शिक्षाको अधिकारबारे विनयी त्रिवेणीमा गाउँपालिकामा अन्तरक्रिया

NAWALPUR TIMES
प्रकाशित : २०७७ माघ २१ गते १८:५७
शिक्षाको अधिकारबारे विनयी त्रिवेणीमा गाउँपालिकामा अन्तरक्रिया

चोरमारा । विनयी त्रिवेणी गाउँपालिकाका अध्यक्ष डम्बर बहादुर जिसीले शैक्षिक क्षेत्रको बिकासको लागि गाउँपालिका गम्भीर रहेको बताउनु भएको छ । गाउँपालिका भित्रका सबैलाई अनिवार्य र निशुल्क शिक्षाको पहुँच स्थापनाको लागि गाउँपालिका प्रतिवद्ध रहेको भन्दै उहाँले गाउँपालिका मानव बिकास सुचांकको प्रमुख मध्ये रहेको शैक्षिक क्षेत्रको बिकासको लागि प्रतिवद्ध रहेको बताउनु भएको हो ।

इन्सेक गण्डकी प्रदेशको आयोजनामा भएको शिक्षाको अधिकारको विषयमा विनयी त्रिवेणी गाउँपालिकामा शिक्षक, अभिभावक र विद्यार्थी बिच झएको अर्न्तक्रिया कार्यत्रममा बोल्दै प्रमुख अतिथि जिसीले बजेट अभावमा दरबन्दी अनुसारको शिक्षक व्यवस्थापन गर्न नसकिए पनि विनियोजित बजेट अनुसारको कार्यक्रम बनाएर शैक्षिक गतिविधि अगाडी बढाएको बताउनु भयो ।

कोभिड–१९ को कारण प्रभावित शैक्षिक कार्यलाई पुनः नियमित गरिएको भन्दै उहाँले प्रधानमन्क्री स्वरोजगार कार्यत्रम मार्फत शिक्षित बेरोजगार युवाहरुलाई शैक्षिक गतिविधिमा परिचालन गर्ने बिषय छलफल भइरहेको जानकारी दिनुभयो ।

गाउँपालिका उपाध्यक्ष मिनाकुमारी रानाले विद्यालय शिक्षामा विद्यार्थी आर्कषित गर्ने कार्यक्रमहरु दिवा खाजा, छात्राहरुको लागि सेनेटरी प्याडको व्यवस्था गरिएको बताउनुभयो ।

विनयीत्रिवेणी गाउँपालिका २ का वडा अध्यक्ष विष्णु ढकालले भौतिक सरचनाको सुधारसंगै गुणस्तरिय शिक्षा गाउँपालिकाको प्राथमिकता रहेको बताउनुभयो ।

गाउँपालिका शिक्षा शाखा प्रमुख भुपराज पाण्डेयले कोभिड–१९ को कारण लामो समय विद्यार्थीहरु विद्यालय शिक्षाबाट बञ्चित हुन परेको अवस्थामा अहिले यहाँका विद्यार्थीहरुको कसरी सम्पूर्ण पाठ्यक्रमलाई प्रभावकारी रुपमा अध्ययन गराउन सकिन्छ भन्ने विषयमा जनप्रतिनिधि, अभिभावक र शिक्षक बिच छलफल भइरहेको जानकारी दिनुभयो । संविधानले प्रदान गरेको निशुल्क शिक्षा कार्यान्वयनको लागि गाउँपालिका प्रतिबद्ध रहेको भन्दै विद्यालय तहमा अध्ययन गर्ने बालबालिकाहरुलाई नियमित शिक्षा प्रदान गर्न अग्रसर रहेको बताउनुझयो ।

अर्न्तक्रिया कार्यत्रममा सहभागि शिक्षकहरुले गाउँपालिकामा बाल बिबाहको दर उच्च रहेको भन्दै त्यसको न्यूनिकरणको लागि सबै पक्षको सहयोग आवश्यक पर्ने बताउनु भएको थियो । भानुदय नमुना माविका शिक्षक काशिराम भुसालले विद्यालयका लागि बाल बिबाह प्रकोप जस्तै भएको भन्दै अभिभावकहरु आफ्ना बालबालिका के मा व्यस्त छन भन्ने विषयमा गम्भीर बन्न आवश्यक रहेको बताउनुभयो ।

जनजागृति आधारभूत विद्यालयका प्रध्यानाध्यापक चन्द्रकला कार्कीले क्रसर र ढुंगा गिटी व्यवसायको कारण छात्रहरु कक्षा ६ अध्ययन गर्दा देखिबाट नै विद्यालयबाट बाहिरिनेको संख्या बढेको बताउनुभयो । रातभर ढुंगागिटी संकलनमा जाने र दिउसो विद्यालय अध्ययन गर्न नआउने छात्र विद्यार्थीहरुको संख्या बढेको भन्दै उहाँले यसप्रति सबै पक्ष गम्भीर बन्न आवश्यक रहेको बताउनुभयो ।

अभिभावक यमुना पाठक भुसालले किशोर अवस्थाका युवाहरु लागुऔषध दुर्व्यसनी प्रयोगकर्ता बढि रहेको भन्दै तत्काल यस विषयमा गम्भीर नबने भविश्यमा समस्या सृजना हुन सक्ने बताउनुभयो ।

कार्यक्रममा इन्सेक जिल्ला प्रतिनिधि तिर्थराज डुम्रेले निशुल्क शिक्षा, आपांग मैत्री भवन, छात्रा मैत्री शौचालय व्यवस्थापन गर्न गाउँपालिकाले अग्रसरता देखाउन आवश्यक रहेको बताउनुभयो । विद्यालयमा हुने शारीरिक तथा मानसिक हिंसा विरुद्ध विद्यार्थी र अभिभावक सचेत र शिक्षक जिम्मेवार बन्नु पर्ने बताउनुभयो । बालबालिकालाई हिंसा, अपराध र कानुनी उपचारको बारेमा विद्यालय तहमा शिक्षा प्रदान गर्न आवश्यक रहेको उहाँको भनाई थियो ।

मानव अधिकार समुह विनयी त्रिवेणी गाउँपालिका अध्यक्ष धर्मबहादुर जिसीको अध्यक्षतामा भएको कार्यक्रमको सहजिकरण जिल्ला सहजकर्ता गंगा विश्वकर्माले गर्नु भएको थियो ।

प्रकाशित : २०७७ माघ २१ गते १८:५७
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI