मोवा खोला पुल मर्मत गरिँदै, एकतर्फी सडक सुचारू

NAWALPUR TIMES
प्रकाशित : २०७७ साउन १० गते १३:५८
मोवा खोला पुल मर्मत गरिँदै, एकतर्फी सडक सुचारू

पृथ्वी राजमार्ग अन्तर्गत धादिङ र चितवनको सीमा मोवाखोलामा बाढीले भत्काएको पुलको टेवा पर्खाल मर्मतको काम आज पनि जारी छ।

गत सोमबार आएको बाढीले मोलाखोला पुलको धादिङतर्फ करिब १५ मिटर सडक बगाएर पुललाई समेत जोखिममा पारेपछि राजमार्ग अवरूद्ध थियो।

धादिङका सहायक प्रमुख जिल्ला अधिकारी रूद्रबहादुर मल्लले एकतर्फी सडक सञ्चालन गरिएको जानकारी दिए।

‘पुलको टेवा पर्खाल लगाउने काम आज पनि जारी छ,’ उनले भने, ‘बाढीले बगाएको सडकमा माटो र ग्याबियनमा ढुंगा भएर एकतर्फी सडक खुलाइएको छ।’

चारपाङ्ग्रे सवारी साधन चल्न सक्ने गरी नै सडक सुचारू गरिएको उनले जानकारी दिए। तर दुबै तर्फ सडक सञ्चालन गर्न समय लाग्ने उनले बताए। पुलको टेवा पर्खाल लगाउन नेपाली सेना, नेपाल प्रहरी र शशस्त्र प्रहरीका साथै स्थानीय कामदारहरू परिचालन गरिएको छ।

नुवाकोटबाट तारजाली ल्याएर टेवा पर्खाल लगाउने काम गरिएको हो। पुलदेखि केहि माथिसम्म पनि ढुंगा भरेको ग्याबियन लगाउनुपर्ने देखिएको उनले बताए।

अब पृथ्वीराजमार्गको मुग्लिनदेखि नौबिसे सडकखण्डमा समस्या छैन। यहाँ सोमबार साना ठूला गरी दुई सय भन्दा बढी पहिरो झरेका थिए। पहिरो हटाउने काम सकिएको छ।

प्रकाशित : २०७७ साउन १० गते १३:५८
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI