माधव नेपाल भन्छन्– प्रधानमन्त्रीलाई सुरक्षा दिन नेकपा तयार छ

NAWALPUR TIMES
प्रकाशित : २०७७ फागुन १८ गते १४:४९
माधव नेपाल भन्छन्– प्रधानमन्त्रीलाई सुरक्षा दिन नेकपा तयार छ

नेकपा प्रचण्ड–माधव समूहका अध्यक्ष माधवकुमार नेपालले सयौँ सुरक्षाकर्मीको घेरामा रहँदा पनि आफूलाई असुरक्षित महसुस गर्ने प्रधानमन्त्रीलाई आवश्यक परे नेकपा सुरक्षा दिन तयार रहेको बताएका छन् । विराटनगरमा प्रेस संगठन मोरङले मंगलबार आयोजना गरेको पत्रकार सम्मेलनमा अध्यक्ष नेपालले प्रधानमन्त्रीले आफूलाई असुरक्षित महसुस गरेकै हो भने नेकपा सुरक्षा प्रदान गर्न तयार रहेको बताएका हुन् ।

प्रधानमन्त्री देश र देशवासी सबैको सुरक्षाप्रति संवेदनशील हुनुपर्ने बताउँदै नेपालले भने, ‘देशलाई सुरक्षा प्रदान गर्ने प्रधानमन्त्री आफैँ नै असुरक्षित हुनुभएको हो भने आफ्नो दल सुरक्षा दिन तयार छ ।’

कम्युनिस्ट नेता स्व. भरतमोहन अधिकारीको दोस्रो स्मृति सभामा भाग लिन विराटनगर आएका नेपालले वर्तमान राजनीतिक गतिरोध संसद् अधिवेशनसँगै अन्त्य हुने बताए । प्रतिगमनको विरुद्धमा रहेका सबै राजनीतिक पार्टीहरूसँग मिलेर देशलाई निकास दिने उनले भनाइ छ । प्रतिगमनविरोधी शक्ति मिलेर नयाँ सरकार गठन गर्ने उनले बताए ।

उनले प्रतिगमनलाई साथ दिएकाहरूले गल्ती महसुस गरेर आए नेता–कार्यकर्तालाई स्वागत गर्न आफूहरू तत्पर रहेको अध्यक्ष नेपालले बताए । प्रतिगमनको विपक्षमा रहेका प्रमुख तीन दलसँग छलफल गरेर सरकारविरुद्ध दर्ता गरेको अविश्वासको प्रस्ताव अगाडि बढाउन सकिने उनको भनाइ छ ।

प्रकाशित : २०७७ फागुन १८ गते १४:४९
Copyright © 21 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI