शेखर-शशांक सभापतिका उम्मेदवार, शेरबहादुर हराउने कि पार्टी बनाउने चुनाैती

NAWALPUR TIMES
प्रकाशित : २०७७ भदौ १४ गते १९:११
शेखर-शशांक सभापतिका उम्मेदवार, शेरबहादुर हराउने कि पार्टी बनाउने चुनाैती

७० वर्ष लामो इतिहास बोकेको नेपाली कांग्रेसमा ४० वर्ष कोइराला परिवारले  नेतृत्व सम्हालेको छ । मातृका, बीपी, गिरिजाप्रसाद र सुशील कोइरालले कांग्रेसकाे नेतृत्व सम्हालेका छन् । लामो समयको संघर्षपछि १३औँ महाधिवेशनमा कांग्रेस सभापतिबाट कोइराला परिवार बाहिरिएको थियो ।

राजनीतिमा प्रवेश गरेको लामो समय नभएर पनि बीपीपुत्र शशांक महामन्त्रीका रूपमा अत्यधिक मतसहित विजयी भएका थिए । कांग्रेसजनहरू बीपीपुत्रको  भएकै कारणले शंशाकले चुनाव जितेको तर कुनै गुण वा दोषका कारण प्रभाव नपरेको प्रतिक्रिया दिन्छन् ।  १२औँ महाधिवेशनमा प्रकाशमान सिंहले अत्यधिक मतसहित महामन्त्री जित्दाको प्रतिक्रिया पनि यस्तै थियो । यसले कांग्रेस राजनीतिमा बाबुको  नाम बिक्ने अर्थ लगाउँछ ।

१४औँ महाधिवेशनको सरगर्मी सुरु भएको छ । अझ रसिलो बनेको छ १४औँ महाधिवेशन । भलै तोकिएको समय फागुनमा निर्वाचन सर्ने निश्चित छ ।

कोइराला परिवारसहितको टिममा विगतमा बसेको र अघिल्लाे महाधिवेशनमा उनीहरूसहितको टिम बनाएका रामचन्द्र पाैडलले आफू सभापतिको उम्मेदवार बन्न तयार रहेकाे बताउन थालेका छन् ।

कोइरालाहरू सँगै रहँदा त हार ब्यहाेरेका पाैडेल अहिले राजनीतिमा चर्चामा रहेका शेखर, शशांककै साथ रहेन भने उठ्ने सम्भावना निकै न्यून छ । एउटा सामान्य अनुमान के लगाउन सकिन्छ भने उनी नउँठ्दा पाैडेलको साथ शशांकलाई हुन सक्छ ।

रामचन्द्र-शशांक मिल्न पनि सक्लान् । यथास्थितिका प्रतिक्रियाले बीपीपुत्र शशांक र केशवपुत्र शेखर दुवैले सभापतिको मैदानबाट आफू नबाहिरिने अडान राखेका छन् । अघिल्लो महाधिवेशनमा केही समय आफैँ सभापतिको उम्मेदवार रहेको प्रचार गरेकी गिरिजापुत्री सुजाता अहिले माैन छन् ।

तेह्राैँ महाधिवेशनमा पनि सभापतिमा नै चर्चा भए पनि जोड महामन्त्रीमा थियो । कोइराला परिवार सबैले स्वीकारेका थिए । तर, रामचन्द्रले महामन्त्रीमा शशांक च्यापिदिएपछि शेखर स्वीकार्न बाध्य भएका थिए  । तर, अहिले टिम आफैँ बनाउने हो । शेखरले एक टेलिभिजन अन्तर्वार्तामा भनेका छन्, `अघिल्लो महाधिवेशनमा नउठ्नु मेरो गल्ती थियो, अहिले म गल्ति दाेहोर्‍याउँदैन । सभापतिको उम्मेदवार मै हो ।´
१३औँ महाधिवेशन सकिएलगत्तै १४औँ महाधिवेशनको तयारी गरेको दाबी गर्ने शेखर अहिले जिल्ला केन्द्रित छन् । कांग्रेस जोगाउन आफ्नै नेतृत्व आवश्यक परेको उनको दाबी छ । पार्टीमा केन्द्रीय सदस्यको भूमिकामा मात्रै सीमित शेखर पाटीको आलोचना र जिल्ला दाैडाहाका कारण पनि चर्चामा छन् ।

पार्टीसभापतिसँगै महामन्त्री शशांक कोइरालाको भूमिका र कार्यशैलीमाथि पनि प्रश्न उठाएका छन् । उनले भाइ शशांकलाई सङ्केत गर्दै भनेका छन्, `न संसद्, न सडक, न पार्टी, न निर्वाचन क्षेत्र, कहीँ देखिएका छैेनन् ।´ उनले शशांकलाई पार्टी सभापति छोडिदिने कुनै संकेत नै देखाएका छैनन् । पार्टी बनाउन निर्विकल्प आफ्नै नेतृत्व आवश्यक ठान्छन् ।

शशांकतर्फ लागाैँ- शेखर केन्द्रीय सदस्य रहँदा शशांक निर्वाचित महामन्त्री हुन् । यसै पनि बढी हक आफ्नै ठान्छन् । शेखर, शशांक दुवै कृष्णप्रसाद कोइरालाका नाति हुन् । तर, शंशाक  बीपीको पुत्र भएका कारण वंशजको सहुलियत पनि उनले पाएको देखिन्छ । शेखरका पिता केशव भने राजनीतिक चर्चामा त्यति साह्राे रहेनन् । बरू माता नोनाको चर्चा अलिक बढी भयो ।

शंशाक वंशजको सहुलियत खोजेको र कांग्रेसजनले वंशजकै आधारमा पनि मन पराउने उनको बोलीले पनि देखाउँछ–

१. `अघिल्लो महाधिवेशनमा देउवा पक्षबाट धेरै जना निर्वाचित हुँदा अर्को पक्षबाट म लोकप्रिय मतसहित विजयी भएँ´

२. ` शेरबहादुरलाई हराउन सक्ने एकल पात्र मै हुँ´ ।

शशांकले काम गरेका आधारमा वा आगामी दिशा निर्माण गरेका आधारमा भने आफ्न‍ो दाबी कडिकडाउ राख्न अझै सकेका छैनन् । भलै उनी कोइराला र पाैडेल पक्षबाट साझा उम्मेदवार हुने भने बताउँछन् ।

विगतमा परिवारको साझा उम्मेदवारीको सन्देश पनि उनीहरूले नदिएका भने होइनन् । २०७४ को निर्वाचन परिणामपछि शंशाककै घर टोखामा शेखर, सुजता र शंशाक भेटवार्ता गरेका थिए । अहिले भने सुजाता माैन रहे पनि शंशाक र शेखर दुवै आफू निर्विकल्प भन्दै छन् ।

माथिल्ल‍ो तहमा शेखर कृष्ण सिटौलाले समेत चाहेका पात्रका रूपमा गनिन्छन् । शंशाकलाई केन्द्रीय नेताहरू डा. मीनेन्द्र रिजाल, दीपक गिरी, विनोद चाैधरीलगायतको साथ देखिन्छ ।

कांग्रेसमा देखिएको प्रवृत्तिले शशांक उठ्दा चुनाव जित्न केही सहज हुने देखिन्छ । हालसम्म देखाएको सक्रियताले शेखर सभापति हुँदा पार्टी सञ्चालन सहज हुने देखिन्छ ।

(यो समाचार भागवत भट्टराईले शिलापत्रमा लेखेका छ्न ।)

 

प्रकाशित : २०७७ भदौ १४ गते १९:११
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI