अस्ताए सांगीतिक आकाशका “ध्रुव”

NAWALPUR TIMES
प्रकाशित : २०७७ माघ १० गते ११:०९
अस्ताए सांगीतिक आकाशका “ध्रुव”

काठमाडौँ — नेपाली संगीत क्षेत्रको आकाशमा अर्काे ध्रुव तारा अस्ताएको छ । लोक संगीतका स्रष्टा रत्न बानियाँलाई बुधबार मात्र गुमाएको यस क्षेत्रले बिहीबार फेरि गायक ध्रुव केसीलाई पनि गुमायो । एक दशकदेखि पार्किन्सन रोगसँग लड्दै आएका केसीले ७५वर्षको उमेरमा बिहीबार संसार छोडेका हुन् ।

भान्जा प्रविण निरौलाका अनुसार भैंसेपाटीस्थित अर्किड केयर होममा उपचार गराइरहेका केसीको स्वास्थ्य अवस्था झन्डै दुई सातादेखि चिन्ताजनक थियो । केही दिनदेखि उनी अर्धचेत अवस्थामा थिए । बिहीबार दिउँसो ४:४५ मा उपचारकै क्रममा उनको निधन भएको निरौलाले बताए ।

२० देखि ३० को दशकमा केसीले संख्यात्मक रुपमा थोरै नेपाली आधुनिक गीतहरु गाए तर श्रोताका निम्ति ती सबै विशेष रहे । ३० को दशकमा सांगीतिक क्षेत्रलाई स्वर्णिम युग बनाउन केसीको विशिष्ट योगदान रहेको गायक किरण प्रधानले बताए । ‘उहाँको आवाज एक बिछट्टै र विशिष्ट थियो’ उनले भने, ‘थोरै गाउनु भयो तर नेपाली संगीतलाई माथि उठाउन इँटा थपेर जानु भो ।’ गोपाल योञ्जन, शिवशंकर, नातिकाजी, नारायण गोपाल, लालबहादुर खाती जस्ता स्रष्टाहरुको सहकार्यमा उनले ‘मायालु हजार हुन्छन्’, ‘जिउँदै मर्ने जिन्दगीमा’, ‘एक फेर हाँसेर’, ‘तिम्रो माया कागजको रंगीचंगी फूलजस्तो’, ‘अरु कालो रेलको धुँवाले’ जस्ता कालजयी गीतहरु गाएका छन् । ‘मायालु हजार हुन्छन्’ तथा ‘रेलको धुँवाले’ ले केसीलाई सांगीतिक क्षेत्रको उचाइमा पुऱ्याउन कोसेढुंगा सावित भएको गायक प्रधान बताउँछन् ।

रेडियो नेपालमा बाल गायकका रुपमा उदाएका उनले १० को दशकमा नै स्वर परीक्षा पास गरी गायनलाई निरन्तरता दिएका थिए । उनले तारादेवी, कमला श्रेष्ठ लगायतका स्रष्टाहरु एवं उनैका भतिज नायक भुवन केसीसँग युगल गायन गाएका छन् ।

उनको स्वरलाई सुन्न चाहने श्रोता तथा दर्शकको उत्तिकै क्रेज रहँदा पनि ३० को दशकपछि भने श्रोताले उनको नयाँ गीत सुन्न पाएनन् । संगीत मात्र होइन परिवारबाट टाढा भएर दिल्लीमा झन्डै उनले दुई दशक बिताए । आमाको निधनसँगै अन्य पारिवारिक कारणले उनी निकै विक्षिप्त भएर संगीत र जन्मभूमिबाट टाढा भएको साहित्यकार नरेन्द्रराज प्रसाईँले सुनाए । २०५२ सालमा केसीसँग दिल्लीमा नै भेटेको प्रसाईँलाई स्मरण छ । ‘०५२ सालतिर दिल्लीमा ध्रुव दाइलाई भेट्दा संगीतकै कुरा अगाडि बढाएको थिएँ । जतिबेला नेपाली संगीतप्रति उहाँको लगाव र भोकलाई मैलै महसुस गरेको थिएँ ।’ नेपालमा फर्केर पुन: संगीतमा पुनरागमन हुन आग्रह गरेको उनले बताए ।

प्रसाईँकै आग्रहबमोजिम दुई वर्षपछि केसी दिल्ली छोडेर नेपाल आए । उनले प्रसाईँलाई घरमा नै भेट्न गएका थिए । त्य पश्चात् भने दुवैको सम्बन्ध निकै नजिक भएको प्रसाईँ सुनाउँछन् । प्रसाईँका अनुसार नयाँ गीत रेकर्ड र केसीको सांगीतिक जीवनको बायोग्राफीका लागि उनले सुझाएका थिए । केसीले थोरै सहमति जनाएपछि नयाँ गीतको प्रक्रिया चलेको त थियो तर त्यो पूरा हुन सकेन । केसीलाई मानसिक रुपमा नै पूर्ण तवरले सिर्जनामा आउन केही कठिन भएकोले सांगीतिक जीवनका कुरालाई थाती राखेको प्रसाईँले बताए । ‘सांगीतिक क्षेत्रमा फर्कन उहाँको चाहना थियो तर उहाँ आफैं निकै फ्रस्टेसनमा रहेकाले रोगले च्याप्दै लगेपछि थला नै पर्नुभो,’ उनले भने ।

संगीतले एक मौलिक गायनको प्रस्तोतालाई गुमाएकोमा लेखक तथा चलचित्रकर्मी प्रकाश सायमिले दु:ख व्यक्त गरे । नारायण गोपाल र गोपाल योञ्जनसँग निकै राम्रो सहकार्य रहेको खुलाउँदै उनले केसीलाई स्वर्णिम युगका चर्चित गायकका रुपमा सम्झिन्छन् सायमि । राजेन्द्र थापा लगायतका स्रष्टाहरुले उनको निधनप्रति दु:ख व्यक्त गरेका छन् । थापाले केसीलाई नेपाली संगीतका रोमान्टिक धारका एक उच्चतम गायकका रुपमा स्मरण गरेका छन् ।-कान्तिपुर

प्रकाशित : २०७७ माघ १० गते ११:०९
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI