ज्येष्ठ नागरिकको दिन चर्या, आजको चर्चा

NAWALPUR TIMES
प्रकाशित : २०७७ माघ १७ गते १०:४४
ज्येष्ठ नागरिकको दिन चर्या, आजको चर्चा

♦ श्रीधर लामिछाने

साना वच्चा बाहेक किशोर विद्यालय जान्छन। बिभिन्न खेलमा रमाउछन। इन्डोर होस् वा आउटडोर। त्यस बाहेक उनीहरुको समय विताउने साधन धेरै ठाउँ र क्षेत्र हुन्छन्। युवाहरु जागिर वा अर्थोपार्जनका विविध गतिविधिमा संलग्न हुन्छन। उनीहरुको दिन काट्ने मेलो र उपाय अनेक हुन्छ। सिनेमा, खेलकुद, लेखाइ पढाई फोनको बातचित, भोज भतेर अनेक अनेक हुन्छ। उनीहरुका साथिसंगति पनि धेरै हुन्छन। जब बुढेस काल लाग्छ तब मानिसलाई अनेक प्रकारका शारीरिक एबम मानसिक समस्याले घेर्न थाल्छ । संचार प्रबिधि नै पनि सहज उपलब्ध नहुने र उपलब्ध भए पनि प्राबिधिक ज्ञानको अभावको कारण अहिलेका मोबाइल. ट्याब्लेट, कम्प्युटर आदिको संचालन वा उपयोग पनि राम्रो संग गर्न नजान्नाले उनीहरु कठिनाइका साथ् समय विताई रहेका हुन्छन। अन्य आउटडोर गेम त परको कुरा हो। तास खेल्न जान्ने सम्मले आफ्नो समकालीन मन मिल्ने साथि पाए केहि समय त्यसमा समय विताउँछन्। जसको अभावको कारण धेरै ज्येष्ठ नागरिकहरु डिप्रेसनको शिकार भएका हुन्छन अनेक मानसिक समस्याले जेलिएका हुन्छन अनि कतिपय एक्लो निरस जीवन जिउन परेको कारण आत्महत्या सम्म गर्न पुगेका हुन्छन।

त्यसैले ज्येष्ठ नागरिकहरुले आफुलाई कसरी सशक्त राख्ने आफ्नो दिन चर्या कस्तो राख्ने भन्ने बारे बेलैमा सोच विचार गर्नु आवश्यक छ विशेष गरेर शहरी क्षेत्रमा हुने मानिसले। आफ्नो बुढेसकाल कसरी सशक्त राख्ने कसरी सक्रिय जीवन बिताउने जसले गर्दा अर्थपूर्ण जीवन बाँच्न सकियोस भन्ने विषयनै यो लेखको मुख्य उद्देश्य हो ।

त्यसकारण मैले यहां ज्येष्ठ नागरिकले कसरी सहज ढंगले समयको उपयोग गर्न सक्छन भनेर विचार गरें । त्यसरी हेर्दा थुप्रै कुरामा आफुलाई व्यस्त राख्न सक्ने ठाउँ देखें । मैले देखेको कुरा सबै लाइ सबै ठाउँमा सहज नहुन सक्छ । तर जसलाई जे सहज हुन्छ त्यसरीनै आफ्नो समयको उपयोग गर्नुहोस भन्ने उद्देश्यले केहि मनका कुरा र अनुभव यहाँ व्यक्त गर्न चाहन्छु । म चाहन्छु तपाइको समय असल तरिकाले सके अरुको पनि फाइदाका लागि बितोस सकिदैन भने पनि कम्तिमा आफु त सरल र सहज तरिकाले समयको उपयोग गर्नुहोस ताकी तपाइँ स्वस्थ्य, सुखी र सम्मानीत जीवन जिउन सक्नुहोस भन्ने नै हो ।

नेपालको कानुन अनुसार ६० वर्ष भन्दा माथिका उमेर समुहका मानिस लाइ ज्येष्ठ नागरिक भनिन्छ।  नेपालको कानुनले नै ६० वर्षमा नेपाली ज्येष्ठ नागरिक हुन्छ भनेर परिभाषा गरे पनि कोहि ५८ वर्षमा रिटायर्ड हुन्छन भने कोहि ६३ वर्षमा र कोहि ६५ वर्षमा । सरकारी परिभाषामा नै पनि एकरुपता छैन। त्यसरी नै ज्येष्ठनागरिकको परिभाषा हरेक देशले आ-आफ्नै सहजता अनुसार गरेका छन् ।

फेरी मेरो विचारमा बुढो हुने भनेको उमेरले हैन मानिसको शारीरिक अवस्थाले हो । किनभने उमेर ३०-३५ नै भए पनि यदि मानिस रोगि छ शारीरिक रूपमा कमजोर छ भने उ सिथिल, रुग्ण हुन्छ, उसमा निराशा नै मात्र जन्मन्छ । तर शारीरिक रूपमा तन्दुरुस्त छ भने सक्रिय, स्वस्थ र सम्मानित जीवन जिउन उमेरले केहि बाधा पुग्दैन । हाम्रा अगाडी हुनु भएका शताब्दी पुरुष सत्यमोहन जोशी, डाक्टर गौरीशंकर लाल दास, भैरब रिसाल लगायत सक्रिय सामाजिक जीवन बिताउदै आउनु भएका थुप्रै व्यक्तित्वहरु हुनुहुन्छ। उहाहरूलाई उमेरले बुढो वनाएको छैन। भर्खर मात्र दिबंगत हुनु भएका राष्ट्रकवि स्वर्गीय माधव प्रसाद घिमिरे अर्का व्यक्तित्व हुनुहुन्थ्यो जसले अन्तिम स्वास फेर्दा सम्म आफु सक्रिय रहेर साहित्य सृजनामा लागिरहनु भयो । राष्ट्रको साहित्यको निधिलाई मलजल गरिरहनु भयो । हामीलाई गौरब गर्ने काम गरिरहनुभयो । यस्ता ज्येष्ठ व्यक्तित्व जसले आफुलाई सक्रिय राखेर जीवनलाई सार्थक वनाई रहनुभएका कतिपय किसान, उद्योगी, व्यापारी, हरेक भौगोलिक क्षेत्रमा भेट्न सकिन्छ। तसर्थ मैले यहाँ केही अनुभवमा आधारित उपायहरु पस्कन खोजेको हुँ । हजुरहरुको आफ-आफ्नै उत्कृष्ट अनुभव हुन् सक्छन । मेरो प्रयासले कहिँ कतै कसैलाई अलिकति पनि सहयोग पुग्यो भने म आफुलाई धन्य सम्झनेछु।

सक्रियता :

हरेक ज्येष्ठ नागरिकले भरसक आफुलाई सक्रिय राखी राख्ने चेष्टा गर्नु पर्दछ । त्यसो भनेको के भने विहान सबेरै उठ्ने, नित्यकर्म गर्ने, योगा प्राणायाम र ध्यान गर्ने, हिँडडुल गर्ने, नियमित र निरन्तर गरिरहनु पर्दछ । फलामका औजार जति धारिलो भए पनि थन्क्याएर राखियो भने खिया लागेर काम नलाग्ने भुत्ते हुन थाल्छन । तर सधै प्रयोगमा ल्याइएका औजारहरु चम्किला र धारिला भै रहन्छन । धारिलो भै रहन अर्जाप्ने, धार लगाउने काम भनेको माथि उल्लेखित कुरा नै हुन् । त्यसैले आफुलाई सक्रिय राख्नुहोस् । दैनिक शारीरिक श्रम गर्न बाट पछी नपर्नुहोस् । चाहे त्यो परिवारको भात भान्छामा सहयोग गर्ने काम होस् वा खेतवारीको काम होस् । अथवा पशुपन्छीको हेरचाहमा होस् वा वालवालिकाको रेखदेखमा होस्। चाहे त्यो करेसावारीको काम होस् वा फूल गोड्ने काम होस् वा साथी भाइसंग खेल्ने नभए आफु एक्लै भएपनि शारीरिक अभ्यास गरिरहने। हुतराम बैद्य जो काठमाडौँको कुलीन परिवारमा जन्मेर पनि आफुलाई सदैब सक्रिय मात्र राख्नु भएन जीवनको अन्तसम्म पनि आम मानिसलाइ काम लाग्ने, देश लाइ लाभ पुग्ने काम गरिरहनु भयो । स्वर्गीय हुतराम बैद्य नेपालको पहिलो कृषि इन्जिनियर। उहाँको करेसावारी घरको आँगनमा कम्मर सम्म आउने बेन्च जस्तो ठाउँ जहा काम गर्न निहुरन पर्दैन थियो । त्यसमा माटो भरेको थियो, मलजल गर्न रोप्न गोडमेल गर्न सहज थियो त्यसैले फुर्सद भयो कि त्यो करेसावारीमा हराउने गर्नु हुन्थ्यो।

मानसिक रूपमा सक्रिय रहन सदा प्राणायाम गर्नु होस्

प्राणायाम कठिन खालको गर्नुपर्छ भन्ने छैन सहज खालका भस्त्रिका, अनुलोम विलोम  वा अन्य कुनै जसले मानिसलाइ मानसिक खुराकी दिईरहन्छ । सामाजिक रुपममा सक्रियताका साथ् छलफल चिन्तन मनन गर्ने सभा बैठक आदिमा सहभागी भैराख्ने गर्नुहोस।

गाउ टोल समाजको क्रियाकलापमा आफु सक्रिय र अर्थपूर्ण उपस्थिति जनाउनुहोस। सामाजिक संगठन समुहमा सहभागी हुनुहोस। अरुको तर्क ध्यान पुर्वक सुन्नुहोस र आफ्नो विचार सकारात्मक र सृजनात्मक ढंगले प्रस्तुत गर्दै गर्नुहोस्। आफ्नो तर्क पेश गर्न नछोडनुहोस । यदि सभा बैठकमा जादै हुनुहुन्छ भने त्यसको उद्देश्य र विषयवस्तु बारे जानकारी राख्नुहोस विषय वारे आत्म चिन्तन गर्नु होस् र आफ्नो धारणा सहित उपस्थित हुनुहोस। त्यसो गर्दा तपाइको तर्क शक्ति बढछ  र अन्य सहभागीहरु तपाइले भनेको कुरा सुन्न बाध्य हुन्छन। त्यसो हुँदा तपाइको विचारले महत्व पाउन सक्छ। निर्णयमा सहयोग पुग्न सक्छ।

सधै सभा बैठक हुदैनन्, नहुँदा चेस, लुडो, बाघचाल आदि दिमाग लाइ चुनौती दिने खेल खेल्ने गर्नु होस् । पुस्तक अध्ययन गर्नुहोस । कम्पुटरको प्रयोग गर्ने सिप सिक्नुहोस र प्राबिधिक विषयहरुमा आफुलाई पनि समयानुकुल विकसित गर्दै गर्नुहोस । लेख रचना लेख्ने वानीको विकास गर्नुहोस । नभए अनुभव लेख्ने गर्नुहोस। कम्तिमा दैनिंक डायरी मात्रै भए पनि लेख्नु होस्। आफुले लेखेको सामग्री अरुलाई सुनाउनु होस्। सुन्ने मानिस नभए आफै भए पनि पढ्नु होस्। सुधार गर्नु पर्ने लागेमा सुधार गर्नुहोस।

उमेर बढ्दै जाँदा टाढाका साथीभाई टाढा नै हुदै जान्छन त्यसैले आफ्नो गाउँ टोल छिमेकमा भएका आफ्नो उमेर समुहका मानिससंग अझ बढी हिमचिम बढाउनुहोस । सक्दो आफु जानुहोस आफु जान नसक्ने समयमा पनि उनीहरुलाई आउने बातावरण बनाउनुहोस् । त्यसरी आउजाउ गर्न नमिल्ने र नसकिने अवस्थामा टेलिफोन गर्नु होस्। इमेल लेख्नुहोस । ति कुरा आफुबाट सम्भव नभए चिठी लेख्नुहोस। साथी समुह अभिवृद्धि गर्नुहोस। नत्र एक्लोपन बढ्दै जान्छ ।

अध्यात्मिक चिन्तन गर्नु होस्। ध्यानका विधिहरु सिक्नुहोस। आफुलाई प्रभावकारी लागेको विधिको अवलम्बन गर्नु होस् । अहिले ध्यान सिकाउने असल मन भएका गुरुहरु थुप्रै हुनुहुन्छ उहांहरु संग सिक्नुहोस। त्यस्ता गुरुहरु उपलब्ध हुन नसकेमा युट्युब को सहाराले पनि ध्यान सिक्न मद्दत पुग्न सक्छ ।

अर्थपूर्ण सहभागिता:

वास्तबमा भन्ने हो भने बुढ्यौली अवस्थामा विस्तारै आय स्रोत घट्दै वा सुक्दै जाने र खर्चको क्षेत्र भने बढ्दै जाने रहेछ। जब जब मानिस कम्जोर हुन थाल्छ तब तब रोजगारी नपाउने हुदोरहेछ । खर्च किन पनि बढ्छ भने औषधी, उपचार, दान भेटी र दक्षिणा, उपहार, मठमन्दिर घुमघाम आदि आदि। तर नियमित तलब आउदैन । तलब नभएर आफ्नै घरको काम गर्नेलाइ त झन् मुस्किल । खेती किसानी गर्नेको त झन् कुरै नगरौ। हाम्रो जस्तो बेरोजगारी को समस्या भएको मुलुकमा छिट्टै निवृत्त गराइन्छ त्यसले गर्दा मानसिक रूपमा पनि विछिप्त हुन्छ । त्यसैले इच्छा र शारीरिक क्षमता हुन्जेल र पाउदा सम्म हरेक व्यक्तिले अर्थोपार्जनको काम लाइ निरन्तरता दिंदा नै सहज हुन्छ । नत्र भने पर निर्भर हुनु पर्छ । उखानले भने झैं खटाएको मानु कतिन्जेल खानु हुन्छ । अनि खटाएर पनि दिन सक्ने सन्तान हुदा त ठिकै छ तर सन्तान आफै बेरोजगार छ भने त जीवन गुजार्न कठिन हुन्छ । त्यसकारण जागिर बाट निवृत्त भए पछी वा अर्थोपार्जन गर्ने अवस्था बाट निवृत्त भए पछी पनि केहि न केहि अर्थोपार्जन गर्न सके आत्मनिर्भर भएर जिबन सारपूर्ण बनाउन सकिन्न्छ। या आफुलाई चाहिने न्युनतम रकम संचित गर्न सक्दा आर्थिक स्वतन्त्रता हुन्छ । अन्यथा किनिदिए खान लाउन पाउने हुन्छ नभए मन कुड्याउनु पर्ने र नमिठो मानेर वा नकचरो भएर वस्नु पर्छ जसले गर्दा फेरी पनि हिनता बोध हुनबाट बच्न मुस्किल पर्छ ।

त्यसो गर्न नसकेमा सन्तानलाइ अर्थोपार्जनको काममा जान सहज बातावरण बनाइदिने गर्नु पर्छ जस्तै वच्चाहरुको रेख देख गरेर , करेसा बारी मा काम गरेर, फूल बगैंचा गोडमेल गरेर, भान्साको काम मा सहयोग गरेर पनि सन्तानको आयआर्जनमा प्रत्यक्ष वा परोक्ष सहयोग गर्न सकिन्छ ।

प्रेमपूर्ण वातावरणको सिर्जना :-

जमाना पहिले जस्तो अहिले छैन । आर्थिक रूपमा निकै चुनौती पूर्ण अवस्था नयाँ पिढीले भोग्नु पर्ने बाध्यता छ । तसर्थ ज्येष्ठ नागरिकहरुको बिगतको अनुभवमा प्रेमपूर्ण हुने। हरेक काम अझ श्रद्धापूर्ण ढंगले पुरा गर्ने । मिठो बोल्ने, नरम बोल्ने । परिवार प्रति आफन्त प्रति सद्भाव राख्ने । चाहे छोरा हुन् वा छोरी नातिनी होस् वा नाति , बुहारी होस् वा ज्वाँई असल कार्य गर्दा नै आफु लाइ सन्तोष मिल्छ । असल काम गर्दा अरुले यसो भन्ला उसो भन्ला भनेर शंका गर्ने मैले जति गरे पनि केहि हुने हैन क्यारे भन्ने गर्नु हुदैन। तपाइँ हाम्रो क्रियाकलाप जहिले पनि जिम्मेवारी पुर्वक असल मनसायले पुरा गर्नुपर्छ । आफुले जानेको सिप आफ्ना घरपरिवार र छिमेकीमा बाड्ने गर्नुपर्छ । हामीले असल गर्दा अरुले पनि असल नै सोचेको हुन्छ । नराम्रो सोच्ने काम अरुलाई नै छोडी दिनुपर्छ । अरुलाई नै जिम्मा दिनुपर्छ त्यसको परिणाम पनि अरुको नै हुन्छ ।  अरुले गरि दिएनन् हैन आफुले सिर्जना गर्ने हो। घर रमाइलो पार्ने वा नरमाइलो पार्ने जिम्मेवारी हाम्रो पनि हो भन्ने सोच्नुपर्छ । अलिकति दु:ख अलिकति कष्ट अलिकति पिडा सहने बानीको विकास गरिएन भने सानो सानो कुराले पनि दुखाइ रहन्छ।

खान पान र व्यवस्थापन:-  

उमेर ढल्दै जाँदा दाँत झर्दै जान्छन नझरे पनि कमजोर हुन थाल्छन । पेटको पाचन शक्ति कमजोर हुँदै जान सक्छ । त्यसैले खानपान ताजा, हल्का र पचाउन सजिलो हुने भोजन रोज्नु उत्तम हुन्छ । जस्तै आफैले घरमा बनाएको सर्बोत्तम सातु जुन पौषण तत्व पूर्ण भएको हुन्छ । सरल जीवन यापन गर्ने । गरिष्ट हुने कुरा जस्तै माछा मासु, अण्डा अलि विचार गरेर खानु पर्छ । खाए पनि पनि थोरै, कम नून राखेको मरमसला को कम प्रयोग भएको राम्रो पाकेको खाने कुरा खानु पर्छ । यहाँ मेरो आमाले भन्नु भएको कुरा व्यवहार र प्रासंगिक हुन्छ । पहिले पहिले आमालाइ जाउलो मन पर्दैनथ्यो । भुटेको मकै, भटमास, खट्टे, मन पर्थ्यो। त्यतिबेला आमाले जाउलो पनि खाने होर? त्यो त बिरामीले खाने कुरा पो त भन्नु हुन्थ्यो । तर विस्तारै उमेर वित्दै जाँदा खाजा के खाने आमा भनेर सोध्दा जाउलो बनाइ देउ न मलाई त बरु त्यो नै ठिक लाग्छ । हो यस्तै । फेरी खाने कुरा पेट भर्न मात्र नभएर पोषणयुक्त पनि हुनु पर्छ । पौष्टिक खान महँगो नै हुनुपर्छ भन्ने चाँही छैन । कार्बोहाईडेट कम भएको तर प्रोटिन बढी हुने सातु दुध वा तातो पानीमा मिसाएर नुन वा चिनी थोरै राखेर खाएमा पौष्टिक र पाच्य दुवै हुन् सक्छ ।

अर्को कुरा घरमा श्रद्वापूर्वक बनाएर खान दिएको कुरामा धेरै गन गन गर्नु हुदैन । त्यसो गरेमा परिवारको नै पनि घृणाको पात्र हुनु पर्न सक्छ । बरु आहा कस्तो मिठो बनाएको रैछ भन्ने र बनाउने प्रति धन्यवाद ज्ञापन गर्दा उनीहरु खुसि हुन्छन र अर्को समय अझ श्रद्धा भावले बनाएर खुवाउछन ।

अर्को ख्याल गर्नु पर्ने कुरा के भने एकै पटक धेरै हैन त्यति नै खाना धेरै पटकमा खाने तर एकै पटकमा पेट चर्कने गरेर नखाने। आफु कुनै मधुमेह जस्ता रोगबाट पिडित छ भने त अझै होसियारी पुर्वक चिकित्सकको सल्लाह बमोजिम खानपानको व्यवस्थापन गर्नु पर्छ। यदि इन्न्सुलिन लिने गरेको छ भने समयमा इन्सुलिन लिने र समयमा नै खाना खाइ हाल्नुपर्छ । नत्र जीवनको निमित्त त्यस्ता खाना प्रत्युत्पादक हुन सक्छ । नुन, चिल्लो मसलायुक्त र गुलियो खाने कुरा कसैका निमित्त पनि त्यति हितकर हुदैन। झन् दिर्घ समस्या भएकाहरुले त विशेष विचार गर्नुपर्छ ।

वस्ने सुत्ने ठाउ पनि सरल सहज आउजाउ गर्न सकिने हुनुपर्छ । ओछ्यान धेरै अग्लो, नरम धेरै माथिको चोटाको कोठा अध्यारो कोठा हुनु हुदैन । बरु उज्यालो कोठा, सफा कोठा, भुइँ तल्लाको कोठा, शौचालय नजिक भएको कोठा आवश्यक हुन्छ । सके अट्याच बाथरूम भएको नसके नजिक शौचालय भएको ठाँउ रोज्नुपर्छ । कोठामा क्रस भेन्टिलेटर भएको अति उपयुक्त हुन्छ । अर्थात् हावा खेल्ने ठाउँ हुनु वेस हुन्छ । यदि आफैले घर बनाउदै हुनुन्छ भने यी सबै कुरा लाइ ख्याल गरेर बनाउनुहोस् ।  नभएपनि उपलब्ध कोठा मध्ये माथिका विषयलाई ध्यान राखेर आफ्नो व्यवस्थापन गर्नु राम्रोहुन्छ ।

स्वास्थ्य को ख्याल:-

मलाई त केहि भएको छैन मैले जे जे खाए पनि हुन्छ जति खाए पनि हुन्छ भनेर सोच्ने मानिस पनि हुन्छन्। अहिले ठिक्क खाएर पछी सम्म खान मिल्ने हुने कि ? अहिले वास्ता नगरेर छिट्टै खाने कुरा बाट बन्चित हुने त्यो तपाइँ हाम्रो हातमा छ । हरेक खाने कुरा सोची विचार गरि ठिक­ ठिक समयमा ठिक ठिक मात्रामा समय समयमा खानाले राम्रो हुनेरहेछ । भोज भतेर मा गएर स्वास्थ्य नै तहस तहस हुने गरि खाँदा त धेरै युवा नै पनि विरामी सम्म परेको सुनिन्छ देखिन्छ बुढाबुढीको त के कुरा । तसर्थ के खाने के नखाने , के के खाँदा आफुलाई ठिक हुन्छ विचार गर्नु होस् र त्यसै अनुसार वानी वसाल्नु होस् । फेरी विशेषज्ञ के भन्छन भने ३० वर्षको उमेर सम्ममा आफ्नो शरीरलाई के के कसरी खादा ठिक हुन्छ भन्ने कुरा थाहा भैसक्छ । थाहा भए पछी त्यसै अनुसार आफ्नो बानि व्यवहार गर्नु उपयुक्त हुन्छ । हैन भने अरुको लहै लहैमा लाग्दा स्वास्थ्यमा धेरै नोक्सान पुगि सक्छ। जस्तो कसैलाई लसुन ले फाइदा गर्छ कसैलाई त्यहि लसुन ले बेफाइदा पनि गर्न सक्छ । त्यस्तै कसैलाई अदुवाले अति राम्रो हुन्छ भन्छन तर अदुवाले नराम्रो पनि गर्न सक्छ । यी सबै कुरा बुढेसकालमा विचार गरेर सेवन गर्ने नगर्ने निर्णय लिनु वेस हुन्छ ।

नियमित स्वास्थ्य परिक्षण गराउनुहोस् । डाक्टरले दिएको सल्लाह अनुसार औषधिको सेवन गर्नुहोस्। कुनै नियमित औषधि सेवन गर्ने गर्नुहुन्छ भने कुनै छाक पनि औषधि नटुटाई सेवन गर्नु होस्। कुनै औषधि बजारमा भनेको बखत नपाइन सक्छ त्यसैले अलि स्टक राख्नुहोसयदि आफुमा सुगर, प्रेसर, पार्किन्सन, दम आदी रोग छन् भने होसियारी पुर्वक औषधि राखि राख्ने र समयमै खाने गर्नु पर्छ । अल्जाईमर रोग पिडितको त छुट्टै स्याहारकर्ता कै आवश्यकता हुन्छ ।  घरपरिवारले नै स्याहार गर्ने भए त्यो रोग सम्बन्धि तालिम लिएर सेवा गर्दा अझ सहज हुन्छ। बुढ्यौलीमा आराम पनि उत्तिकै आवश्यक कुरा हो त्यसैले कम्तिमा ६-८ घण्टा सुत्नु होस् शरीरको आवश्यकता अनुसार आराम गर्नु होस् ।

सुन्दरता:-

यहाँ सुन्दरता रूपको मात्र हैन आफ्नो वरिपरिको परिवेशलाई समेत भनेको हो । आफु वस्ने ठाउ, सुत्ने ओछ्यान सवै सफा चटक्क र मिलेको देख्दै वसौँ वसौँ लाग्ने हुनुपर्छ । लगाउने कपडा थोत्रो भएर केहि हुँदैन सफा हुनुपर्छ । अनि कोठामा धेरै समान थुपारेर हिड्न; बाहिर भित्र गर्न अप्ठेरो पर्ने खाले हुनुहुदैन । अनि शारीरिक सुन्दरता पनि सकेसम्म कायम गर्दै वेस। हामीलाई थाहा छ फोहोर कसैलाई मन पर्दैन । त्यसैले बाहिर पनि मन भित्र पनि सुन्दर विचार भावना र व्यवहार हुनु पर्छ । त्यो घरमा जो कोहि आएपनि मान्छे लाइ भेटौं भेटौ लाग्ने वसौँ बसौं लाग्ने  खालको खालको हुनुपर्छ। वानी व्यवहार उत्तम सहज सरल र रमाइलो गर्ने गराउने भइयो भने रमाइलो संग समय व्यतित गर्न सकिछ। प्यारो भाषाको प्रयोग माथि भने जस्तै मिठो अनि मधुर हुनु जरुरि छ ।   

स्वावलम्वन:-

सके सम्म स्वाबलम्बी बन्नु होस् । परनिर्भरता बाट मुक्त हुनुहोस । हरेक काम म गर्न सक्दिन हैन मेरो काम म गर्न सक्छु र गर्छु भनेर हिम्मत बाँध्नु होस् । मेरो आमा सकभर लट्ठीको सहारा नलिन खोज्नु हुन्थ्यो र ७९ वर्ष सम्म त्यो पनि विभिन्न रोगले सताईरहँदा पनि लठ्ठी नलिई नै हिड्नु भयो मेरो अनुनय विनयको बाबजुद पनि। सारै गाह्रो हुँदै जादा बरु बारीको पर्खालको साहारामा हिड्नु भयो तर लठ्ठी टेक्न मान्नु भएन । मैले लट्ठीको सहारा नलिनु भन्ने अर्थमा भनेको हैन । आत्मा बल पनि महत्वपूर्ण हुन्छ। तसर्थ आफ्नो निजि मामलाका कामहरु मात्र गर्ने हैन घर परिवारको काममा समेत सहयोगी बन्न सकियो भने मात्र अरुको पनि माया र सम्मान पाउन सकिन्छ भन्न मात्र खोजेको हो यहाँ।

आवश्यक ठाउँमा सहयोग:

सक्ने र क्षमता ले भ्याए सम्म सहयोगी हात बढाउनुहोस। त्यो आर्थिक नै हुनुपर्छ भन्ने छैन । अपांग टुहुरा दिन्हींन साह्रै अप्ठ्यारोमा परेका मानिसलाइ सहयोग गर्नुहोस जसबाट तपाईं पनि सन्तोषको स्वास फेर्न सक्नु हुन्छ । तर त्यस्तालाई सहयोग नगर्नुहोस जो काम ठग्नको लागि मागेर हिडछन्हुनत “उसको जत्ति धेरै सम्पत्ति भएको भए म त सुतीसुती खान्थें” भन्ने संस्कार भएका हामीत्यस्ता कुसंस्कार छोड्नु पर्छ। छोड्न प्रोत्साहन गर्नु पर्छ । जो काम गर्न सक्छन तर काम पाएका छैनन् भने बरु काम वा रोजगारी मिलाई दिन मद्दत गरौं। भन्छन नि दांन सुपात्र मा मात्र गर्नु पर्छ ।

पारिवारिक वातावरण:

ज्येष्ठ नागरिक को शारीरिक, मानसिक र आध्यात्मिक स्वास्थ्यलाई सक्रिय स्वास्थ्य र सम्मानित बनाउने काम मा सबै भन्दा बढी परिवार जिम्मेवार हुन्छ।

कतिपय परिवारले माया गरेर अब तपाई बुढो हुनुभयो, काम गर्न सक्नु हुन्न, अब तपाई त अर्काले दिएको खाने आनन्दले वस्ने हो; यता उता लखर लखर गरिरहने हैन, बुढाबुढी भएर के घुम्न जाने होला बरु घरमै गम्लंग सिरक ओडेर सुत्नु नि आदि आदि भन्ने गरेको सुनिन्छ । त्यस्तो हैन, बरु के चाँही हो भने बुढाबुढीले अल्छी गरेर जान नखोजे पनि युवा पिँढीहरुले बूढाबूढी लाइ सक्रिय हुन प्रोतसाहन गर्ने गर्नुपर्छ। सकेको मात्र काम गर्नु होस् नसकेको गर्दै नगर्नोस, जान सक्ने ठाउमा जानु होस्, गाउँ समाजमा आफुले सकेको सहयोग गर्नु होस्। पारिवारिक काममा- तरकारी केलाउने, सानातिना लुगा धुने, केटाकेटी खेलाउने, गाउँ टोलमा डुल्ने, मठमन्दिर जाने सबै काममा प्रोत्साहन गर्नु पर्छ । बाख्रा पाठा, गाइ भैसी लाइ घास पराल हालिदिने आदि गर्नु राम्रै हुन्छ । मैले मेरी ७८-७९ वर्षकी आमालाई पनि आमा तपाइँ र म भएर फर्सीको मुन्टा, रायोको साग केलाउ भन्ने गर्थें। कहिले काहीँ रेस्टुरेण्टमा गएर खान खाउँ भन्थे । आमा यसो भनेर संगै लिएर जाँदा खुशी हुनुहुन्थ्यो ।

आमाको नजिक बसेर पत्र पत्रीका पढ्दा के भएछ रे भन भन भन्नु हुन्थ्यो , चासो लिनुहुन्थ्यो । आफ्नो राय पनि दिनु हुन्थ्यो। आमाका पुराना कथा व्यथा सुन्दा बडो खुसीले सुनाउनु हुन्थ्यो। विरामी भएको बेलामा पनि आफ्नो अनुभव सुनाउन खुब मन गर्नु हुन्थ्यो मेरी आमा। परिवारले बेलामा उपचार गराइदिने, औषधी खाए नखाएको सोधी दिने, औषधीले कस्तो प्रभाव परिरहेको छ सोध्ने, सकारात्मक भए ठिक भयो नकारात्मक भए बेलैमा होस् गरेर डाक्टरकहाँ लैजान पाइन्छ र उपयुक्त उपचार हुन्छ । जात्रा, मठ-मन्दिर, शहर वजार लैजाने । गर्दा नै मेरी आमा खुशी हुनुहुन्थ्यो । दसैंको बेला देबीको पिठहरू लगि दे भन्नुहुन्थ्यो । मलाइ पनि आमालाई लिएर जान पाउदा खुसि लाग्थ्यो। हामी कति पटक मोटर साइकलमा बसेर नवदुर्गा मन्दिर, मैतीदेवी, गुहेश्वरी, संकटा, भद्रकाली, महांकाल जान्थ्यौ हरेक वर्ष कम्तिमा ३ वटा शक्ति पिठ जाने गर्नु हुन्थ्यो । संगै गयो मन्दिर दर्शन गर्यो हलुवा पुरी वा जेरी स्वारी खाने चिया खाने यस्तै यस्तैमा खुब रमाउनु हुन्थ्यो ।

अनि धेरै जसो ज्येष्ठ नागरिकहरुको चाहना के हुन्छ भने साँझको खाना संगै खाउ। साँझ पख एक क्षण भए पनि घरको सर-सल्लाह संगै वसेर गरौ भन्ने चाहना हुन्छ। महत्वपूर्ण निर्णय गर्दा ज्येष्ठ नागरिक लाइ समेट्दै महत्व दिए झैं लाग्छ नत्र आफु फाल्तु भएछु जस्तो लाग्दछ। आफु लाइ एक्लो महशुस हुन् थाल्छ।

ज्येष्ठ नागरिकलाई किन पैसा चाहिन्छ र खान लाउँन दिएकै छ किन चायियो भन्ने पनि थुप्रै हुन्छन। आफै आय आर्जन गर्छन वा निवृत्तिभरणको रकम छ पेन्सन आफै बुझेर ल्याउँछन र खर्च गर्छन भने त ठिकै छ नत्र उनीहरुको पकेटमा केहि न केहि रकम राखी दिनु पर्छ जसले गर्दा उनीहरुलाई केहि खान, लाउँन मन लाग्दा स्वतन्त्रता पुर्वक खर्च गर्न पाउछन । अझ त्यो भन्दा बढी कहिलेकाहीँ आकस्मिक खर्च समेत नहुदा उनीहरु कति पटक बसका सहचालक बाट लज्जित हुनु परेको र मैले नै खर्च हाली दिएको पनि छु। यस्तो अवस्थामा उनीहरु जिउदो मुर्दा भएँ म आज भन्ने गर्छन। आफ्नो आत्म सम्मानमा ठेस पुगेको महसुस गर्छन । तसर्थ युवा पिँढी बाट संचालित परिवारका सदस्यले बुढाबुढीको यस्तो बेइज्जत हुने अवस्था नआओस भन्नको निमित्त विचार पुगोस भनेको मात्र हो ।

समाज:-

आजकल बुढाबुढीलाई एकदम सम्मानका साथ् हेर्ने पनि सन्तान छन् तर एकदम अपहेलना गरेर हेर्ने, हेप्ने मात्रै हैन दुर्व्यवहार गर्ने पनि मानिस भेटिन्छन । यस्तो हुनुको पछाडी न त स्कूलमा नैतिक शिक्षा पढाई हुन्छ न त घरघरमा वालबालिका लाइ ज्येष्ठ नागरिक को हुन् यिनीहरु संग कस्तो व्यवहार गर्नु पर्छ भनेर सिकाइन्छ । बरु अहिले त केटा केटि लाइ एकातिर पन्छाएर आफु मोबाइलमा फेसबुक, टिक टक गर्ने, फिल्म हेर्ने, गेम खेल्ने पो गर्ने गरेको देखिन्छ । आफ्ना सन्तानलाई असल शिक्षा दिने, असल वानी व्यवहार सिकाउने  त कता हो कता । त्यसैले समाजले घरघरमा वच्चा लाइ असल शिक्षादिक्षा दिने बुढाबुढी प्रति के कसो गर्नु पर्ने भन्ने कुरा सिकाउनु जरुरि छ । आफ्ना वच्चाले  बाबु आमा बाट फोन खोसेर लग्दा अनि नयाँ नयाँ फिल्म, गेम खेलेको देखेर मख्ख पर्छन। यो बिग्रिने ताल हो। यस्तो कुराले वच्चाको अनुशासन मात्र हैन मानसिक र शारीरिक विकास पनि उचित मात्रामा हुन सक्दैन। त्यसैले समाजले अब त टोल टोल मा एउटा वाल विकास केन्द्र खोलेर पायक पर्ने ठाउँमा वच्चा लाइ पढ्न लेखन र असल शिक्षा दिन शुरु गर्नु पर्छ । असल सहजकर्ता राखेर उनीहरु लाइ परिचालन गर्नु पर्छ । बरु सहजकर्ता लाइ नै सहि तालिम भने दिनु पर्छ । यस्ता काममा सक्षम ज्येष्ठ नागरिकलाई नै परिचालन गर्नु पर्छ । यस्तो कार्यक्रम अभियानको रूपमा चलाए धेरै ठुलो दोहोरो उपलब्धि नै हुने थियो ।

बुढाबुढीको निमित्त पाउने सेवा सुविधा बारे धेरैलाई जानकारी नहुन सक्छ । त्यस्तो सेवा सुबिधाको जानकारी समयमा दिनु पर्छ । उनीहरु आफै अशक्त छन् भने उनका सन्तान जिम्मेवार व्यक्ति लाइ जानकारी दिनु पर्छ ।

यो त एउटा पाटो मात्र हो। समाजको हर व्यक्तिले ज्येष्ठ नागरिक हुनु पर्ने प्राकृतिक नियम हो यो अवस्था लाइ सहज वनाउन हामी हरेक मानिसको जिम्मेवारी छ भन्ने बुझेर व्यवहार गर्नु पर्छ । ज्येष्ठ नागरिकलाई सक्रिय, स्वस्थ्य र सम्मानित राख्ने जिम्मेवारी समाजका हरेक नागरिकको हो भनेर बुझ्ने बुझाउने गर्नु आवश्यक छ। जसरि युवाको लागि आजकाल पिकनिक आयोजना गर्ने , खेलकुद, पार्क, योगा केन्द्र, पुस्तकालय, कभर्ड हल बनाउने गरिएको छ यो राम्रो कुरा हो । स्वस्थ्य नागरिक सिर्जना गर्न त्यस्तो कार्यक्रम अति महत्वपूर्ण छ । त्यसै गरेर वालवालिका र बुढाबुढीको निमित्त पनि कार्यक्रम बनाएर लागु गर्नु आवश्यक छ । अर्को विचार गर्नु पर्ने पक्ष के पनि छ भने पहिले बनेका र अहिले बन्दै गरेका भौतिक संरचना, पार्क, सेवा कार्यालयहरु ज्येष्ठ नागरिक र अपाङ्ग मैत्री छैनन् । त्यसको लागि पनि समाजले उपयुक्त पहलकदमी लिनु जरुरि छ । समाजको विकासमा यिनिहरूले पनि ठुलो भूमिका निर्वाह गर्न सक्छन भनेर उपयुक्त जिम्मेवारी दिनु आवश्यक छ । त्यसो भएमा अबको १०-१५ वर्षमा सकारात्मक नतिजा आउन शुरु हुनेछ । विकसित मुलुकहरुमा ज्येष्ठ नागरिकहरुको लागि विशेष स्थान छ र त सबै खाले सेवा सुबिधा र संरचना ज्येष्ठ नागरिक मैत्रीमुखी बनेका छन् ।

ज्येष्ठ नागरिकहरूको पक्षमा वकालत गर्ने काम समाजले गर्नु पर्छ । किनकि ज्येष्ठ नागरिक आफैले भन्न सक्दैनन् वा भन्नु उपयुक्त हुदैन । वरु वेसहारा कोहि नभएका केहि नभएका ज्येष्ठ नागरिकहरूको लागि समेत उनीहरुले राज्यको ध्यान खिच्न सक्छन र खिच्नु पर्छ ।

त्यस्तै ज्येष्ठ नागरिकको लागि भएको कानुनी प्रावधानहरुको व्यवस्था निर्माण , परिमार्जन र  खारेज गर्न अहम भूमिका पनि समाजले नै खेल्न सक्छ। तर अध्ययन भने गहिरो संग गर्नुपर्छ ।

राज्य को भूमिका:-

कानुनी प्रावधान निर्माण, परिमार्जन र खारेज गर्ने, उपयुक्त कानुनलाई लागू गर्ने । हरेक ज्येष्ठ नागरिकहरुको लेखोट (रेकर्ड) तयार पार्ने परिमार्जन गर्ने र केन्द्रीय सूचना संग समन्वय गरि केन्द्रिय संजालमा राख्ने  र अध्यावधिक गर्ने गराउने देशव्यापी गराउनु पर्छ । भैरहेका प्रावधानहरुको मुल्यांकन गर्ने लागु गर्ने । लाभग्राही सम्म सूचना पुर्‍याउने। सेवा दाता संस्थाको सेवा को प्रभाबकारी मुल्यांकन गर्ने गराउने। हकवाला समुदायको राय सल्लाह र सुझाव लिने ।

सेवादाता संस्थाको प्राबिधिक र प्रशासनिक जनशक्तिलाई तालिम दिई सेवा लाइ चुस्त र प्रभावकारी बनाउने काम राज्यले गर्नु पर्दछ । ज्येष्ठ नागरिक मैत्रिमुखी वातावरण सिर्जना गर्ने मुख्य जिम्मेवारी राज्यको हो ।

आजको दुनियाँमा ज्येष्ठ नागरिकहरुले आफुलाई समय सापेक्ष बनाउदै सकेसम्म सक्रिय जीवनयापन गर्नुपर्छ त्यसको लागि एक्ला एक्लै भन्दा सामुहिक प्रयास जरुरि छ र व्यक्तिगत रूपमा आफु र आफ्नो परिवार लाइ सुखी राखी राख्न ठुलो भूमिका निर्वाह गर्न सक्छन भन्ने नै हो । तर असक्तहरुको हकमा भने राज्य, समाज र परिवारले अहम भूमिका खेल्नु अति आवश्यक छ। त्यस्ता समाज मध्ये एउटा हो राष्ट्रिय ज्येष्ठ नागरिक महासंघ जसले लामो समय देखि अहम भूमिका खेल्दै आएको छ। तर पर्याप्त भने छैन ।

भवतु शब्ब मङ्गलम ।

(लेखक ज्येष्ठ नागरिक महासंघका केन्द्रिय सदस्य तथा अल्जाईमर विस्मृती समाज, अस्मि, नेपानका सदस्य हुनुहुन्छ।)

 

 

 

 

प्रकाशित : २०७७ माघ १७ गते १०:४४
Copyright © 21 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI