काङ्ग्रेसले नेकपाको दुबै पक्षसँग सहकार्य गर्दैन :महामन्त्री कोइराला

NAWALPUR TIMES
प्रकाशित : २०७७ फागुन १५ गते १८:१८
काङ्ग्रेसले नेकपाको दुबै  पक्षसँग सहकार्य गर्दैन :महामन्त्री कोइराला

मकवानपुर — प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सत्तारुढ नेकपाको विवादमा कुन पक्षसँग सहकार्य गर्ने भनेर तत्काल निर्णय नगर्ने महामन्त्री डा. शशांक कोइरालाले बताएका छन् । नेकपा विवादका कारण देशमा सुरु भएको नयाँ राजनीतिक समिकरणमा कांग्रेस निर्णायक अवस्थामा देखिएको बेला महामन्त्री डा. कोइरालाले कांग्रेस अहिले कसैको पक्षमा नरहेको बताएका छन् । हेटौंडामा शनिबार रेडियो मकवानपुरको ११ औं वार्षिकोत्सव कार्यक्रममा बोल्दै उनले नेपाली कांग्रेस अहिलेको परिस्थितिमा नेकपाको ओली र दाहाल–नेपाल दुवैको पक्षमा नरहेको बताए । ‘अहिले कांग्रेस कुनै पनि पक्षमा छैन । अब सदन कसरी अगाडि बढ्छ त्यो हेर्न बाँकी नै रहेको छ,’ उनले कांग्रेसले संसदमा हुने प्रतिनिधित्वको आधारमा आफ्नो रणनीति बनाएर अघि बढ्ने बताए । उनले विश्वबाट पलायन भइसकेका कम्युनिष्ट नेपालमा नेपाली कांग्रेसकै साहारामा अस्तित्वमा आएको समेत दाबी गरे । ‘हामीले २०४६ सालबाट कम्युनिष्टसँग सहकार्य गरेर अहिलेसम्मको यात्रा तय गरेका हौं,’ कोइरालाले भने । कोइरालाले अबको ध्यान कांग्रेसले आफ्नो पार्टीको महाधिवेशनमा केन्द्रित गर्नुपर्नेमा जोड दिए । तोकिएको समयमा महाधिवेशन गरेर नेतृत्व परिवर्तन हुनुपर्नेमा उनको जोड थियो । ‘पार्टी सुदृढ बनाएर महाधिवेशनमार्फत् नेतृत्व परिवर्तन गरेर अगाडि बढ्नु अहिलेको आवश्यकता हो,’ उनले भने ।

प्रकाशित : २०७७ फागुन १५ गते १८:१८
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI