प्राकृतिक चिकित्सालयमा बसेका संक्रमितलाई पुस्तक

NAWALPUR TIMES
प्रकाशित : २०७७ भदौ १३ गते १९:५७
प्राकृतिक चिकित्सालयमा बसेका संक्रमितलाई पुस्तक

लेखराम सापकोटा/देवचुली, १३ भदौ

परिवर्तनका लागि युवा नेपालले आफ्नो संयोजनमा सामुदायिक प्राकृतिक चिकित्सालय रजहरलाई किताब उपलब्ध गराएको छ ।

तेह्रौं पुस्तकालय दिवसको सन्दर्भ पारेर चिकित्सालयमा स्वास्थ्य लाभ गरिरहेकाहरूलाई समय व्यवस्थापन गर्न सजिलो होस् भन्ने उद्देश्यले किताब उपलब्ध गराइएको परिवर्तनका लागि युवा नेपालका अध्यक्ष राजु चापागाईंले बताए । संस्थाले किताब संकलनका लागि फेसबुकबाट आह्वान गरेको थियो । पढिसकेर घरमै थन्किएका किताब अथवा नयाँ किताब पनि संकलन गरिने योजनाअनुरुप थालिएको अभियानमा कुल ६७ किताब संकलन भए ।

संस्थाका अध्यक्ष चापागाईंसँगै उपाध्यक्षद्वय विश्वास लामिछाने र डण्डापाणि न्यौपानेसहितको टोलीले शनिबार अस्पतालमै पुगेर किताब बुझाएका हुन् । अस्पतालका डा. विनोद पौडेल, डा. पुष्कर पौडेल, डा. नन्दलाल रानामगर अनि व्यवस्थापक हरिप्रसाद सापकोटाको रोहवरमा संकलित किताब चिकित्सालयलाई बुझाइएको हो ।

यी पुस्तक अहिले कोभिड संक्रमित भै चिकित्सालयमा स्वास्थ्यलाभ गरिरहेकाहरूले अध्ययन गर्नेछन् । अध्ययन पश्चात् पनि यी किताब यहीँको पुस्तकालयमा रहनेछन् । अस्पतालमा आउने जो कोहिले पनि पढ्न मिल्ने किसिममले अब किताबहरू उपलब्ध गराइने अस्पतालका व्यवस्थापक सापकोटाले बताए ।

अस्पतालमा अहिले करिब १ सयको संख्यामा कोभिड संक्रमितहरू छन् । संक्रमितलाई नियमितरूपमा ध्यान, योग प्राणायम गराइनुका साथै नाचगान र खेलकुदमा ध्यान दिएर शरीरलाई तन्दुरुस्त राख्न डाक्टरहरूले सल्लाह दिने गरेका छन् । यसका अलावा यहाँ रहेकाहरूले अब आफ्नो रुचि अनुसारका किताब पढेर मनोरञ्जन लिन सक्नेछन् । करिव दुई साता यहाँ बस्दा मनलाई शान्त, एकाग्र र ताजा राख्न किताब सहयोगी हुने आइसोलेसनमा रहेका पत्रकार हिमालदेव पंगेनीले बताए । आइसोलेसनमा बसेकाहरूले आफूलाई लक्षित गरि किताब उपलब्ध गराएकोमा खुसी लागेको बताए ।

किताब संकलनको यो अभियानमा नवलपुर तथा चितवनका व्यक्तिहरूले सहयोग गरेका थिए । संजय भट्टराई, अविनाश पन्थी, राजु चापागाई, टीकाराम राना, शिव पराजुली, आदर्श सुशील, कृष्ण तिवारी, विश्वास लामिछाने, सम्पूर्ण किताब नारायणगढ, पुरन रिजाल, नवीन भुसाल, अजय पंगेनी, ज्योती दवाडी, रोशन पौडेल, राम स्टेशनरी एण्ड अर्डर सप्लार्यस दलदले, खेमबहादुर सारू, खिमानन्द भुसाल, एलएन दवाडी र गैंडाकोट निवासी करूणासागर सुवेदीबाट यी किताब संकलन गरिएको अध्यक्ष चापागाईंले बताए ।

प्रकाशित : २०७७ भदौ १३ गते १९:५७
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI