आगोले गाउँ सखाप: २६ घर जले, १६७ जनाको बिचल्ली

NAWALPUR TIMES
प्रकाशित : २०७७ माघ १५ गते १२:४०
आगोले गाउँ सखाप: २६ घर जले, १६७ जनाको बिचल्ली

जुम्ला : तिला गाउँपालिका–७ गोठीगाउँमा मंगलबार साँझ आगलागी हुँदा २६ घर जलेर नष्ट भएका छन् । चार, पाँच वटा घर मात्रै जोगिएका छन् । उक्त घटनाका कारण १ सय ६७ जनाको बिचल्ली भएको छ । ३७ गाईगोरु र २६ भेडाबाख्रा मरेका छन् । १ लाख ५० हजार नगद जलेको छ । सँगै धेरै खरायो, कुखुरा मरेको जानकारी स्थानीयले दिएका छन् ।

एक्कासि आगो फैलिएपछि घरबाट कसैले केही निकाल्न नपाएको स्थानीय लालबहादुर रोकायले बताए । ‘सबै चिज हेर्दाहेर्दै आँखै अगाडि जल्यो । गोठमा भएका गाईगोरु पनि भित्रै मरे ।भेँडा, बाख्रा, कुखुरा, खरायो पनि भित्रै मरे । अन्न पात पनि सबै जल्यो । अब त न खाने गाँस छ न बस्ने बास छ न लगाउने लत्ताकपडा छ’, उनले भने, ‘बस्ती एक्लै भएकाले अरू गाउँमा बस्न जान पनि सम्भव छैन । चिसो धेरै छ, बालबच्चालाई कसरी पाल्ने बिजोग भएको छ ।’

भीम रोकायको घरमा लागेको आगो एक घण्टामै गाउँभरि फैलिएको स्थानीय बताउँछन् । स्थानीय परेल रोकायका अनुसार एक्कासि ‘आगो’ ‘आगो’ भन्ने आवाज आएपछि आफू घरबाहिर निस्किँदा आगोको मुस्लो देखिएको बताए । आफूले गाउँले बोलाउँदा बोलाउँदै आगो गाउँभरि फैलिएको जानकारी उनले दिए ।

१६ घण्टाको अथक प्रयासपछि आगो बुधबार बिहान ११ बजे मात्र आगो नियन्त्रणमा आएको खलंगा बजारका प्रहरी निरीक्षक नवीन थापामगरले बताए । खलंगाबाट प्रहरी निरीक्षक मगरको कमान्डमा १५ र प्रहरी चौकी रारालिहीबाट प्रहरी नायब निरीक्षक झुपेन्द्रबहादुर शाहीको कमान्डमा तीन र प्रहरी चौकी कुडारीबाट प्रहरी जवान नरेन्द्र देउवाको कमान्डमा तीन जनाको टोली परिचालन भएका थिए । आगलागी भएको एक घण्टापछि घटना थाहा पाएर टोली तयार गरी आउँदा पनि राति ९ बजे मात्रै अग्निनियन्त्रक टोली घटनास्थल पुगेको थियो । तर, आगो गाउँभरि फैलिएको आगो निभाउन गाह्रो भएको उनले बताए ।

घरका छाना काठका र छानाभित्र घास राखेकाले आगो फैलिएको जनाइएको छ । गाउँका बासिन्दा हिउँदमा चिसो छल्न बेसी झर्ने र गाउँमा केही कुरुवा मात्रै बस्ने भएकाले मानवीय क्षति हुनबाट जोगिएको पाइएको छ  ।

भौगोलिक विकटताका कारण स्थानीय प्रशासनले राहत पीडितसम्म पु¥याउन सकेको छैन । प्रदेश सरकारले हेलिकप्टरमार्फत राहत पुर्‍याउने भनेपछि त्यसमै जिल्लाको राहत लैजाने तयारी गरेकोमा हेलिकप्टरले उडान लिनै सकेन । जुम्लाका  प्रमुख जिल्ला अधिकारी भूपेन्द्र थापाले बिहीबार हेलिकप्टर नआए पैदल गएर भए पनि राहत पुर्‍याउने जानकारी दिए ।-अन्नपूर्ण पोस्ट बाट

प्रकाशित : २०७७ माघ १५ गते १२:४०
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI