कलंकीमा मालवाहक ट्रक दुर्घटना, १ को मृत्यु, ७ जना घाइते

NAWALPUR TIMES
प्रकाशित : २०७७ मंसिर २६ गते २१:२८
कलंकीमा मालवाहक ट्रक दुर्घटना, १ को मृत्यु, ७ जना घाइते

काठमाडौँ — काठमाडौंको चन्द्रागिरी नगरपालिका १५ ढुंगेअड्डामा शुक्रबार साँझ सवारी दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ भने ७ जना घाइते भएका छन् ।

थानकोटबाट कलंकीतर्फ आउँदै गरेको प्रदेश -२- ०३००१ ख १४२० नम्बरको मालबहाक ट्रक ब्रेक फेल भई दुर्घटना हुँदा एक जनाको घटनास्थलमै मृत्यु भएको हो । मृत्यु हुनेमा ओखलढुंगा घर भएका अन्दाजी ३० वर्षका शंकर परियार रहेको ट्राफिक प्रहरी निरीक्षक पुरुषोत्तम कार्कीले जानकारी दिए ।

दुर्घटनामा सप्तरीका रञ्जित चौधरी, गणेश शर्मा, साजन खत्री, धादिङका रामचन्द्र सिंखडा, काठमाडौं कलंकीका सुजन मानन्धर, बानेश्‍वरका विशाल श्रेष्ठ र कास्कीका सन्ध्या थिङ घाइते भएका छन् । घाइतेमध्ये ३ जनाको अवस्था चिन्ताजनक छ । घाइतेहरुलाई अस्पताल लगिएको छ ।

ट्राफिक प्रहरी निरीक्षक कार्कीका अनुसार ट्रकको ठक्करबाट बा २ ज २०४७ नंको ट्याक्सी, बा ४ च २२१ पिकअप भ्यान, बा ४ ख ३२५२ नम्बरको बस, बा ५१ प ४९५१ नंबरको मोटरसाइकल, प्रदेश ३ -०२००६ प १३४१ को मोटरसाइकल र बा ४७ प २४१५ नंको स्कुटरमा क्षति पुगेको छ ।

घटनास्थलमा क्रेन लगेर दुर्घटना भएको ट्रक तानिएको छ ।

 

प्रकाशित : २०७७ मंसिर २६ गते २१:२८
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI