स्थानीय पाठ्यक्रम : अवधारणा, निर्माणका चूनौतीहरु र प्रभावकारी कार्यान्वयनका उपायहरु 

NAWALPUR TIMES
प्रकाशित : २०७७ माघ ८ गते ११:५६
स्थानीय पाठ्यक्रम : अवधारणा, निर्माणका चूनौतीहरु र प्रभावकारी कार्यान्वयनका उपायहरु 

तेजचन्द्र खनाल

स्थानीय पाठ्यक्रमको बारेमा जान्नु भन्दा पहिला पाठ्यक्रमको अवधारणा जानौं । 

अवधारणा (Concept):

पाठ्यक्रम शिक्षा प्राप्तिका लागि बनाइएको शैक्षिक कार्यक्रम हो । यो नै शिक्षाको लक्ष्य तथा उदेश्य प्राप्त गर्ने माध्ययम (Means for achieving goals and objectives of education) हो । यसमा बालबालिकालाई किन पढाउने, के पढाउने, कहिले पढाउने, कसरी पढाउने र कुन खालका कार्यक्रम र सामग्रीहरु प्रयोग गरी तिनको मूल्याङ्कन कसरी गर्ने भन्ने सम्बन्धमा बृहत रुपमा उल्लेख गरिएको हुन्छ । पाठ्यक्रम शिक्षाको व्यवहारिक पक्ष हो र यसले सिद्धान्त र व्यवहार अनि इच्छा (आशय) एवम् वास्तविकता बीच हुने अन्तरलाई कम गराउँछ । 

पाठ्यक्रमको शाब्दिक अर्थ (Etymological Meaning of Curriculum):

Curriculum शब्दको प्रयोग १९ औं शताब्दीबाट सुरू भएको हो । पाठ्यक्रमलाई अँग्रेजी भाषामा Curriculum भनिन्छ जो ल्याटिन भाषाका शब्दहरु ‘Currere’ एवम् ‘Curriculu’ बाट बनेको बुझिन्छ । ‘Currere’ एवम् ‘Curriculu’ शब्दहरुको अर्थ दगुर्नु (To Run) हुन्छ । यसरी Curriculum शब्दको अर्थ दौडको मैदान (Race Course) वा दौड्ने मार्ग (Run Way) हुन्छ । यसलाई शिक्षासँग सम्बन्धित गराएर भन्दा के भन्न सकिन्छ भने “पाठ्यक्रम त्यो धावनमार्ग हो जस अनुसार अघि बढ्दा विद्यार्थीहरुले शिक्षाका लक्ष्य तथा उदेश्य प्राप्त गर्न सफल हुन्छन् ।“  अतः पाठ्यक्रम भनेको शिक्षाको लक्ष्य तथा उदेश्य प्राप्तिका लागि अगाडि बढ्ने अर्थात उदेश्य प्राप्तिका लागि अपनाइने शैक्षिक प्रक्रिया र कार्यक्रमहरूलाई नै दौडको मैदान वा पाठ्यक्रमको ढाँचा मान्न सकिन्छ । यसमा लक्ष्य, उदेश्य, विषयवस्तु, शिक्षण प्रक्रिया, शैक्षिक सामग्री, मूल्याङ्कन आदि पक्षहरु समावेश गरिएको हुन्छ । 

पाठ्यक्रमको संकुचित अर्थ (Narrow Meaning of Curriculum): 

संकुचित धारणा अनुसार पाठ्यक्रम भनेको कक्षामा पढाइने तथा अध्ययन गरिने विषयवस्तुको क्रमिक सूची (Course of study or list of content) लाई लिइन्छ । विद्यालयका निश्चित कक्षामा विद्यार्थीले सिक्ने विषयसूची (Syllabus), किताबी ज्ञान (Bookish Knowledge), पाठ्यांशहरुको सिलसिलाबद्ध समूह (Systematic set of courses for study) लाइ नै  पाठ्यक्रमको रुपमा बुझ्नु यसको संकुचित अर्थ हो । यी कुराहरू क्रियाकलापमा मात्र सीमित हुन्छन् । सिकारूका इच्छा, आवश्यकता, रुचि, क्षमता, प्रवृत्ति अर्थात विकासात्मक स्तर र व्यवहारिक जीवनका क्रियाहरुलाई स्थान दिइएको पाइँदैन । पाठ्यक्रमलाई पाठ्यपुस्तको विषयसूची वा विषयको स्वरुपलाई बुझ्नु यसको संकुचित अर्थ हो । सिलसिलेवार ढंगले कक्षामा कुनैपनि विषय पढाउनका लागि शिक्षकको सुविधा अनुसार विषय सामग्रीलाई व्यवस्थित गरिएको हुन्छ त्यसलाई पाठ्यांश वा पाठ्यविवरण भनिन्छ । यसैलाई कोर्स, विषयवस्तु, पाठ्यांश, पाठ्यविवरण आदि पनि भनिन्छ । यस्ता कुनैपनि अर्थ पाठ्यक्रमले समेट्न नसकी संकुचित हुन्छन् । तर परम्परागत धारणा राख्नेहरुले अझै पनि पाठ्यक्रमको अर्थलाई यतिमा नै सीमित राख्ने गरेको पाइन्छ ।  त्यसैले संकुचितरुपमा पाठ्यक्रमलाई निम्न बुँदाबाट अझ प्रष्ट पार्न सकिन्छ । 

  • परम्परागत र साँघुरो अर्थ, 
  • कक्षा क्रियाकलापमा मात्र सीमित,
  • कक्षाकोठामा शिक्षणसिकाइ क्रियाकलापहरु सञ्चालित गर्नका लागि तयार गरिएको विषयबस्तुको सूची, 
  • पाठ्यांश, विषयसूची, किताबी ज्ञान र विषयवस्तुको सिलसिलाबद्ध प्रस्तुती, 
  • एक वर्षमा के कति पढाउने भन्ने योजना वा विषयवस्तुको सूची, 
  • बालबालिकाको रुचि, क्षमता, आवश्यकता, सामाजिक चाहाना, वैज्ञानिक विकासक्रम जस्ता पक्षलाई त्यति वास्ता नगर्नु, 
  • सरल देखि जटिल क्रममा मिलाइएको पाठहरुको श्रृङ्खला । 

पाठ्यक्रमको व्यापक अर्थ (Wider Meaning of Curriculum): 

यो धारणा अनुसार पाठ्यक्रम त्यतिमा मात्र सीमित नरही यसमा ती सबै अनुभवहरु समावेश हुन्छन् जो विद्यालय भित्र र बाहिर रहेर शिक्षाको उद्देश्य अनुसार प्राप्त गरिन्छ । यस धारणा अनुसार पाठ्यक्रममा पाठ्यपुस्तक, विषयसूची र पाठ्यबस्तु भन्दा अरु बढी विशेष धारणाहरु समावेश भएका हुन्छन् । यसमा विद्यार्थी, शिक्षक, विद्यालयमा सञ्चालन हुने क्रियाकलापहरु, सामाजिक तथा राष्ट्रिय चाहाना र आवश्यकता, शिक्षाका राष्ट्रिय, तहगत कक्षागत र विषयगत उद्देश्यहरु, पाठ्यांश, शिक्षण विधि, र सामग्रीहरु, शिक्षण सिकाइ कार्यनीतिहरु र मूल्याङ्कन विधि तथा कार्य पद्धतिहरु समेत अङ्कित हुन्छन् । त्यसैले यसलाई शैक्षिक कार्यक्रमको मेरुदण्ड समेत मानिन्छ । 

पाठ्यक्रमको व्यापक अर्थ अनुसार विद्यालय भित्र र विद्यालय बाहिर जे जति शैक्षिक क्रियाकलापहरु विद्यार्थीका चौतर्फी व्यक्तित्व विकासका लागि सञ्चालन गरिन्छ त्यो सम्पूर्ण क्रिया प्रक्रियालाई पाठ्यक्रम भनिन्छ । यसमा विद्यार्थी र समाजका इच्छा आकांक्षा समावेश भएका हुन्छन् । यसभित्र विद्यार्थीको उमेर र क्षमता अनुसार पठाउन सकिने विषयवस्तु शिक्षण विधि शिक्षण सामग्री प्रविधिहरु र पाठ्यक्रमको प्रभावकारीताका लागि मूल्याङ्कन प्रविधि समेत निर्धारण गरिएको हुन्छ । पाठ्यक्रमको व्यापक अर्थलाई बुँदागतरुपबाट अझ प्रष्ट पार्न सकिन्छ । 

  • पाठ्यक्रम शैक्षिक कार्यक्रमको मेरुदण्ड हो, 
  • मानवजातिका सम्पूर्ण ज्ञान र अनुभवहरुको सार, 
  • सिकाइका लागि एक योजना,
  • विद्यालय अर्थात कक्षाकोठाको चार पर्खालभित्र सीमित नरही शिक्षाका उदेश्यहरु प्राप्तिको लागि सञ्चालन गरिने सम्पूर्ण क्रियाकलापका पक्षहरु, 
  • शिक्षाको उदेश्य, प्राप्त अनुभवहरुको स्वरुप, संगठन र संरचना समेटिएको बृहत व्यवस्थित दस्तावेज, 
  • उदेश्य, विषयवस्तु, शिक्षण विधि र मूल्याङ्कनलाई व्यवस्थित रुपमा संगठन गरिएको दस्तावेज, 
  • योजनाबद्धरुपमा प्रदान गरिने सिकाइ अनुभवहरुको संकलन, 
  • पाठ्यक्रमलाई राष्ट्रको शिक्षा नीति र शैक्षिक क्रियाकलापहरुको मूल आधारको रुपमा बुझ्नु, आदि । 

विद्वानहरुका केही परिभाषाहरु (Some Definitions of Curriculum): 

  • शिक्षाका लक्ष्य हाँसिल गर्नका लागि बनाइएका कार्यक्रमहरुलाई पाठ्यक्रम भनिन्छ । -रा.शि.प.यो. २०२८
  • विद्यालय भित्र र बाहिर विद्यार्थीमा ऐच्छिक उपलब्धिहरु प्राप्त गराउन विद्यालयद्वारा गरिने सम्पूर्ण प्रयासलाई पाठ्यक्रम भनिन्छ । अथवा पाठ्यक्रम सिकाइको एक योजना हो । -Hilda Taba
  • पाठ्यक्रम भनेको कलाकार (शिक्षक) को हातको एउटा औजार हो, जसको माध्यमबाट उसले आफ्नो स्टुडियो (विद्यालय) भित्र पदार्थहरु (विद्यार्थीहरु) लाई आफ्नो विचार (लक्ष्य) मा परिवर्तित गर्दछ । -Cunningham
  • पाठ्यक्रम विद्यार्थीका सबै अनुभवहरु हुन् जो विद्यालय र शिक्षकद्वारा शिक्षाको उद्देश्य प्राप्तिका लागि योजना र निर्देशित गरिएको हुन्छ । -UNESCO
  • शैक्षिक लक्ष्यहरु प्राप्त गर्नका लागि विद्यालय द्वारा  आयोजित र निर्देशित विद्यार्थीको सम्पूर्ण सिकाइ पाठ्यक्रम हो । -Tyler

समग्रमा पाठ्यक्रम (In Conclusion):

  • नयाँ  र आधुनिक धारणा जसले पाठ्यक्रमलाई शैक्षिक क्रियाकलापको नेतृत्व प्रदान गर्ने सशक्त कार्ययोजना, 
  • संगठित  र योजनाबद्ध ढंगले शैक्षिक उदेश्यहरु प्राप्त गर्न तय गरिएको योजना, 
  • शिक्षाका राष्ट्रिय, तहगत, कक्षागत, र विषयगत उदेश्यहरु पूरा गर्ने गरी विषयवस्तु, शिक्षण विधि, शैक्षिक क्रियाकलाप, मुल्याङ्कनका साधन र प्रक्रिया जस्ता पक्षहरु समावेश भएको दस्तावेज, 
  • व्यक्तिमा सामाजिक सक्षमता विकास गरी पूर्ण समाजमा पूर्ण रुपमा सहभागी र समायोजन हुँदै सफल सामाजिक जीवनयापन गर्नका लागि आवश्यक अनुभवहरुको संगालो, 
  • सामाजिक क्रियाकलापहरुको परिणाम, 
  • विद्यालयको अर्थात सिकारुको वरिपरिको सम्पूर्ण वातावरण, 
  • राष्ट्रको शिक्षा नीति र शिक्षण सिकाइ प्रक्रियाको मूल आधार जसले राष्ट्रका लागि चाहिने विभिन्न तह र प्रकारका शैक्षिक तथा प्राविधिक जनशक्ति उत्पादन गर्ने आधार नै पाठ्यक्रम हो । 

स्थानीय पाठ्यक्रम (Local Curriculum):

पृष्ठभूमि (Background):

Think Globally, Act Locally. 

विद्यालय स्तरको पाठ्यक्रममा स्थानीय संस्कृति, भाषा, जनजीवन, इतिहास, भूगोल आदि विषयवस्तुहरुलाई समेटेर शिक्षालाई अझ जीवनसँग जोड्ने बृहत् प्रयोजन र स्थानीय तहलाई स्थानीय शिक्षाप्रति जिम्मेवार बनाउने अभिप्रायमा आधारित स्थानीय पाठ्यक्रमको प्रावधान उपयोगी र दीर्घकालीन महत्वको विषय हो । सिंहदरबारभित्र कैद अधिकारलाई जनतासम्म पुर्याउने संविधानको भावनामा उभिएको यो प्रावधानले आधारभूत तहका विद्यार्थीहरूलाई आफू जन्मेको-बसेको परिवेशबारे जानकारीमात्र दिने गर्दैन, बरु स्थानीय तहका सांस्कृतिक, ऐतिहासिक र आर्थिक विशेषताहरु समेतको जगेर्ना गर्नेछ । स्थानीय पाठ्यक्रम निर्माणकै क्रममा स्थानीय तहले आफ्नो विशेषतासमेतको अध्ययन र अनुसन्धान गर्दा धेरै छायाँमा परेका र छोपिएका विषयवस्तु सतहमा आई त्यस्ता विषयवस्तुहरूको संरक्षण र सम्वर्द्धन हुनेछ ।

स्थानीय आवश्यकताका विषयवस्तु त्यहीँका नागरिकको अपनत्व हुने गरी सरोकारवालाले स्थानीय ज्ञान, सिप र प्रविधिलाई समेटी विकास गर्ने पाठ्यक्रम नै स्थानीय पाठ्यक्रम हो । यसमा केन्द्रीय पाठ्यक्रमले समेट्न नसकेका विषयवस्तु हुनु पर्दछ जसले स्थानीय ज्ञानको प्रस्फुटन गर्नुका साथै नवीनतम ज्ञान र सिपको मार्ग दर्शन पहिल्याउन सहयोग गर्दछ । स्थानीय स्तरमा रहेका मूल्य, मान्यता, कला संस्कृतिको संरक्षण र सम्वर्द्धन गर्दै आगामी पुस्तामा हस्तान्तरण गर्न सहयोग गर्दछ । स्थानीय पाठ्यक्रमलाई शैक्षिक विकेन्द्रीकरणको महत्वपूर्ण खुड्किलाका रुपमा पनि लिन सकिन्छ ।

स्थानीय सरोकारवालाहरुको सहभागितामा स्थानीय आवश्यकतालाई सम्बोधन गर्ने गरि स्थानीय नेतृत्वमा विकास तथा कार्यान्वयन गरिने पाठ्यक्रम लाई स्थानीय पाठ्यक्रम भनिन्छ । यसमा स्थानीय आवश्यकता, स्थानीय विषयबस्तु र स्थानीय सहभागिता/विज्ञता जस्ता पक्षहरु समेटिएको हुन्छ । यसले पाठ्यक्रम जनताबाटै सीमित, जनतामै निःसृत र जनताबाटै परिचालित हुनुपर्छ भन्ने मान्यता राख्दछ । 

स्थानीय पाठ्यक्रमले 

  • स्थानीय स्रोत, साधन र विज्ञताको उपयोग गर्दछ, 
  • स्थानीय स्तरमा रहेका सरोकारवालाको क्षमता अभिवृद्धि गर्छ, 
  • स्थानीय मागमा आधारित हुने हुनाले स्थानीय आवश्यकताको परिपूर्ती गर्छ, 
  • स्थानीय सरोकारवाला निकायहरुलाई अपनत्वको भावना विकास गराउँछ, 

स्थानीय पाठ्यक्रमको आवश्यकता 

  • सामाजिक विविधता अनुरुपको पाठ्यक्रमलाई प्रोत्साहन गर्न, 
  • व्यक्ति/समूह/समाजको आवश्यकता बुझि तिनलाई पुरा गर्न, 
  • स्थानीय स्तरका महत्वपूर्ण चाडपर्व, स्थान, कला-कौशल, व्यवसाय, घरेलु उद्योग, प्राकृतिक स्रोतको उचित सम्मान र परिचालन गरी संरक्षण सम्वर्द्धन गर्न, 
  • पाठ्यक्रमलाई बढी उपयोगी, सान्दर्भिक र आवश्यकतामुखी बनाउन, 
  • स्थानीय तहका सरोकारवालाहरु र संस्थाहरुको सक्षमता अभिवृद्धि गर्न, आदि । 

स्थानीय पाठ्यक्रमको औचित्यः

मानव सभ्यता र विकासकालागि स्थानीय तहबाटनै जागरुकता आउनु पर्दछ । संसारमा सबै प्रकारका विकास र सुधारका कार्यहरु मानवबाट नै सम्भव भएका छन् । मानिसले सर्वप्रथम आफ्नो गाउँ समुदायको पहिचान गर्नु पर्दछ । त्याहाँ भएका प्राकृतिक ऐतिहासिक सम्पदाहरु आर्थिक क्रियाकलापहरु बारे जानकार हुनुपर्दछ । आफ्नो आफ्नो क्षेत्रबाट सुधारको पहल गरेर मात्र व्यापक क्षेत्रमा पुग्न सकिन्छ । स्थानीय पाठ्यक्रमको माध्ययमबाट आधारभूत तहमा अध्ययनरत बालबालिकाहरुले औपाचारिकरुपमा आफ्नो गाउँबस्ती, समाज र जील्लाको समग्र वस्तुनिष्ठ ज्ञान प्राप्त गर्नेछन् र स्थानीय तहका प्रचलित भाषा संस्कृती ऐतिहासिक र धार्मिक महत्वका स्थलहरु, प्राकृतिक सम्पदा तथा यसको संरक्षण एवम् सम्वर्द्धन गर्दै सम्भावित स्थानीय प्राकृतिक विपत्तीहरुका बारेमा समेत पहिचान गर्ने अवसर प्राप्त गर्दछन् । 

स्थानीय पाठ्यक्रम निर्माणका चूनौतीहरुः

स्थानीय तहलाई पाठ्यक्रम निर्माण गर्न मुख्यतः दुई चरणका चुनौती देखिन्छन् । पहिलो चुनौती हो, पाठ्यक्रम निर्माण गर्नु । स्थानीय तहमा निर्वाचित अधिकांश जनप्रतिनिधिलाई यसप्रकार स्थानीय पाठ्यक्रम आफूले हाँक्दै आएको पालिकाले बनाउन सक्छ भन्ने कुराको जानकारी छैन । बाटोघाटो, पानी, ढलनिकास, नागरिकता सिफारिस, नाता प्रमाणित आदि काममा सीमित जनप्रतिनिधिको बुझाइ अन्तर्गत शिक्षा क्षेत्रमा यसप्रकार पाठ्यक्रम बनाउन सकिन्छ भन्ने कुरा परेकै छैन । कतिपय स्थानीय तहहरूले यो अधिकारको अभ्यास गर्न खोजेकै अवस्थामा पनि पाठ्यक्रम कसरी बनाउने र के-के विषय कसरी समेट्नुपर्छ भन्ने कुराको प्राविधिक ज्ञान नहुँदा त्यतातिर आँखै नडुलाउने सम्भावना पनि उत्तिकै रहेको छ । पाठ्यक्रम निर्माण जोकोहीले सजिलै गर्नसक्ने विषयपनि होइन । सम्बन्धित विषयका विज्ञको अभावमा पाठ्यक्रम निर्माण सम्भव छैनन् । हरेक पालिकासँग विज्ञहरू उपलब्ध छैन । जनप्रतिनिधि आफै यसमा विज्ञ हुन अनिवार्यपनि छैन । तर, यस्तो अवस्थामा स्थानीय तहले जानेर र चाहेर यसको अभ्यास गर्नका लागि स्थानीय सरोकारवाला/विज्ञका साथसाथै राष्ट्रिय स्तरका विज्ञहरुसँग बृहत छलफल र कार्याशाला सञ्चालन गर्नु पर्ने देखिन्छ । यी माथिका समस्याहरू समाधानको निम्ति एउटा उपयुक्त बाटो भनेको स्थानीय तह र विज्ञहरूबीचको समन्वय र सहकार्यनै हो । 

स्थानीय पाठ्क्रमको प्रमुख उद्देश्य राष्ट्रिय पाठ्यक्रमले समेट्न नसकेका स्थानीय विशेषतालाई समेट्नु र उजागर गर्नु पनि भएको हुनाले यो राष्ट्रिय पाठ्यक्रमको पुरक पाठ्यक्रम पनि हो । यसले हाम्रो राष्ट्रिय पाठ्यक्रमलाई अझ पूर्ण बनाउन मद्दत समेत गर्नेछ ।

स्थानीय पाठ्यक्रम निर्माणका चूनौतीहरुः 

  • स्थानीय तहका सरोकारवालाको सहभागिता र संस्थागत क्षमता अभिवृद्धि गर्नु, 
  • स्थानीय आवश्यकता र राष्ट्रिय अन्तराष्ट्रिय आवश्यकताबीच सन्तुलन कायम गर्नु,
  • भौगोलिक, सांस्कृतिक र सामाजिक विविधतालाई सम्बोधन गर्नु,
  • स्थानीय आवश्यकता पहिचान गर्ने पद्धति र संयन्त्र विकास गर्नु,
  • विकेन्द्रित पाठ्यक्रम निर्माण प्रक्रियालाई स्थापित गर्नु,
  • केन्द्रीय पाठ्यक्रम र स्थानीय पाठ्यक्रमबीच सामञ्जस्य स्थापित गर्नु, 
  • प्रधानाध्यापक, शिक्षक, विद्यालय व्यवस्थापन समिति र अभिभावकहरुलाई पाठ्यक्रम निर्माण र कार्यान्वयन सम्बन्धी सीप सिकाउनु,
  • सरोकारवालामा अपनत्वको भावना विकसित गराउनु, 
  • स्थानीय आवश्यकताका विषय शिक्षण गर्ने जनशक्ति तयार गर्नु, 
  • स्थानीय पाठ्यक्रम विकास र कार्यान्वयनमा स्थानीय लगानी र सहयोग वृद्धि गर्नु,
  • प्रभावकारी अनुगमन, मूल्याङ्कन पृष्ठपोषण संयन्त्र विकास र कार्यान्वयन,

स्थानीय पाठ्यक्रम निर्माणका मान्यताहरुः

  • स्थानीय भौतिक र मानविय स्रोतको उपयोग, 
  • स्थानीय आवश्यकताका विषयवस्तुले स्थान पाउनुपर्ने, 
  • पाठ्यक्रमप्रति सरोकारवालाको अपनत्व हुनु पर्ने, 
  • पाठ्यक्रम विकास र कार्यान्वयनमा पहुच तथा प्रभावकारीता वृद्धि गर्नुपर्ने, 
  • विद्यालय र समुदायको सम्बन्ध सुदृढ हुनुपर्ने, 
  • न्यून मूल्यका स्थानीय सामग्रीहरुको बढी भन्दा बढी प्रयोग गर्नु पर्ने, 
  • सरोकारवाला हरुको सक्रिय सहभागिता गराउनुपर्ने,  

स्थानीय पाठ्यक्रम प्रभावकारी कार्यान्वयनका उपायहरुः 

  • संघ, प्रदेश  र स्थानीय सरकारबीच साझेदारीको विकास गर्ने,
  • स्थानीय तहको सक्षमता विकास गर्ने, 
  • राजनीतिक प्रतिवद्धताको विकास गर्ने, 
  • स्थानीय सहभागितालाई पाठ्यक्रम विकास, कार्यान्वयन जस्ता पक्षहरुमा धेरै भन्दा धेरै उपयोग गर्ने, 
  • राष्ट्रिय तथा अन्तराष्ट्रिय ज्ञान सीपसँग स्थानीय ज्ञान, सीप तथा प्रविधिको अनुकुलन गर्दै लैजाने, 
  • नियमित अनुगमन, मूल्याङ्कन र पृष्ठपोषण पद्धतिको विकास गर्ने, 
  • स्थानीय पाठ्यक्रम विकास तथा कार्यान्वयन प्रक्रियामा समावेशी पक्ष, बालमैत्री पक्ष, व्यवहारिक एवम् प्रयोगात्मक पक्ष, विद्यार्थी सिकाइ, निरन्तर मूल्याङ्कन पद्धति, भाषिक पक्ष, लैङ्गिक पक्ष, धार्मीक पक्ष, सहिष्णु तथा साझेदारी जस्ता पक्षमा विशेष ध्यान दिने, 
  • स्थानीय पाठ्यक्रम विकासलाई विद्यालय विकासको प्याकेजको रुपमा कार्यान्वयनमा ल्याउने, 

अन्त्यमा, 

स्थानीय आवश्यकता, परिवेश र व्यवहारमुखी पाठ्यक्रमलाई स्थानीय पाठ्यक्रम भनिन्छ जसले स्थानीय ज्ञान, सीप र प्रविधिको विकास , संरक्षण र प्रवर्धनमा टेवा पुर्याउछ । त्यस्तै स्थानीय रुपमा निर्माण, कार्यान्वयन, अनुगमन तथा मूल्याङ्कन लगायत समग्र कार्य स्थानीय परिवेशमै गर्न सकिने प्रावधान राखी तयार गरिएको पाठ्यक्रम नै स्थानीय पाठ्यक्रम हो  जसले स्थानीय विषयवस्तु, स्थानीय आवश्यकता, स्थानीय रितिरिवाज, परम्परा र मूल्य मान्यताहरु तथा मौलिक विशेषताहरुलाई विकसित र विश्वव्यापीरुपमा पहिचान गराउन मदत गर्दछ । 

स्थानीय आवश्यकता, स्थानीय विषय क्षेत्र, विषयवस्तु, शैक्षणिक व्यवस्था, सामग्रीहरुको निर्माण गरि स्थानीय परिवेशमा शिक्षा दिने र शैक्षिक विकेन्द्रीकरण (Educational Decentralization) को नीति अन्तरगत पाठ्यक्रम सुधार पद्धति (Curriculum reform approach) अनुसार स्थानीय निकाय (Local Agency) लाई नै पाठ्यक्रम निर्माण गर्न दिने सिद्धान्तलाई यसले अंगिकार गरेको हुन्छ । त्यसैले स्थानीय पाठ्यक्रम निर्माणमा सामुदायिक तत्वहरु (Community Factors) बढि महत्वपूर्ण मानिन्छन् । 

सन्दर्भ सामग्रीहरू 

Bhattarai, H.N. and Dhami, K.S. (2066). Curriculum and Evaluation, Kathmandu, Ratna Pustak Bhandar. 

Niure, D.P. (2010). Curriculum Planning and Practice, Kathmandu: Sunlight Book Publication. 

Aacharya, P.R. (2076). Sthaniye Sewa Adhikrit Digdarshan, Kathmandu: Pairabi Prakashan. 

Aacharya, D.R. and Paudel, S. (2076). Sthaniye Taha Adhikrit Digdarshan, Kathmandu: Sara Prakashan.    

(लेखक हुप्सेकोट गाउँपालिकाका शिक्षा अधिकृत हुन ।)

 

प्रकाशित : २०७७ माघ ८ गते ११:५६
Copyright © 21 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI