खोपसम्बन्धी सरकारी योजनाः पहिलो प्राथमिकतामा स्वास्थ्यकर्मी

NAWALPUR TIMES
प्रकाशित : २०७७ पुष २५ गते ५:३९
खोपसम्बन्धी सरकारी योजनाः पहिलो प्राथमिकतामा स्वास्थ्यकर्मी

काठमाडौं । कोरोना भाइरसविरुद्धको खोप नेपाल भित्र्याउनासाथ सबैभन्दा पहिला कोभिड संक्रमण नियन्त्रणमा खटिएका स्वास्थ्यकर्मीलाई खोप लगाउने गरी स्वास्थ्यकर्मीको विवरण तयार पार्न थालिएको छ । स्वास्थ्य सेवा विभागले कोरोना संक्रमण नियन्त्रणमा अग्रमोर्चामा खटिएका स्वास्थ्यकर्मीको विवरण पठाउन मातहतका निकायलाई पत्राचार गरेको छ ।

विभागले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको २० पुसमा भएको निर्णयअनुसार सम्बन्धित जिल्लाको स्वास्थ्य कार्यालयलाई विवरण पठाउन भनेको हो । कोरोना रोकथाम, नियन्त्रण, उपचार र व्यवस्थापनमा अग्रपंक्तिमा खटिने सरकारी, गैरसरकारी तथा निजी अस्पताललगायत सबै तहका स्वास्थ्य संस्थामा कार्यरत स्वास्थ्यकर्मीलाई आफ्नो विवरण पठाउन भनिएको छ ।

यसैबीच स्वास्थ्यमन्त्री हृदयेश त्रिपाठीले शुक्रबार स्वास्थ्य सेवा विभागमा रहेको केन्द्रीय कोल्ड चेन (खोप भण्डारण केन्द्र्र)को अनुगमन गरेका छन् । मन्त्री त्रिपाठीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा रहेको कोल्डचेनको पनि निरीक्षण गरेका थिए ।

नेपालमा २ देखि ८ डिग्री तापक्रममा खोप भण्डारण गर्न मिल्ने संरचना बनाइएको छ । पहिलो चरणमा ३ प्रतिशत भ्याक्सिन खरिद गरी कोभिडको उपचारमा खटिएका फ्रन्ट लाइन र सामाजिक दुरी कायम गरी काम गर्न नसक्ने व्यक्तिलाई भ्याक्सिन दिने योजना मन्त्रालयको छ । शुक्रबार देशभर ५५४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । योसँगै कुल संक्रमितको संख्या २ लाख ६४ हजार १५९ पुगेको छ । हाल देशभर ५ हजार २१ जना सक्रिय संक्रमित रहेका छन् ।

प्रदेश १ को इलाममा पाँच, उदयपुरमा ११, खोटाङमा दुई, झापामा १०, तेह्रथुममा एक, धनकुटामा एक, पाँचथरमा तीन, भोजपुरमा एक, मोरङमा ५३, संखुवासभामा २ र सुनसरीमा ३५ जनामा कोरोना पुष्टि भएको छ । प्रदेश २ को पर्सामा तीन, बारामा चार, सप्तरीमा तीन र सर्लाहीमा दुई जनामा कोरोना पाइएको छ ।

बाग्मती प्रदेशको काठमाडौंमा मात्र १७१ जनामा कोरोना पुष्टि भएको छ । काभ्रेमा एक, चितवनमा १५, दोलखामा एक, धादिङमा तीन, भक्तपुरमा १३, मकवानपुरमा तीन, ललितपुरमा २३ र सिन्धुपाल्चोकमा दुई जनामा कोरोना देखिएको छ । गण्डकी प्रदेशको कास्कीमा ३०, तनहुँमा १३, लमजुङमा ६, बागलुङमा नौ र स्याङ्जामा चार जनामा कोरोना पुष्टि भएको छ ।

लुम्बिनी प्रदेशको अर्घाखाँचीमा तीन, दाङमा १०, नवलपरासीमा तीन, पाल्पामा तीन, प्युठानमा चार, बर्दियामा सात, बाँकेमा नौ, रोल्पामा एक र रूपन्देहीमा २८ जनामा कोरोना देखिएको छ । कर्णाली प्रदेशको जाजरकोटमा एक, जुम्लामा एक, डोल्पामा सात र सुर्खेतमा एक जनामा कोरोना भेटिएको छ । सुदूरपश्चिम प्रदेशको कञ्चनपुरमा १९, कैलालीमा १५, बझाङमा एघार र बाजुरामा एक जनामा कोरोना भेटिएको छ ।
प्रकाशित : २०७७ पुष २५ गते ५:३९
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI