शंकास्पद मृत्यु : अनुसन्धानमा लापरबाही भएको भन्दै आन्दोलन

NAWALPUR TIMES
प्रकाशित : २०७७ फागुन १० गते १८:२६
शंकास्पद मृत्यु : अनुसन्धानमा लापरबाही भएको भन्दै आन्दोलन

विराटनगर : मोरङको उर्लाबारीमा एक युवाको शंकास्पद मृत्यु भएको घटनाको अनुसन्धानमा लापरबाही भएको भन्दै परिवारका सदस्य र आफन्त आन्दोलित बनेका छन्। प्रहरीले अनुसन्धानमा लापरबाही गरेर घटनालाई कमजोर बनाउन खोजेको आन्दोलनमा उत्रिएकाहरुको आरोप छ।

उनीहरुले अनुसन्धानमा लापरबाही गरिएको भन्दै आइतबारदेखि आन्दोलन थालेका हुन्। आन्दोलनरत उनीहरुले सोमबार पनि नाराबाजी र प्रदर्शन गर्दै इलाका प्रहरी कार्यालय उर्लाबारी घेराउ गर्दा त्यहाँको अवस्था दिनभर तनावपूर्ण बन्यो।

उर्लाबारी नगरपालिका– ५ का ३१ वर्षीय प्रवीण वास्तोलाको मृत्यु गत पुस ५ गते भएको थियो। प्रहरीका अनुसार अघिल्लो रात साथीभाइसँग होटलमा खानपिन गरेर उर्लाबारी–६ का रमेश गिरीको घरमा उनी सुत्न गएको खुलेको प्रहरीको भनाइ छ। गिरीको घरमा भाडामा बस्ने साथीहरुसँग होटलमा खानपिन गरेर उनी साथीकै कोठामा सुत्न गएको प्रहरीले जनाएको छ।

ओछ्यानमै बेहास अवस्थामा भेटिएको भन्दै उनलाई उपचारका लागि गोदावारी अस्पताल लगिएको थियो। परिवारका सदस्यले अस्पतालमै उनको मृत शरिर देखेको आफन्त दीपक वास्तोलाले बताए। परिवारका सदस्य र आफन्तले यसअघिदेखि नै प्रवीणको हत्या भएको दाबी गरिरहे पनि शरीरमा कुनै चोटपटक भने नदेखिएको प्रहरीले जनाएको छ।
दीपकले प्रवीणको मृत्युको अनुसन्धान प्रतिवेदनमा अर्कै व्यक्तिको फोटो राखेर प्रहरीले लापरबाही गरेको बताए। घटना अनुसन्धान गरेको प्रहरीले सरकारी वकिलको कार्यालयमा अनुसन्धान प्रतिवेदनसहितको मिसिल बुझाउँदा मृतकको तीनवटा फोटो राखेको थियो। जसमा एउटा फोटो भने अरु नै व्यक्तिको परेको पाइएपछि आन्दोलनमा उत्रनु परेको दीपकको भनाइ छ।

अर्कै व्यक्तिको फोटो राखेर अनुसन्धान प्रतिवेदन प्रहरीले बुझाएका कारण सरकारी वकिलको कार्यालयलले मुद्दा नचलाएको आफन्तको आरोप छ। प्रहरीले तीन जनालाई पक्राउ गर्दै घटनाको अनुसन्धान सकेर मिसिल बुझाएपछि जिल्ला सरकारी वकिल कार्यालयले मुद्दा चलाउन नपर्ने भन्दै माघ २ गते उनीहरुलाई हाजिरी जमानीमा छाडिदिएको थियो। अनुसन्धान प्रतिवेदन अध्ययनपछि अहिले नै मुद्दा चलाउन नमिल्ने ठहर गर्दै कार्यालयले फाइल फिर्ता पठाएको हो।

मृत्यु शंकास्पद रहेको भन्दै पुस ९ गते परिवारका सदस्यबाट किटानी जाहेरी परेपछि प्रहरीले उर्लाबारी–६ का ३१ वर्षीय राजेश रणपहेली, दीपेश पौडेल र शिवा भनिने मेहरमान दर्जीलाई नियन्त्रणमा लिएर घटनाको अनुसन्धान अघि बढाएको थियो।

मृतककी बहिनी सदीक्षाले प्रहरी कार्यालयमा पुगेर मिसिल हेर्दा आफ्नो दाजुको फोटो परिवर्तन गरेर अर्कै व्यक्तिको राखेको पाइएको बताइन्। मिसिलमा तीनवटामा एउटा फोटो अर्कै व्यक्तिको राखेका कारण प्रहरीको भूमिका शंकास्पद देखिएको उनको भनाइ छ। मिसिलमा रहेको फोटो दाजुको हैन भनेपछि प्रहरीले हतारहतार परिवर्तन गरिदिएको सदीक्षाको गुनासो छ।

अपराधीलाई संरक्षण गरेको लगायतका आरोप लगाएर प्रहरीविरुद्ध चर्को आवाज उठाउँदै उनले सामाजिक सञ्जालमार्फत आन्दोलनको लाइभ गरेकी थिइन्। पोष्टमार्टम रिपोर्टमा छटपटिका कारण मृत्यु भएको उल्लेख भएको बताउँदै सदीक्षाले प्रहरीले भने घटनाको अनुसन्धानमा लापरबाही गरेको आरोप लगाइन।
प्रहरीले पनि फोटो भुलबस अर्कै परेको स्वीकार गरेको छ। मोरङ प्रहरीका डीएसपी लोकदर्शन थापाले फोटो राख्ने क्रममा त्रुटि भएको र घटनाको अनुसन्धान अझै पनि जारी रहेको बताए। फोटोमा त्रुटि भएपनि अहिलेसम्म भएको घटनाको अनुसन्धानमा कुनै लापरबाही र कमजोरी नभेटिएको उनको भनाइ छ। उनका अनुसार घटनाको छानबिनका लागि अर्का डीएसपी मानबहादुर राईको नेतृत्वमा टोली बनाइएको छ।

अहिलेसम्म कुनै कमजोरी भएको नदेखिएको र छानबिनबाट घटनाको अनुसन्धानमा लापरबाही गरेको पुष्टि भए कारबाही हुने थापाको भनाइ छ। इलाका प्रहरी कार्यालय उर्लाबारीका प्रहरी निरीक्षक उद्धव पोखरेलले फोटो अर्कै व्यक्तिको परेको भएपनि गलत वा लापरबाही गर्ने मनसायले त्यस्तो नगरिएको बताए। ‘एउटा मात्रै राख्दा हुने ठाउँमा अनुसन्धानलाई थप मजवुत बनाउन तीनवटा फोटो राखिएको हो,’ उनले भने, ‘लापरबाही नै गर्ने हुँदा अरु दुईवटा फोटा चैँ किन मृतककै राखिन्थ्यो होला र ?’पोखरेलले गलत नियत नराखिएको स्पष्ट पार्दै अनुसन्धानको प्रक्रिया अझै धेरै बाँकी रहेकाले अनुसन्धान पूरा भएपछि वास्तविकता बाहिर आउने भएकाले नआत्तिन र प्रहरीमाथि कुनै पनि शंका नगर्न सबैमा आग्रह गरेका छन्।

पीडितका अनुसार मिसिलमा मृतकको भनि चाँदीको सिक्री लगाएका अर्कै व्यक्तिको फोटो राखिएको थियो। सदीक्षाका अनुसार मृत अवस्थामा फेला पर्दा प्रवीणको गलामा सिक्री थिएन। यद्यपी प्रहरीले अनुहार नै नचिनिने व्यक्तिको फोटो घटनास्थल मुचुल्कामा संलग्न गरेको उनको आरोप छ। 

गत पुस ४ गते घरबाट निस्किएका प्रवीणको मृत्यु भएको भनेर भोलिपल्ट बिहान ११ बजेतिर आफूहरुले थाहा पाएको सदीक्षाले बताइन्। प्रहरीले फरेन्सिक रिपोर्ट आउन बाँकी रहेको र त्यो रिपोर्ट प्राप्त भएपछि मात्रै घटनाको वास्तविकता बाहिर आउने जनाएको छ।

प्रहरीले घटनालाई लिएर सामाजिक सञ्चालमा अनर्गल प्रचार भइरहेको भन्दै ध्यानआकर्षण भएको जनाएको छ। सोमबार एक विज्ञप्ति सार्वजनिक गर्दै प्रहरीले अनावश्यक गतिविधिले घटनाको वास्तविकता पत्ता लगाउन गाह्रो पर्ने भएकाले स्वतन्त्रपूर्वक रुपमा घटनाको सबै अनुसन्धान पूरा गर्ने वातावरण बनाइदिन सबैमा आग्रह गरेको हो।-अन्नपूर्ण पोस्ट

प्रकाशित : २०७७ फागुन १० गते १८:२६
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI