पाउने भए क्रिकेट खेलाडीले पारिश्रमिक

NAWALPUR TIMES
प्रकाशित : २०७७ भदौ १६ गते १९:३७
पाउने भए क्रिकेट खेलाडीले पारिश्रमिक

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका खेलाडीले आफ्नो एक वर्षदेखि पाउन बाँकी पारिश्रमिक डेढ वर्षपछि पाउने भएका छन् । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले नेपाली राष्ट्रिय क्रिकेट टोलीका खेलाडीको एक वर्षको पारिश्रमिक पठाउने भएको छ ।

आइसीसीले सन् २०१९ मा नेपाली राष्ट्रिय क्रिकेट टोलीका २२ खेलाडी तथा एक भिडियो एनालिस्टको पाउन बाँकी पारिश्रमिक नेपाल क्रिकेट सङ्घ (क्यान) को खातामा पठाउन लागेको हो । क्यानको खातामा रकम आउन दुई तीन लाग्ने र उक्त रकम रकम चाँडै नै खेलाडी र भिडियो एनालिस्टलाई उपलब्ध गराइने क्यानका अध्यक्ष चतुरबहादुर चन्दले जानकारी दिए ।

राष्ट्रिय टोलीका खेलाडीले सन् २०१९ पछि आफ्नो नियमित पाउनुपर्ने पारिश्रमिक पाउन सकेका थिएनन् । यसपटक आईसीसीले खेलाडीको पारिश्रमिकमा विगतमा भन्दा मासिक रु १० हजार बढी पारिश्रमिक पाउने छन् । क्यानले नेपाली खेलाडीलाई ए, बी र सी श्रेणीमा विभाजन गरेको छ । उनीहरुमध्ये ए श्रेणीमा रहेका खेलाडीले मासिक रु ४५ हजार, बी श्रेणीमा रहेका खेलाडीले रु ३५ हजार तथा सी श्रेणीमा रहेका खेलाडीले रु २५ हजार पारिश्रमिक पाउने छन् । क्यानले यसअघि ए श्रेणीमा रहेकालाई मासिक रु ३५ हजार, बी श्रेणीमा रहेकालाई रु २५ हजार तथा सी श्रेणीमा रहेका खेलाडीलाई रु १५ हजार पारिश्रमिक उपलब्ध गराउँदै आएको थियो ।

आईसीसीले पारिश्रमिकका लागि खेलाडीको सूची मागेपछि क्यानले भदौ पहिलो साता २३ जनाको नाम पठाएको थियो । क्यानले पठाएको खेलाडीको सूची क्यान निलम्बन फुकुवा हुनुअघिकै हो । सन् २०१९ को पारिश्रमिकका लागि खेलाडीको सूची आईसीसीलाई पठाइएको थियो । यसअघि क्यान निलम्बनमा रहेको अवस्थामा खेलाडीको पारिश्रमिक आईसीसीले नै उपलब्ध गराउँदै आएको थियो । आईसीसीले सन् २०१८ मा दुई वर्षको पारिश्रमिक राष्ट्रिय खेलकूद परिषद् (राखेप) मार्फत पठाएको थियो । त्यसयता खेलाडीले आफ्नो पारिश्रमिक पाउन सकेका थिएनन् । क्यानले खेलाडीलाई पारिश्रमिकका लागि यसअघि तीन वर्गमा विभाजन गरेको थियो । त्यही अनुसार नै २१ खेलाडीका लागि आईसीसीले पारिश्रमिक उपलब्ध गराउँदै आएको थियो ।

ए श्रेणीमा कप्तान ज्ञानेन्द्र मल्ल, पारस खड्का, शरद भेषवाकर, बसन्त रेग्मी, सन्दीप लामिछाने, दीपेन्द्रसिंह ऐरी र सोमपाल कामी, बी श्रेणीमा करण केसी, शक्ति गौचन, आरिफ शेख, अनिलकुमार साह, रोहितकुमार पौडेल, ललितनारायण राजवंशी र ललितसिंह भण्डारी तथा सी श्रेणीमा दिलीप नाथ, सुवास खकुरेल, सुनील धमला, सुशन भारी, किशोर महतो, विनोद भण्डारी र सागर पुन छन् । भिडियो एनालिस्टका रुपमा रमन शिवाकोटीको नाम आईसीसीलाई पठाइएको थियो । यसपटक राजु रिजालको नाम थप गरिएको क्यानले जनाएको छ ।

प्रकाशित : २०७७ भदौ १६ गते १९:३७
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI