विप्लवका कार्यकर्ता छाड्न गृह मन्त्रालयको सर्कुलर

NAWALPUR TIMES
प्रकाशित : २०७७ फागुन २१ गते ८:३६
विप्लवका कार्यकर्ता छाड्न गृह मन्त्रालयको सर्कुलर

काठमाडौं, २१ फागुन । गृह मन्त्रायले हिरासतमा रहेका नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्टका नेता कार्यकर्तालाई रिहाइ गर्न सर्कुलर जारी गरेको छ ।

मन्त्रालयले प्रहरी प्रधान कार्यालयलाई पत्र लेखी प्रमुख जिल्ला अधिकारीले हेर्ने मुद्दामा प्रक्रिया पुर्‍याएर छाड्न र अन्य मुद्दाको हकमा जिल्ला सरकारी वकिलसँग समन्वय गर्न निर्देशन दिएको हो ।

प्रमुख जिल्ला अधिकारीले हेर्ने मुद्दा प्रक्रिया पुर्‍याएर छाड्न आजै निर्देशन दिइसकेको गृह मन्त्रालया प्रवक्ता चक्रबहादुर बुढाले जानकारी दिए । अन्यको हकमा पनि सहजीकरण भइरहेको उनको भनाइ छ ।

प्रहरीका अनुसार २७ फागुन २०७५ मा प्रतिबन्ध लागे यता विप्लव समूहका २०९८ जना नेता कार्यकर्ता पक्राउ परेका थिए । तीमध्ये १२६ जना पुर्पक्षका लागि थुनामा छन् भने १८ जना अझै हिरासतमै छन् ।

गृह मन्त्रालयले विप्लव समूहका नेता कार्यकर्तालाई लगाएको मुद्दाको पूर्ण विवरण ७७ जिल्लाका जिल्ला प्रशासन कार्यालय र प्रहरी कार्यालयसँग मागेको छ ।

बिहीबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले विप्लव समूहमाथि लगाएको प्रतिबन्ध फुकुवा गरेको छ । बिहीबार बिहान मात्र सरकार र विप्लव समूहबीच तीन बुँदे सहमति भएको थियो ।

सहमतिमा सरकारले विप्लवमाथिको प्रतिबन्ध हटाउने, सम्पूर्ण बन्दीको रिहाइ र मुद्दा खारेजी गर्ने भएको छ भने विप्लव समूहले आफ्ना सम्पूर्ण राजनीतिक विषयको समाधान संवादबाट गर्ने, राजनीतिक क्रियाकलाप शान्तिपूर्ण रुपमा सञ्चालन गर्ने सहमति भएको छ ।

प्रकाशित : २०७७ फागुन २१ गते ८:३६
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI