कोरोना-कहर : हराएकै हो डर?

NAWALPUR TIMES
प्रकाशित : २०७७ साउन ९ गते १२:१८

विश्वप्रसिद्ध वैज्ञानिक चार्ल्स डार्विनले सन् १८५९ मा ‘प्रजातिको उत्पत्ति’ (दि अरिजिन अफ स्पेसिज) पुस्तक प्रथमपटक प्रकाशित गरे पनि सन् १८८९ सम्म अर्थात् सोही पुस्तकको पाँचौँ संस्करण ननिकाल्दासम्म ‘सर्भाइभल अफ दि फिटेस्ट’ प्रकृति र पर्यावरणसँग जो भिज्न सक्छ वा ‘फिट’ हुनसक्छ उही बाँच्ने हो, अरु हराउँदै वा लोप हुँदै जाने हो भन्ने शब्द-प्रारूप (फ्रेज) यो संसारमा जन्मेकै थिएन। डार्विनले त्यो फ्रेज दिएपछि भने हामीले विगत १३१ वर्षदेखि स्कुल र कलेजका कक्षा तथा आँगनभन्दा बाहिर पनि सामान्य गफगाफ र बहसमा समेत त्यो ‘सर्भाइभल अफ दि फिटेस्ट’ फ्रेज खुब भट्याउने गरेका छौँ।

पछिल्ला वर्षहरूमा छिटो छिटो परिवर्तन हुँदै गइरहेको जलवायु (क्लाइमेट चेन्ज) को अवस्था, बढिरहेका प्राकृतिक तथा मानवीय विपदहरू आर्थिक, राजनीतिक, धार्मिक, सांस्कृतिकजस्ता विविध प्रकारका सङ्कटहरू आदिले गर्दा मानव जीवन झन् पछि झन् प्रताडित बन्नुपर्ने, अकालमा ज्यान फाल्नुपर्ने अवस्था आइरहेको त होइन हामी हरेकले यही कुराको चिन्तन गरिरहेका हुन्छौं । खासगरी दीर्घरोगले ग्रस्त भएका, रोग हुँदाहुँदै पनि मादकतामा ‘मस्त’ हुने र स्वच्छन्दतामा हराउन चाहने व्यक्ति, वृद्ध उमेरका महिला तथा पुरुष, साना केटाकेटी, गर्भवती महिला र  नवसुत्केरीहरूको जीवन हरबखत बढी जोखिममा रहने गर्छ। अझ तिनैमाथि गरिबी र अभावको रोग र भोक थपियो भने डार्विनले भनेझैं त्यस्ता व्यक्ति अहिलेको समयमा ‘फिट’ हुन सक्दैनन्, जसले गर्दा अकालमा ज्यान गुमाउन बाध्य हुनुपर्छ। यो धर्तीबाट छिटै विदा हुनुपर्छ।

कहरको लहर : कुन प्रहर?

चीनको उहानबाट गत डिसेम्बर महिनाको अन्तिम हप्ता फैलिन सुरु गरेको महामरक कोरोना भाइरस (कोभिड १९) ले करिब ७ महिनाको विश्वव्यापी आक्रामक यात्रा जारी राखेको छ। अहिले विश्वका सबैजसो देशमा कोरोना कहर पुग्यो। कहिँ महाक्षति पुर्‍याएको छ भने कहीँ सामान्य क्षति पुर्‍याएको छ। तर समग्रमा हेर्दा विश्वले नचिताएको भइरहेको छ।

केही महिनाभित्र नै हावाजस्तै विस्तारित हुँदै विश्वभर फैलिनु, करिब सवा ६ लाखको ज्यान जानु, करिब डेढ करोड मानिस कोरोनाको संक्रमणमा पर्नु चानचुने कुरा होइन। केही महिना वा हप्ताअघिसम्म पनि आफ्ना देशमा त्यसरी भकाभक मानिस मर्लान् भनेर न त अमेरिकाले, न त ब्राजिलले, न त भारतले, न त बेलायतले सोचेका थिए। तर स्थिति भयावह नै छ। सय वर्षअघिको स्पेनिस फ्लु वा अन्य त्यस्तै महामारीका बेला पनि करोडौँ मानिस मरेका थिए भनेर वैशाखसम्म त हामीले पनि कहाँ सोचेका थियौँ र नेपालमा पनि यत्रोविधि मान्छेमा कोरोना लाग्ला, यति संख्यामा कोरोनाकै कारणबाट मानिस मर्लान् भन्ने कुरा हामीले सायदै सोचेका थियौँ?  किनकि हामीले चैत ११ गते लकडाउन (बन्दाबन्दी) सुरु गर्दा त्यतिबेलाको अवस्था सबै कुरामा ‘शून्य-कै अवस्थामा थियो भनेर भन्नु फरक पर्दैन। वैशाखको अन्तिमसम्म पनि हामी विश्वको ‘कोरोना संक्रमण नक्सा-मा “हरित–स्टिकर” टाँस्न सफल भएका थियौँ। तर जेठ, असार र साउन महिना (८ गते, १२० दिने लामो लकडाउन खुलेको दोस्रो दिन साँझ) मा हाम्रो स्थिति बदलियो। साउन ९ गते बिहानसम्म उल्लिखित (नवलपुर टाइम्स अनलाइनको शीर्षभागमा अद्यावधिक गरिएको) तथ्याङ्कअनुसार नेपालमा कोरोनाका कारण मर्नेको संख्या ४३ (एक चिनियाँ नागरिकसहित) छ भने, कुल संक्रमितको संख्या १८ हजार २ सय ४१ छ। त्यस्तै कोरोना पोजिटिभ संक्रमणपश्चात् निको भई घर जानेको संख्या १२ हजार ८ सय ४० छ।

विदेश, त्यसमा खासगरी भारतमा रहेका हाम्रा नेपाली दाजुभाइ तथा दिदीबहिनीहरू फर्कने क्रमसँगै नेपालमा कोरोना संक्रमण बढेको कुरा छर्लङ्ग छ। खासगरी सुदूरपश्चिम र कर्णाली प्रदेशले त्यो पीडा बढी भोग्नुपरेको अवस्था छ। शंङ्कास्पाद व्यक्तिमाथि पीसीआर परीक्षण बढाइएकोले नै कोरोना संक्रमितहरूको संख्या बढेको कुरा पनि निश्चित भयो। पछिल्लो समय त्यसरी आउने क्रम रोकिएको छ। हाल उपचारमा रहेका करिब ५ हजार व्यक्ति पनि सबै स्वस्थ भई घर फर्कने अपेक्षा गरौँ। नेपालमा हालसम्मको नियन्त्रण प्रयासलाई मूल्याङ्कन गर्दै विश्व स्वास्थ्य संगठनका नेपाल प्रतिनिधि डा. जोस भन्डेलायरले भनेका छन्, ‘नेपालले समयमै देशभर लकडाउन गरेर राम्रो निर्णय गर्‍यो, धेरैको ज्यान जानबाट रोक्न सफल भयो, यो राम्रो उदाहरण हो। हालसम्म नेपालमा समुदायस्तरमा कोरोना खास नफैलिनु पनि एउटा सफल कार्य नै हो।

सङ्कट कहाँ टरेको छ र

देशमा चैत ११ देखि लगाइएको लकडाउनले १२० दिन पार गरेपछि साउन ६ गते मध्यरातिदेखि हामी खुला भएका छौँ।

‘छिमेकी देश भारततर्फ फर्केर एकपटक हेर्‍यौँ भने स्पष्ट हुनेछ’ भय र भयावहता घट्दो छ कि बढ्दो ?  त्यहाँ आजसम्म करिब १२ लाख संक्रमित भएका छन्, मर्नेको संख्या ३० हजार नाघेको छ। एक दिनमा नै ३७-३८ हजार जना संक्रमित हुने नयाँ ट्रेन्डले हामी दक्षिण एसियाली सबै छिमेकी देशहरूलाई निरन्तर झस्काइरहेछ। अझ हाम्रोजस्तो खुला सिमाना भएको देशलाई महापीडा छ, महाचिन्ता छ, महाआशंका छ। यता लकडाउन खुला, उता सिमाना खुला, के चाहियो?

तर यसको अर्थ यो होइन कि कोरोनाको सङ्कट हामीबाट भागिसक्यो। छिमेकी देश भारततर्फ फर्केर एकपटक हेर्‍यौँ भने स्पष्ट हुनेछ। भय र भयावहता घट्दो छ कि बढ्दो?  त्यहाँ आजसम्म करिब १२ लाख संक्रमित भएका छन्, मर्नेको संख्या करिब ३० हजारको हाराहारीमा छ। एक दिनमा नै ४५-४६ हजार जना संक्रमित हुने नयाँ ‘ट्रेन्डले हामी दक्षिण एसियाली सबै छिमेकी देशहरूलाई निरन्तर झस्काइरहेको र तर्साइरहेको छ। अझ हाम्रोजस्तो खुला सिमाना भएको देशलाई महापीडा छ, महाचिन्ता छ, महाआशंका छ। यता लकडाउन खुला, उता सिमाना खुला, के चाहियो।

नेपालमा लकडाउन किन खुल्यो त? देशको अर्थतन्त्र बर्बादीमा जान नपाओस्, कामविनाको भोकले कोही नागरिक मर्न नपरोस्, मान्छेमा बढी निराशा पैदा नहोस् भन्नेजस्ता सामाजिक, आर्थिक तथा मानवीय पाटाको ख्याल गरेर लकडाउन खोल्ने निर्णय भएको भनेर सबैले बुझ्नु जरुरी छ। यो कुनै राजनीतिक पार्टीको ‘आन्दोलन, बन्द र हडताल सकिएर स्वतन्त्रताप्राप्ति भएको होइन, फुक्काफालको स्थिति आएको पनि पक्कै होइन। खोल्नका लागि जनदवाव पनि बढ्यो, सरकार पनि बाध्यतामा पर्‍यो।

साँच्चै भन्ने हो भने अहिलेको समय कोरोनाबाट आफैं बच्ने समय हो, केही भइहाल्यो भने वा फेरि बढ्न थाल्यो भने सरकारले पनि उपचार गरेर सक्ने छैन। सरकारले त्यतिबेला जनतातर्फ फर्केर भन्न सक्छ, ‘तपाईंहरुले नै जोडबल गरेर लकडाउन खोल्ने निर्णय गरेका हौं, अब आफैं बच्नोस्, आफैं जिम्मेवार बन्नोस्।

अहिले लकडाउन खोल्नु भनेको मूलतः सबैजना आआफ्ना काममा पहिलेको तुलनामा स्वास्थ्य-सचेतता ख्याल गर्दै केही मात्रामा भए पनि लागून्, घरको जीविकोपार्जन र आर्थिक अवस्था विस्तारै माथि उठाउन सकून्, अनि नियमित ‘ट्याक्स र भ्याट तिर्दै सरकार र कर्मचारीलाई पनि जोगाऊन् भन्ने मनसाय पनि हो। असारका पछिल्ला दुई हप्ता निजी गाडीलाई जोर-बिजोर प्रणाली लागू गर्दै र अफिससमेत दुई ‘सिफ्टमा चलाउने व्यवस्था गरी आंशिक खुला गरिनासाथ सरकारलाई अर्बौं रुपैयाँ कर प्राप्त भएको थियो। त्यसले गर्दा पनि लकडाउन खोल्न सरकार बढी हौसिएको हो। नत्र यो वर्ष कर्मचारीलाई ख्याउने तलब नै जम्मा नहुने स्थिति छ। त्यसै त वर्षभर उठ्ने राजस्वमा करिब ५९ अर्ब रुपैयाँ थप्न सकियो भनेमात्र सबै राष्ट्रसेवक (सरकारी) ले तलब पाउनेछन् भनेर आ.व. २०७७/७८ को (साधारणतर्फको) बजेटले सङ्केत गरिसकेको छ। देशको शासन-प्रशासनलाई सामान्य हिसाबले चलाउन पनि अब वैदेशिक ऋण खोज्नुपर्ने स्थिति आएको छ। आर्थिक हिसाबले यो वर्ष कोराना-कहरले हामीलाई धेरै अप्ठेरोमा पार्नेछ । 

कहर नसकिएको भन्ने कुरा तपाईं-हामी सबैलाई थाहा छ। तसर्थ अबका दिनमा पनि धेरै सचेत हुनुपर्छ। देश खुलेको छ, तर कोरोना भाइरस तपाईं-हामीअगाडि नै छ। यसलाई चटक्क छाडेर पर गएर बसौं भन्ने अवस्था सायद अब छिट्टै नआउला। बेलायतको अक्सफोर्डमा खोप विकास भयो भनिन्छ, विश्वका अन्य ठाउँमा पनि कोरोनाविरुद्धका खोप धमाधम परीक्षण भइरहेका छन्। तर आधिकारिकरूपमा ती भ्याक्सिन नेपाली घरआँगनमा आउन निकै समय लाग्नेछ। यी पंक्ति कोर्दै गर्दा आजमात्रै विश्व स्वास्थ्य संगठनले भनेको छ, ‘यो वर्षको अन्तसम्म पनि त्यस्तो भ्याक्सिन आउला भनेर आशा नगर्दा हुन्छ।

अलिकति होसियारी पुगेन भने फेरि फैलिएर कोरोनाले बर्बाद पार्न बेर छैन। राजविराज, वीरगञ्ज तथा विराटनगरतिर यतिबेला तनाव बढेको छ। सोचौँ त, समुदायमा कोरोना व्यापकरूपले फैलियो भने के होला? अतः लकडाउन खुले पनि हामी धेरै नखुलौं, सामान्य जीवन चलाऔं, फुक्काफाल भएर नहिँडौँ। आफ्ना नियमित काम गर्दा पनि उच्च सतर्कता अपनाऊँ। विश्वले एकस्वरका साथ भनिरहेको छ, ‘कोरोना अझ तीब्र भएर फैलिन सक्छ। तर सु-सचेतनाले त्यो आफ्नो परिवार, समाज, पालिका, जिल्ला, परदेश र राष्ट्रमा घट्न सक्छ। अतः डा. जोस भँडेलायरले भनेझैं, नेपालीहरूले कोरोनाका आचारसंहिता राम्ररी पालन गर्न जानेका छन् भन्ने कुरालाई अझ सम्मान गर्दै थप ख्याल गरौँ, विश्वका अनुभव र पाठ सुनेर अझै जानौं, अझै व्यवहारमा ढालौं। ख्याल गर्नुपर्ने पाँच-सात कुरा विहान उठ्दादेखि राति नसुत्दासम्म ख्याल गरौं, जस्तै: साबुनपानीले नियमित हात धुने, सरसफाइमा ध्यान दिने, बाहिर हिँड्दा मास्क लगाउने, स्यानिटाइजर प्रयोग गर्ने, हात नमिलाउने, भौतिक दूरी (सकेसम्म ६ फिट) कायम गरेर मात्र अर्कोसँग बोल्ने, अनावश्यक हिँडडुल नगर्ने र विशेष काम नपरी साथीसँगी भेट्ने कामलाई पनि प्राथमकितामा नपार्ने, आदि। समग्रमा, सचेतता र सुधारिएको स्वास्थ्यजन्य आनीबानीबाटै कोरोनालाई टाढाटाढा भगाउने हो। कोरोना-कहर अझै छ, कोरोनाको डर अझै छ। सबैको स्वस्फूर्त सहभागिता, प्रतिबद्धता र सामूहिक दायित्वबोधबाटै हामी सफल हुनेछौं। सबैलाई चेतना भया!!

(लेखक पर्यटन तथा दिगो विकासका बहुआयामिक मामलामा कलम चलाउनुहुन्छ र ‘नेपान’ का निवर्तमान अध्यक्ष हुनुहुन्छ।)

इमेलः [email protected]

प्रकाशित : २०७७ साउन ९ गते १२:१८
Copyright © 21 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI