बालुवाडाँडाको भ्यु टावर बन्यो विकृतिको अखडा

NAWALPUR TIMES
प्रकाशित : २०८१ वैशाख १९ गते ८:३९
बालुवाडाँडाको भ्यु टावर बन्यो विकृतिको अखडा

बोमलाल गिरी/नवलपुर । नवलपुरको सदरमुकाम कावासोती–१, बालुवाडाँडामा बनेको दर्शनटुप्पो (भ्यु टावर) रक्सी (दारु) खाने अखडा बनेको छ । छ वर्षअघि निर्माण सुरु भएर ६८ लाख रुपियाँमा तीन वर्षअघि बनेको भ्यु टावर सञ्चालनमा नआउँदा दारु खाने अखडा बनेको हो ।

टावर निर्माणको काम सकिए पनि सञ्चालन गर्ने निकायको अभावमा भवन लथालिङ्ग छ । “वडालाई सञ्चालन गर्न दिनेबारे मोटामोटी छलफल भइरहेको छ । रेखदेख नहुँदा भ्यु टावरको गेटमा लगाएको तालासमेत फोडेर माथिल्लो तला दारु खाने अखडा भएको छ,” कावासोती नगरपालिकाका प्रमुख विष्णुप्रसाद भुसालले भने ।

भ्यु टावर सञ्चालनको जिम्मेवारी नजिकैको जलदेवी प्राथमिक विद्यालयलाई दिनेबारे पनि छलफल चलेको थियो तर विद्यालयले राखेका सर्त नगरपालिकालाई स्विकार्य नभएपछि यो कुरा अगाडि बढ्न सकेन । उक्त विद्यालयका प्रधानाध्यापक सुमित्रा भुसालले टिकटबाट उठेको आधा रकम विद्यालयलाई र आधा नगरपालिकालाई दिने सर्त राखेपछि सुरुमा हुन्छ भनेर पनि पछि कतैबाट वास्ता नभएको बताईन् ।

उनले भ्यु टावर सञ्चालन गर्ने निकाय नहुँदा विकृति बढ्दै गएको र बाटोमा हिँड्न पनि डरलाग्दो भएको गुनासो गरिन् । “राति जोडी भएर मान्छे आउँछन् । जाँड रक्सी खाएर मात्तिएर हिँड्छन् । कहिलेकाहीँ त दिउँसै पनि लट्ठिएर हिँड्दा बाटोमा निस्किएका बालबालिकालाई पनि डर हुने गरी विकृति बढेको छ,” उनले भनिन् ।

यो टावर निर्माणका लागि प्रअ भुसालले करिब पाँच कट्ठा जग्गा दिएकी हुन् । कावासोती नगरपालिकाले सो भ्यु टावर निर्माण गरेको हो । उनले स्थानीय नेताहरूको आग्रहमा सर्तसहित जग्गा दिएर टावर बनाइए पनि अहिले ती सर्त पालना नभएको गुनासो गरिन्। प्रअ भुसालले भ्यु टावरले ओगटेको बाहेकको आफ्नो जग्गामा तारबार गरिदिने र एउटा घर निर्माण गरिदिने सर्त रहे पनि त्यो पालना नभएको बताइन् ।

टावर निर्माणमा संलग्न इन्जिनियर पवन रुपाखेतीले ६० फिट अग्लो भ्यु टावर पाँचतले रहेको जनाकारी दिए । अहिले टावर बेवारिसे अवस्थामा पुगेको छ । गेटमा तालासमेत लगाइएको छैन, जसले गर्दा वरिपरि लगाइएका फलामका बार काटेर लगिएको छ । नगर प्रमुख भुसालले गाउँमा खोज्दै जाँदा स्थानीयको गोठमा फलामका डन्डी भेटिएको बताए । भित्ताका प्लास्टर उप्किन थालेको छ भने जमिन पनि धाँजा धाँजा भएर फाट्न थालेको छ ।

समुद्री सतहबाट झन्डै आठ सय मिटर उचाइमा रहेको बालुवाडाँडाबाट कावासोतीको दृश्यावलोकनका लागि टावर नै आवश्यक नरहेको ठाउँमा सो संरचना निर्माण गरिएको स्थानीय मनमाया मगरले बताइन् । “टावर नहुँदा पनि दृश्य छर्लङ्गै देखिन्थ्यो । डाँडाका धेरै पाटाबाट अधिकांश स्थान देखिने ठाउँमा टावर ठड्याइएको छ,” उनले भनिन् ।

स्थानीयका अनुसार भ्यु टावर नहुँदा पनि बालुवाडाँडाबाट चितवन राष्ट्रिय निकुञ्ज, नारायणी नदी र दक्षिणतर्फका सबै जसो फाँट र कावासोती देख्न सकिन्छ । कावासोती बजारबाट करिब १५/२० किलोमिटरको दुरीमा रहेको भ्यु टावर पुग्न करिब एक घण्टा लाग्छ भने सो स्थानसम्म गाडी जाने बाटो तयार भइसकेको छैन । -गोरखा पत्रबाट

प्रकाशित : २०८१ वैशाख १९ गते ८:३९
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI