महिला स्वतन्त्रताका लागि मंगलादेवीको भूमिका महत्वपूर्ण : महामन्त्री कोइराला

NAWALPUR TIMES
प्रकाशित : २०७७ भदौ १५ गते १३:०१
महिला स्वतन्त्रताका लागि मंगलादेवीको भूमिका महत्वपूर्ण : महामन्त्री कोइराला

नेपाली कांग्रेसका महामन्त्री डा. शशाङ्क कोइरालाले महिला स्वतन्त्रताका लागि स्वर्गीय मङ्गलादेवी सिंहको भूमिका महत्वपूर्ण रहेको बताएका छन् ।

गिरिजाप्रसाद कोइराला फाउण्डेशनले महिला नेत्री मङ्गलादेवी सिंहको २४ औँ स्मृति दिवसका अवसरमा आइतबार साँझ आयोजना गरेको ‘कोभिड-१९ पछिको नयाँ विश्वमा नेपालमा महिला नेतृत्व’ विषयक भर्चुअल अन्तरक्रिया उनले महिलालाई अहिलेको अवस्थामा पुर्‍याउन स्व सिंहको महत्वपूर्ण भूमिका रहेको बताएका हुन् ।

महामन्त्री डा. कोइरालाले महिलालाई पुरुषसरहको अधिकार स्थापित गराउन स्व. मङ्गलादेवी सिंह, स्व. दिव्या कोइराला, शैलजा आचार्य, सुशीला कोइरालालगायत महिलाको महत्वपूर्ण योगदान रहेको उल्लेख गरे ।

कांग्रेस केन्द्रीय सदस्य एवं फाउण्डेशन अध्यक्ष सुजाता कोइरालाले १६ वर्षको उमेरबाट महिला, हक अधिकारका लागि लड्ने साहसी महिला मङ्गलादेवी सिंह भएको बताइन् । ‘संविधानमा महिलालाई ३३ प्रतिशत अधिकार दिए पनि महिलाको अधिकार किन स्थापित हुन सकेन, कांग्रेसजस्तो प्रजातान्त्रिक पार्टीमा किन महिला पछाडि परे, यसबारे सरकार र पार्टीभित्र छलफल हुनुपर्छ,’ उनले भने । महिलाले महिलालाई सहयोग गरेमात्र महिलाको आवाज बुलन्द हुने उनको भनाइ थियो ।

केन्द्रीय सदस्य कमला पन्तले १४ औँ महाधिवेशनमा उमेरका आधारमा भन्दापनि एजेण्डाका आधारमा नेतृत्व चयन गर्नुपर्ने बताइन् । ‘नेपाली महिलाहरू पार्टीभित्र एक ठाउँमा उभिन सकेमात्र चाहेको अधिकार प्राप्त गर्न सक्छौँ,’ उनले भने ।

केन्द्रीय सदस्य सरिता प्रसाईँले महिलाका कारण लोकतान्त्रिक आन्दोलन सफल भएको बताइन् । महिला अधिकार स्थापित गराउन नेपाल महिला सङ्घ लड्नुपर्ने उनको भनाइ थियो ।

प्रकाशित : २०७७ भदौ १५ गते १३:०१
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI