समाजसेवा, वर्तमान राजनीति, संघीयता र नेपान

NAWALPUR TIMES
प्रकाशित : २०७७ असोज ६ गते १०:५३
समाजसेवा, वर्तमान राजनीति, संघीयता र नेपान

चेतनाथ कणेल “हरित”

नेपालमा समाजसेवाको लामो इतिहास छ। पहिले पहिले समाजसेवा हरेक व्यक्तिको एक खालको जीवनपद्धति नै थियो, केही हदसम्म अहिले पनि छ र केही अंश पछि पनि बाँकी रहला । तर पछिल्लो समय समाजसेवाको बुझाइ र कार्यमा केही धुमिलपना उत्पन्न भएको छ। यसको वास्तविक अर्थमा खिया लाग्न थालेको छ। राजनीति गर्ने जोगी हुनका लागि होइन भन्ने आजकाल चलेको फेसनले समाजसेवालाई पनि क्रमशः प्रदूषित पार्न थालेको छ। अझ देशमा संघीयता आएपछि र राज्यको पुनःसंरचना भएपछि जनसहभागिता र समाजसेवा भन्ने शब्द निक्कै खुम्चिँदै गएको स्थिति छ।

हाम्रा हरेक खालका धार्मिक ग्रन्थले आफ्नो जीवनको समय र स्रोतमध्ये केही अंश समाजसेवाका लागि छुट्याऊ भनेर भन्छन् । कतिपय ग्रन्थले दश प्रतिशत (दशांश) को कुरा गर्छन् भने कतिपयले आफूसँग भएको वा आफूले कमाइ गरेको सम्पत्तिमा आधा (पचास प्रतिशत) दान गर र आधा (पचास प्रतिशत) मात्र आफैं सदुपयोग गर भनेर पनि भन्छन् ।

वास्तवमा हामी मानव जुनसुकै धर्म, सम्प्रदाय, आस्था, भूगोलको भए पनि अरुलाई कल्याण गर्ने, दीनदुःखीलाई सहयोग गर्ने कुरामा जन्मदेखि नै अभिप्रेरित छौँ । मानवको असल धर्म र कर्म भन्नु नै दुःख पाएका व्यक्तिलाई सहयोग गर्नु, परोपकार गर्नु र ‘सर्वहिताय’ काम गर्नु हो भनेर हामीले सिक्ने र सिकाउने गरेका छौँ । एउटा प्रसिद्ध श्लोक नै छ, ‘परोपकारे च पुण्याय, पापाय परपीडनम्’, अर्थात्  अर्कालाई परोपकार गर्नु धर्म हो भने अरुलाई पीडा हुने कार्य गर्नु पाप हो भन्ने कुरा हामी हरेक व्यक्तिका मनमनमा गढेको छ । यही कुराको अनुप्राणबाट नै हामी समाजसेवाका कर्मप्रति समर्पित र प्रभावित हुने गर्दछौँ । त्यसैले हामी सकेसम्म अर्काको हितका लागि आफूसँग भएको समय, बुद्धि र सम्पत्ति दान, योगदान वा समर्पण गर्ने प्रयासमा हुन्छौँ ।

उहिले बाजेका पालामा….

हाम्रा जिजुबाजे, बाजे–बराजुहरूले ‘परोपकारे च पुण्याय’ को मूल सिद्धान्तलाई साँचोरूपमा आत्मसात गरेका थिए, यथार्थमा व्यवहारमा प्रयोग पनि गरेका थिए । आफ्ना घर–आँगन, टोल–बस्ती सफाइ गर्ने, बाटोघाटो बनाउने, धारा–कुवा (हिटि)  र पाटीपौवा बनाउने, चौतारा (चौपारी) बनाउने, तिनको नियमित मर्मत–सम्भार र व्यवस्थापन गर्ने कार्यलाई सामूहिक तवरबाटै परोपकारी कार्य, अथवा आजको भाषामा भन्नुपर्दा निस्वार्थ ‘समाजसेवा’ ठान्थे । सार्वजनिक स्थलमा वृक्षारोपण गर्ने, संरक्षण गर्ने, हरियो रुख नकाट्ने, बाटोका ढुङ्गा पन्छाएर छेउछाउमा पर्खाल लगाई बाटो फराकिलो पार्ने र बस्तुभाउबाट बाली जोगाउने सहभागीमूलक कार्यलाई पनि सामूहिक र सामुदायिक हिसाबबाटै सोच्थे। सार्वजनिक जग्गाको संरक्षण र व्यवस्थापनमा सधै सहभागीमूलक तरिकाले छलफल गर्ने, निष्कर्ष निकाल्ने र घरघरबाट सहभागिता जुट्ने गरी आपसमा मिलिजुली र बाँडफाँड गरेर काम सम्पन्न गर्ने नेपाली संस्कार निकै पुरानो संस्कार र मौलिक पद्धति हो ।

तर  पछिल्लो समय यी मूल्य र मान्यतामा खिया लाग्दै गएको छ। सहभागितामा हुने कामहरू घट्दै गएका छन् । हरेक घरबाट सक्दो श्रम र स्रोत जुटाउने काम कम–कम हुँदै गएको तीतो यथार्थ छ । म आफैँ सम्झन्छु, करिब ४० वर्षअघि तानसेन–रिडी–तम्घास (‘तारित’) सडक खन्न हामी झण्डै एक हप्ता जति गाउँगाउँबाट मान्छे गएर श्रमदान गरेका थियौँ । त्यो श्रमदानको लाभ अहिले मिलिरहेको छ । चिल्लो कालोपत्रे सडकमा गाडी गुडाउँदै जाँदा त्यो चार दशकअघिको पसिनाको मिठो बास्ना आउँछ। एक किसिमको परम आनन्द आउँछ। किन किन त्यो बाटोको असाध्य माया लाग्छ हामीलाई। आफूसँग त्यो बाटोको ‘मितेरी’ भएजस्तो लाग्छ हरेक गुल्मेली, पाल्पाली तथा बाग्लुङ्गे जनश्रमीलाई। सहभागितासँग गाँसिएको ‘अपनत्व’ भन्ने कुरा कति महान हुँदोरहेछ!

त्यो ‘तारित’ सहभागितात्मक बाटोमा आफ्नै पाथीभन्दा बढी पसिना बगेकोले यति प्रिय लागेको होला !  हो, पसिना र रगत जहाँ बगेको छ त्यो चीजको औधि माया लाग्छ, अपनत्वभावले त्यसैत्यसै भावुक र वशीभूत बनाउँछ। तानसेनबाट रिडी झर्दा र रिडीबाट उक्लेर बलेटक्सार–श्रृङ्गातिर पुग्दा आफूलाई ‘आफ्नै पौरख र कमाइको बाटो’ मा हिँडेको गर्वानुभूति हुनु सहभागितात्मक कार्यको एउटा अनपम उदाहरण हो । हरेक व्यक्ति, चाहे ताप्लेजुङ्गको होस् वा दार्चुलाको, वा चाहे कञ्चनपुरको होस् वा झापाको, जहाँ सहभागीमूलक कार्यका लागि पसिना र रगत दिएको छ, उसलाई आफ्नो कर्म र उपलब्धिप्रति खुसी लाग्छ, गर्व लाग्छ। गाउँगाउँमा आमा समूह, बाल समूह, युवा समूह, ज्येष्ठ नागरिक समूह वा अन्य प्रकारका क्लब र सामुदायिक संगठन होउन् वा स्थानीय तह वा अन्य तहमा खोलिएका व्यवस्थापन समिति, गैरसरकारी संस्था नै किन नहोउन्, ती सबै सामाजिक काम र सामूहिक हितका लागि खोलिएका हुन् । ती संस्थामा रहेर स्वयंसेवी भावबाट काम गर्दा आउने आनन्द छुट्टै खालको हुन्छ, जुन हजारौं वा लाखौं वा करोडौं रुपैयाँले पनि प्राप्त नहुन सक्छ भन्ने मलाई लाग्छ ।

आत्मसुख र अपनत्वभाव यो संसारमा सबैभन्दा ठूला कुरा रहेछन् भन्ने कुरा मैले पनि त्यो ‘तारित’ मोटरबाटो खन्ने काम, आफ्नै गाउँका डहर र गोरेटा (दशैंमा) बनाउने-फराक पार्ने र सफा गर्ने काम, श्रृङ्गा गाउँको निमाविलार्ई हरेक घरधुरीबाट क्षमताअनुसार कोष उठाई मावि बनाउने काममा आफू पनि एक भाग बन्न पाएकोमा जिन्दगीभरका लागि पुग्ने सुखानुभूति स्याहार्न पाइएको छ। ती त धेरै पहिलाका कुरा थिए । पछिल्लो तीन दशकयता पाख्रीबासमा करिब ८-९ वर्ष साहित्यिक समितिमा स्वयंसेवी नेतृत्व गर्ने काम, काठमाडौंमा नेपाल सहभागीमूलक कार्य समूह (नेपान) लाई दुई दशकभन्दा बढी र नेपाल स्रष्टा समाजलाई एक दशकभन्दा बढी स्वयंसेवी भावले सेवा गर्ने कामले पनि मलार्ई व्यक्तिगत रूपमा सुख प्रदान गर्छन् र जिन्दगीभरका लागि आनन्दानुभूति दिने गर्दछन्। म बेलाबेलामा सम्झन्छु–वास्तविक स्वयंसेवी र सहभागितात्मक समाजसेवा भनेका यिनै काम होइनन् र ? मजस्ता स्वयंसेवी भावनाका दर्जनौं सहयात्री अग्रज र साथीहरू हुनुहुन्छ, जो सधैँ सम्मानित हुनुहुन्छ। हाम्रो मन र अन्तर्भावनाका ‘समाजसेवा पदक’ उहाँहरूले पाइरहनुभएको छ ।

बढ्दो लोकतन्त्र, बढ्दो ‘भोकतन्त्र’ र संघीयताभित्रको ख्याउटे सहभागिता

धेरैले भन्ने गरेका छन् लोकतन्त्रपछि सहभागिता खुम्चियो। उदारीकरण र व्यापारीकरण बढ्यो। हरेक कुरालाई धन र नगदसँग जोड्न थालियो। धनी र गरिबबीच दूरी झन् धेरै फराकिलो बन्यो। लोकतन्त्रले झन् भोकतन्त्र निम्त्यायो भनेर भन्ने पनि धेरै छन्। भोकोपेटले जनश्रम र सहभागिता जुट्न सक्दैन भन्ने पनि हाम्रै अनुभव हो। तर यी कुरा बिगार्ने ठेकेदारी र डोजरे प्रथा हुन्।

गाउँगाउँमा केही धनीमानी र पहुँचवाला टाठाबाठाहरू ठेकेदार र दलाल बने, जसले सबै कुरा ‘नगदनारायण’मा हुने परिपाटी बढ्दै गयो। गाउँका नेतालार्ई पनि ‘तलब’ चाहिने भयो । सबैले तलब पाएपछि सामान्य जनताले किन जनश्रम गर्ने, किन सहभागिता जुटाउने ? कुवा सफा गर्न पनि प्रोपोजल बनाएर दाताकहाँ पुग्ने बानी बढ्दै गयो । आँगन सफा गर्न र धारा–चौतारा मर्मत गरिदिन, अनि शौचालय बनाइदिन पनि एनजीओ नै चाहिने भयो । यस्ता अनेक सवाल अहिले ज्यादै अहम् बन्दै गएका छन् ।

माथि पनि भनियो,

‘नेता बन्ने जोगी बन्न होइन’ भन्ने धारणा बढ्दै जानु, समाजसेवाका नाममा ‘मेवा’ र ‘मह’ खाने ध्याउन्न पनि बढ्दै जानु, गैससका नाममा पारिवारिक संलग्नता र आफन्तलाई जागिर बढाउने उद्यम र उपक्रम बढ्दै जानु, राजनीतिक पहुँचका आधारमा गैससले काम र ‘माम’ ‘हार्भेस्ट’ गर्ने पद्धति बढाउँदै लगिनु, आदि इत्यादि कारणहरूले गर्दा पछिल्लो समयमा जनसहभागिता, स्वयंसेवा, सामाजिक सेवा, परोपकारी कार्य, सामूहिक कार्य आदिमा खिया लागिरहेको छ ।

अझ संघीयता र पुनःसंरचनाका नाममा गाउँगाउँमा भएका (नौ) वडा र गाविसहरू ध्वस्त पारी ‘पालिका’ बनायौं । तलब नपाउने थुप्रै नेताका ठाउँमा राम्रो तलब पाउने सीमित नेता बनाउन थाल्यौं । उदाहरणका लागि, एक पालिका लिऊँ, पहिले ६ वटा गाविसमा कम्तीमा २८२ स्वयंसेवी नेता हुन्थे, हरेकले वडावडा र टोलटोलमा विकास निर्माणमा स्वयंसेवी परिचालन गर्थे। आफैं खटिन्थे। अहिले ६ वटा गाविस मिलाएर एउटा पालिका बन्यो, पहिले त्यहाँ भएका २८२ स्वयंसेवी नेताका ठाउँमा अब ३२-३५ जनाको मात्र ‘तलबी नेता टोली’ (‘सरकार’) बन्यो, जसले जनताको सहभागिता खुम्च्यायो । डोजर र स्काभेटरका ठेकेदार बढायो । निर्णय प्रक्रियालाई खुम्च्याएर स्थानीय तहका सेवालार्इृ झन् कठिन बनाउन थाल्यो । करको कहर बढाएर निराशा थप्यो ।

यसरी सहभागिताका दृष्टिले आजकाल हामी साह्रै खुम्चिएका छौं । कपी, पेस्ट गरेका स्थानीय तहका नीति, कानुन, प्रोफाइल र अ–सहभागीमूलक योजनाले अर्बौं रुपैयाँ झ्वाम पारिसके। संघीयताका अरु धेरै सकारात्मक पक्ष होलान्, तर सहभागिता खुम्चाउने काममा एउटा कोरोनाजस्तै रोग गाउँ र नगरमा पसेको छ।

यो कुरालाई नेपालको अग्रणी ‘थिङ्क–ट्याङ्क’ विकास सञ्जाल ‘नेपान’ले बेलाबेलामा उठाउने गरेको छ । नेपानजस्तै अरु संस्थाले पनि उठाउने गरेका छन् । टोल संस्था, वडा नागरिक मञ्च, स्थानीय स्वयंसेवी नागरिक मञ्च÷समुदायमा आधारित गैससहरूको भूमिका फराकिलो बनाउँदै जान सकिएन भने हाम्रो समाजमा ‘ठेकेदारी विकास’को कोरोना–रोगले गाउँहरू महाग्रस्त हुँदै जानेछन् ।

गाउँमा एउटा पोल ढल्यो भने त्यसलार्ई उठाउन पनि पालिका सरकार वा गैससमा ‘प्रस्तावना’ हाल्नुपर्ने अवस्था र मलामी गएको पनि ‘ज्याला’ वा ‘भत्ता’ चाहिने वातावरण नबन्ला भन्न सकिन्न। आज ४१औं समाजसेवा दिवस मनाइरहँदा यति कुरा भन्न मन लाग्यो । यस दिवसले माथिका सवालमा सबैलाई केही सोच्न बाध्य बनाओस् । आजको मूल सन्देश पनि यही हो । विकासबाट समृद्धि आउला, तर सामूहिक खुसी, सुख अनि शान्ति र एकताभाव आउने छैन ।

(गुल्मी श्रङ्गाका लेखक कणेल सहभागीमूलक विकासविज्ञ तथा दिगो पर्यटन प्रर्वद्धनका शोधार्थी हुनुहुन्छ।)

इमेल: [email protected]

समाजसेवा दिवस, असोज ६, २०७७

प्रकाशित : २०७७ असोज ६ गते १०:५३
Copyright © 22 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI