२१ प्रहरीमा संक्रमण पुष्टिपछि स्याङ्जामा पुनः लकडाउन

NAWALPUR TIMES
प्रकाशित : २०७७ साउन १३ गते १३:०३
२१ प्रहरीमा संक्रमण पुष्टिपछि स्याङ्जामा पुनः लकडाउन

स्याङ्जामा पुनः लकडाउनको घोषणा गरिएको छ। संक्रमितको दर बढ्दै गएकाले जिल्ला सिसिएमसीको बैठकले आजदेखि पुरानै ढंगले बन्दाबन्दी गर्ने निर्णय गरेको सिडिओ गंगाबहादुर क्षेत्रीले जानकारी दिए।

उनले भने,  ‘विगतको लकडाउनमा अत्यावश्यक सेवाबाहेक अरु गतिविधि सञ्चालन भएका थिएनन्। पहिलेजस्तै अहिले पनि आजका मितिदेखि अरु सेवा सञ्चालन हुँदैनन्।’

जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रमुखसहित २१ प्रहरीमा कोरोना पोजेटिभ देखिएपछि जिल्लालाई पूर्ण रुपमा बन्द गर्ने निर्णय भएको सिडिओ क्षेत्रीले जानकारी दिए।

प्रहरीमा नै कोरोमा देखिँदा समुदायमा संक्रमण फैलियो भनेर डर सिर्जना हुनु स्वाभाविक भए पनि त्रसित हुनुपर्ने अवस्था नरहेको उनले बताए।

स्याङ्जाका एसपीसहित १८ प्रहरीमा सोमबार र तीन प्रहरीमा साउन ६ गते कोरोना पुष्टि भएको थियो। संक्रमित एसपी आफ्नै क्वाटरमा बसेको र बाँकी २० जनालाई कालिका सामुदायिक अस्पतालमा राखिएको स्वास्थ कार्यालय स्याङ्जाका प्रमुख यामप्रसाद शर्माले जानकारी दिए।

स्याङ्जामा हालसम्म दुई सय २३ जनामा कोरोना पोजेटिभ देखिएको प्रमुख शर्माले बताए। तीमध्ये एक सय ८८ जना निको भएका छन् भने दुई जनाको मृत्यु भएको छ।

प्रकाशित : २०७७ साउन १३ गते १३:०३
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI