कार्यकारी अधिकारसहित भोलि एक दिनको लागि मुख्यमन्त्री बन्दैछिन् यी छात्रा

NAWALPUR TIMES
प्रकाशित : २०७७ माघ १० गते १६:४२
कार्यकारी अधिकारसहित भोलि एक दिनको लागि मुख्यमन्त्री बन्दैछिन् यी छात्रा

काठमाडौं। एक दिनको मुख्यमन्त्री भन्नासाथ कैयौंलाई बलिउड फिल्म ‘नायक’ याद आउँछ । यो फिल्ममा मुख्य अभिनेता अनिल कपुर १ दिनको लागि मुख्यमन्त्री बनेका थिए । तर, फिल्ममा नभइ वास्तविकतामै त्यो पनि पूरै कार्यकारी अधिकारसहित एक छात्रा भोलि अर्थात जनवरी २४ का दिन एक दिनको लागि भारतको उत्तराखण्ड राज्यको मुख्यमन्त्री बन्दैछिन् । यी छात्रा हरिद्वारकी सृष्टि गोस्वामी हुन् ।

टाइम्स अफ इण्डियाको रिपोर्टअनुसार भोलि सृष्टि कार्यकारी अधिकारसहित मुख्यमन्त्री बन्नेछिन् र उनको उपस्थितिमा विधानसभा बैठक पनि बस्नेछ । विधानसभाको कोठा नम्बर १२० मा बैठक बस्नेछ । सृष्टिलाई मुख्यमन्त्री बनाएर बैठक आयोजना गर्ने स्वीकृति र निर्देशन उत्तराखण्डका मुख्यमन्त्री त्रिवेन्द्र सिंह रावतले दिइसकेका छन् । उत्तराखण्ड बाल संरक्षण आयोगकी अध्यक्ष उषा नेगीले बुधबार मुख्य सचिव ओमप्रकाशलाई एक पत्र पठाउँदै २४ जनवरीका दिन बालिकाहरुको सशक्तिकरणका लागि एक प्रतिभाशाली छात्रालाई मुख्यमन्त्रीको जिम्मेवारी दिइएको बताएकी छिन् ।

सृष्टि गोस्वामी भोलिका लागि उत्तराखण्डको मुख्यमन्त्री हुनेछिन् । यो एक दिनको कार्यकालमा सृष्टिले विकास कार्यक्रमको समीक्षा गर्नेछिन् । यसका लागि छानिएका विभागका अधिकारीले ५–५ मिनेटको समयमा आ–आफ्नो रिपोर्ट पेश गर्नेछन् । विधानसभा भोलि दिउँसो १२ बजेदेखि ३ बजेसम्म चल्नेछ ।

सृष्टिका पिता प्रविण पुरीले आफ्नी छोरीमाथि गर्व महसुस भएको बताए । सृष्टिले बीएसएम पीजी कलेज रुडकीमा बिएस्सी कृषि अध्ययन गर्दैछिन् । २०१८ मा बाल विधानसभामा बाल विधायकहरुको तर्फबाट उनलाई मुख्यमन्त्री चयन गरिएको थियो । बाल विधानसभामा हरेक ३ वर्षमा एक बाल मुख्यमन्त्री चयन गरिन्छ ।

प्रकाशित : २०७७ माघ १० गते १६:४२
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI