नेपाल आयल निगम १० अर्ब नाफामा

NAWALPUR TIMES
प्रकाशित : २०७७ असार २९ गते ९:३६

नेपाल आयल निगमले चालू आर्थिक वर्ष ०७६-७७ मा करिब १० अर्ब रुपैयाँ नाफा आर्जन गर्ने प्रक्षेपण गरेको छ । निगमले आइतबार पत्रकार सम्मेलन गरी यो वर्ष आयकर कट्टा गरी १० अर्ब ८६ करोड रुपैयाँको नाफा हुने अनुमान गरेको छ ।

त्यसबाट कोरोना कोषमा ५० करोड रुपैयाँ दिएको र मोतीहारी–अमलेखगन्ज पेट्रोलियम पाइपलाइन निर्माण र भण्डारणगृह निर्माण खर्चको ह्रासकट्टी गर्दा करिब १० अर्ब रुपैयाँ खुद नाफा हुने अनुमान गरिएको कार्यकारी निर्देशक सुरेन्द्रकुमार पौडेलले बताए ।

आयल निगमले चालू आवमा इन्धन आयात गरेबापत इन्डियन आयल कर्पोरेसन (आइओसी)लाई १ खर्ब ४७ अर्ब रुपैयाँ भुक्तानी गरेको छ । निगमका नायब कार्यकारी निर्देशक नागेन्द्र साहले सरकारलाई करबापत थप ६५ अर्ब रुपैयाँ बुझाएको पनि बताए । ‘यो वर्ष हामीले कुल २ खर्ब ४० अर्ब रुपैयाँको पेट्रोलियम पदार्थको कारोबार गरेका छौँ,’ उनले भने, ‘त्यसबाट ३–४ प्रतिशत रकम नाफा हुन पुगेको हो ।’ 

निगमले अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको भाउ घटेका वेला नेपाली बजारमा मूल्य समायोजन नगरी चर्को मूल्य असुलेर नाफा आर्जन गर्दै आएको छ । कोरोना भाइरस नियन्त्रणका लागि जारी लकडाउनमा सबै व्यवसाय तहसनहस हुँदा आयल निगमले भने ३ अर्ब रुपैयाँभन्दा बढी नाफा आर्जन गरेको छ । 

६५ अर्ब कर
आयल निगमले चालू आवमा सरकारलाई करिब ६५ अर्ब रुपैयाँ विभिन्न शीर्षकमा कर बुझाएको छ । निगमले भन्सार शुल्क १५ अर्ब १३ करोड, सडक मर्मत शुल्क ५ अर्ब २ करोड, प्रदूषण नियन्त्रण शुल्क ३ अर्ब १ करोड, मूल्य अभिवृद्धि कर २५ अर्ब ५२ करोड र पूर्वाधार विकास कर (पहिले बुढिगण्डकी जलविद्युत् आयोजना निर्माणका लागि भनिएको) १३ अर्ब ६७ करोड रुपैयाँ बुझाएको छ ।

त्यसैगरी, यो वर्ष नाफा कमाउँदा तिर्नुपर्ने आयकरबापत ३ अर्ब ८५ करोड रुपैयाँ तिर्नुपर्ने अनुमान गरिएको छ । ‘आयकरबापतको ३ अर्ब रुपैयाँ बुझाइसकेका छौँ । थप रकम असार मसान्त सकिनासाथ बुझाउने तयारीमा छौँ,’ नायब कार्यकारी निर्देशक साहले भने ।

पेट्रोलियम पदार्थको मूल्यमा करको ठूलो भार छ । सरकारले बजेटमार्फत भन्सार कर बढाएर पेट्रोलमा २५ रुपैयाँ र डिजेलमा १२ रुपैयाँ पु¥याएको छ । त्यस्तै, १२ फागुनदेखि पूर्वाधार विकास करबापत पेट्रोल र डिजेलमा १०–१० रुपैयाँ प्रतिलिटर उठाउने गरिएको छ । यसरी अहिले पेट्रोलबाट ५३.४८ रुपैयाँ र डिजेलबाट ३६.५३ रुपैयाँ प्रतिलिटर कर उठाउने गरिएको छ ।

अन्तर्राष्ट्रिय बजारअनुसार मूल्य समायोजन भएको दाबी

आयल निगमका प्रवक्ता विनीतमणि उपाध्यायले अन्तर्राष्ट्रिय बजारअनुसार नै पेट्रोलियम पदार्थको मूल्य समायोजन भएको दाबी गरेका छन् । ‘हामीले यो वर्ष १० पटक मूल्य समायोजन गरेका छौँ, त्यसमा ५ पटक बढाउने र ५ पटक घटाउने काम भएको छ,’ उनले भने, ‘त्यसैले बाहिर हल्ला भएजस्तो इन्धनको भाउ बढाउने मात्र काम भएको छैन,’ उनले भने, ‘हामीले अन्तर्राष्ट्रिय बजारलाई पछ्याउँदै नेपाली बजारमा मूल्य समायोजन गरिरहेका छौँ ।’

उनले हाल घाटा सहेर पेट्रोलियम पदार्थ बिक्री गरेर उपभोक्तालाई लाभ दिइरहेको दाबी गरे । निगमले अहिले पेट्रोल १ सय २ र डिजेल तथा मट्टीतेल समान ८८ रुपैयाँ प्रतिलिटरमा बिक्री गर्दा आउँदो १५ दिनमा ५० लाख नोक्सान हुने प्रक्षेपण गरेको छ । 

प्रकाशित : २०७७ असार २९ गते ९:३६
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI