पर्सामा सांसदसहित ६४ जनामा कोरोना संक्रमण

NAWALPUR TIMES
प्रकाशित : २०७७ साउन १७ गते १०:०८
पर्सामा सांसदसहित ६४ जनामा कोरोना संक्रमण

पर्सामा सांसदसहित थप ६४ जनामा कोरोना संक्रमण देखिएको छ। वीरगन्जस्थित नारायणी अस्पतालको प्रयोगशालामा शुक्रबार राति गरिएको पिसिआर परीक्षणमा पर्सा क्षेत्र नम्बर १ का सांसदसहित ६४ जनामा संक्रमण पुष्टि भएको हो। 

पर्सा क्षेत्र नम्बर १ का सांसद प्रदीप यादव, उनका सवारी चालक र अंगरक्षकमा पनि संक्रमण देखिएको छ।

संक्रमण पुष्टि हुनेमा  ६१ जना पुरूष र तीनजना महिला रहेका नारायणी अस्पतालका प्रमुख मेडिकल सुपरिडेन्टेन्ट डा. मदन उपाध्यायले जानकारी दिए। उनका अनुसार संक्रमित हुनेहरूमा १५ वर्षका बालकदेखि ६८ वर्षकी बृद्धासम्म रहेका छन्। 

शुक्रबार राति उनीहरूमा संक्रमण पुष्टि भएको हो। संक्रमित हुनेमा नारायणी अस्पतालका एक डाक्टर, एक प्यारामेडिक्स पनि रहेका छन्।  साउन ११ देखि १६ गतेसम्मको संकलन गरिएको स्वाब परीक्षण गर्दा उनीहरूमा संक्रमण पुष्टि भएको अस्पतालले जनाएको छ।

योसँगै पर्सामा संक्रमितहरूको संख्या ४ सय ६२ पुगेको छ। संक्रमण पुष्टि भएपछि सांसद यादव वीरगन्ज १३ राधेमाई टोलमा रहेको आफ्नै घरको होम क्वारेन्टाइनमा छन्। 

शुक्रबार दिउँसो सांसद यादव, सवारी चालक र अंगरक्षकको कोरोना परीक्षणका लागि स्वाब झिकिएको थियो।

प्रकाशित : २०७७ साउन १७ गते १०:०८
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI