म्यान्मारको सेनालाई अमेरिकी राष्ट्रपति बाइडेनकाे कडा चेतावनी

NAWALPUR TIMES
प्रकाशित : २०७७ माघ २० गते ९:५२
म्यान्मारको सेनालाई अमेरिकी राष्ट्रपति बाइडेनकाे कडा चेतावनी

एजेन्सी, २० माघ । म्यानमारमा सेनाले सत्ता हातमा लिएपछि अहिले संसारकाे ध्यान त्यतै खिचिएकाे छ । विभिन्न देशले सेनाकाे उक्त कदमकाे विराेध गरिरहेका छन् । यसै क्रममा अमेरिकी राष्ट्रपति जो बाइडेनले पनि म्यान्मारको सेनाले गलत गरिरहेकाे भन्दै चेतावनी दिएका छन् ।

बाइडेनले म्यानमारकी प्रजातन्त्रवादी नेतृ आङ सान सू चीसहितका अन्य नेताहरूलाई गिरफ्तार गरेर देशको शासन सत्ता हातमा लिएको भन्दै त्यहाँकाे सेनाविरुद्ध कदम चालिने चेतावनी दिएका हुन् । उनले म्यान्मारको सेनालाई तत्काल सत्ता छोड्न भनेका छन् । अन्यथा नभए अमेरिकाले “उचित कदम” चाल्ने चेतावनी दिएका छन् ।

 

बिबिसीका अनुसार अमेरिकी सिनेटका वरिष्ठ रिपब्लिकन मिच मक्कोनेलले पनि नेतृ सू चीको गिरफ्तारीलाई “भयभीत पार्ने” हर्कत भनी व्याख्या गरेका छन् ।

म्यानमारमा राष्ट्रपति लगायतका उच्च नेताहरू सेनाले नियन्त्रणमा लिएर एकवर्षे संकटकाल घाेषणा गरेपछि संयुक्त राष्ट्रसंघको ध्यान पनि त्यतै माेडिएकाे छ । राष्ट्रसंघकाे सुरक्षा परिषद्ले  म्यानमारमा भएको ‘कू’बारे छलफल गर्न मङ्गलवार  (आज) आपतकालीन बैठक बाेलाएकाे  छ ।

म्यानमारकाे पछिल्लाे घटनाकाे युरोपेली संघका अतिरिक्त अस्ट्रेलिया, भारत, जापान, नेपाल लगायत देशले विराेध जनाउँदै प्रजातन्त्र फिर्ता गर्न अनुराेध गरेका छन् ।

प्रकाशित : २०७७ माघ २० गते ९:५२
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI