नेकपाका कार्यकर्ताले शिक्षक कुटे

NAWALPUR TIMES
प्रकाशित : २०७७ साउन २१ गते १५:२३

मुगु जिल्लाको सोरु गाउँपालिकामा नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का कार्यकताले एक शिक्षकलाई निर्घात कुटपिट  गरेका छन् ।

सोरु गाउँपालिका–३ भिई गाउँ घर भई हाल कालिका आधारभूत विद्यालय लिब्रुमा कार्यरत ३४ वर्षीय शिक्षक विष्णुराज धामीलाई नेकपाका कार्यकर्ताले मरणासन्न हुने गरी कुटपिट गरेका हुन् ।

सोमबार राति १ बजे विष्णु धामीको घरमा आएका सातजना नेकपा कार्यकर्ताले अपहरण शैलीमा धामीलाई घरबाट पाँच सय मिटर टाढा रहेको काटिया खोलामा लगेर मरणासन्न हुने गरी कुटपिट गरेको  धामीका दाजु   डिलबहादुरले बताए । 

विष्णुको टाउको, पिठ्युँ र तिर्घामा गहिरो चोट लागेको छ । तत्काल उपचारका लागि गाउँमा सम्भव नभएको र सदरमुकाम गमगढी पुग्न दुई दिन लाग्ने भएपछि उपचारका लागि जिल्ला प्रशासन कार्यालय मुगुको समन्वयमा हेलिकाेप्टरको व्यवस्था मिलाई मंगलबार माउन्टेन हेलिकप्टबाट उद्धार गरी प्रदेश अस्पताल सुर्खेत पुऱ्याइएको छ । 

सोमबार दिउँसो विद्यालयमा फुटबल खेल्दा विवाद भएको र राति पूर्णिमा मेला लागेको ठाउँमा समेत विवाद भएपछि शिक्षक धामी घरमा सुत्न गएका थिए । सोही समयमा उक्त गाउँकै मनोज धामीसहित सातजनाको टोली गई उनलाई घरबाट बाहिर निकाली कुटपिट गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।  

सोरुकोट प्रहरी चौकीबाट भिई गाउँमा गएको सुरक्षाकर्मीको टोलीले कुटपिटमा संलग्नहरूको खोजीकार्य जारी राखेको प्रहरी नायब उपरीक्षक भुवनेश्वरप्रसाद साहले बताए  

केही दिनअघि मात्र नेकपाकै कार्यकर्ताहरूले रेडियो श्रीनगर एफएम मुगुका संवाददाता खेमराज बुमीलाई पनि कुटपिट गरेर घाइते बनाएका थिए ।  

प्रकाशित : २०७७ साउन २१ गते १५:२३
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI