बाँकेमा समुदायस्तरमा २७ जनामा कोरोना पुष्टि, आइतबारदेखि निषेधाज्ञा

NAWALPUR TIMES
प्रकाशित : २०७७ साउन १५ गते १८:५१
बाँकेमा समुदायस्तरमा २७ जनामा कोरोना पुष्टि, आइतबारदेखि निषेधाज्ञा

काठमाडौँ, १५ साउन । बाँकेमा पुनः कोरोनाभाइरस संक्रमण फैलिन थालेको छ ।

समुदाय स्तरमा एकै पटक २७ जना ब्यक्तिमा कोरोना संक्रमण देखिएको छ ।

संक्रमितहरु नेपालगञ्ज त्रिभुवन चोक क्षेत्र तथा आन्तरिक राजश्व कार्यालय नेपालगन्ज र बाँके जिल्ला अदालतका कर्मचारी हुन् ।

समुदाय स्तरमा एक्कासी संक्रमण बढेपछि जिल्लामा निषेधाज्ञा गर्ने तयारी गरिएको छ । कोरोना नियन्त्रण तथा ब्यवस्थापन समितिको आकस्मिक बैठकले निषेधाज्ञा जारी गर्ने निर्णय गरेको छ ।

आगामी आइतबारबाट लागु हुने गरी तीन दिनका लागि बाँके जिल्लाभर पूर्ण रुपमा निषेधाज्ञा जारी गर्ने निर्णय गरेको हो ।

कोरोना संक्रमण नियन्त्रण भइरहेका बेला जिल्लामा भने समुदायस्तरमै संक्रमण देखिएपछि यस्तो निर्णय गरिएको हो । समुदायमा संक्रमण फैलिएपछि स्थानीय चिन्तित बनेका छन् ।

विभिन्न स्थानका संक्रमितहरुसँग सम्पर्कमा आएका मानिसहरुको परीक्षण गर्दा कर्मचारीसहित २७ जनामा संक्रमण पुष्टि भएको जिल्लाले जनाएको छ । थप संक्रमणको जोखिम हुन नदिन ३ दिनका लागि आइतबार देखि जिल्लामा निषेधाज्ञा जारी गरिएको हो ।

प्रकाशित : २०७७ साउन १५ गते १८:५१
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI