पक्राउ गर्न गृहको निर्देशन

NAWALPUR TIMES
प्रकाशित : २०७७ असार २२ गते १७:२२

काठमाडाैं- गृह मन्त्रालयले मास्क नलगाई घरबाहिर निस्कनेलाई पक्राउ गर्न निर्देशन दिएको छ। गृह मन्त्रालयका प्रवक्ता (सह-सचिव) केदारनाथ शर्माले देशभरका प्रमुख जिल्ला अधिकारी र प्रहरी प्रधान कार्यालयलाई यस्तो निर्देशन दिइएको जानकारी दिए।

‘यसअघि नै निर्देशन दिइएको हो। पालना नभएको पाइएकाले फेरि निर्देशन दिएका छौं,’ उनले भने, ‘मास्क प्रयोग गर्न, २ मिटरको दूरी कायम गर्नुपर्ने र स्यानिटाइजरको प्रयोग अनिवार्य गर्न गराउन निर्देशन जारी भएको छ।’ निर्देशनको अवज्ञा गरेको पाइए पक्राउ गरी संक्रामक रोग ऐन २०२० अनुसार कारबाही गर्ने प्रवक्ता शर्माले बताए।

लकडाउनलाई स्वास्थ्य मापदण्ड पालना गर्दै खुकुलो बनाउने नीति अवलम्बन गरिए पनि सर्वसाधारणसहित सरकारी, निजी तथा गैरसरकारी संघसंस्था र कार्यालयले यसको उल्लंघन गरेकोले तत्काल कडाइका साथ पछिल्लो निर्देशन कार्यान्वयन गराउन गृहले निर्देशन दिएको हो।

‘स्वास्थ्य मापदण्ड पालना नगर्दा राजधानी नै संक्रमणको उच्च जोखिममा रहेको देखिएकोले गृहको निर्देशन र परिपत्र सरकारी, गैरसरकारी र निजी क्षेत्र तथा स्वयं सर्वसाधारणलाई कडाईका साथ लागू गर्न प्रशासन र प्रहरीलाई परिपत्र गरेका हौं,’ उनले भने, ‘निर्देशन उल्लंघन गर्नेलाई पक्राउ र जरिवाना सम्मको कारबाही हुन्छ।’

सरकारले असार १ गतेबाट लागू हुने गरी लकडाउन खुकुलो बनाएको थियो। त्यसयता सडक, बजार, कलकारखानामा मास्क र सेनिटाइजर प्रयोग र सामाजिक दूरी पालना नगर्ने प्रवृत्ति बढ्दै गएको छ।

प्रकाशित : २०७७ असार २२ गते १७:२२
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI