सडक सुरक्षा जाँचको प्रभाव : एक महिनाको अवधिमा २२ वटा मोटरसाइकल सम्बन्धित धनिलाई बुझाईयो

NAWALPUR TIMES
प्रकाशित : २०७७ चैत २ गते १६:३७
सडक सुरक्षा जाँचको प्रभाव : एक महिनाको अवधिमा २२ वटा मोटरसाइकल सम्बन्धित धनिलाई बुझाईयो

सन्जय भट्टराई/कावासोती ।
नवलपुर प्रहरीले सुरु गरेको सडक सुरक्षा जाँच प्रभावकारी बन्दै गएको छ । सडकमा सवारी साधन चेक जाँच गरिने प्रहरीको यो नियमित कामले भने यति बेला प्रशंसा बटुल्न थालेको छ । नियमित चेक जाँचको क्रममा भन्सार छलेर ल्याईएका सामान , लागू औषध बरामद गर्ने गरेको प्रहरीले पछिल्लो एक महिनाको अवधिमा २२ वटा चोरीको मोटरसाइकल बरामद गरेर सम्बन्धित धनिलाई बुझाएको छ ।

जिल्ला प्रहरी कार्यालय नवलपुरका डिएसपी दिलिपकुमार गिरीका अनुसार  सडक सुरक्षा जाँच अन्तर्गत विभिन्न स्थानबाट समातेर २२ जना मोटरसाइकल धनिलाई उनिहरुको मोटरसाइकल हस्तान्तरण गरिएको हो ।

नवलपुरमा चोरीका मोटरसाइकलका कारणले दुर्घटना बढदै गए पछि प्रहरीले जिल्लाका विभिन्न स्थानमा चेक जाँचलाई तिब्रता दिए सँगै हराएका मोटरसाइकल समातिन थालेको डिएसपी गिरीले बताए । जिल्लाको पहाडी क्षेत्रको  रुद्रपुर, विनयी त्रिवेणीको सर्दी, मध्यविन्दु नगरपालिकाको तल्लो क्षेत्रमा चोरीका मोटरसाइकल धेरै मात्रामा फेला पर्ने गरेको डिएसपी गिरीले बताए । पक्राउ परेका मोटरसाइकलहरु धेरै रुपन्देही , कपिलवस्तु ,पश्चिम नवलपरासी र चितवन आसपासका रहेका गिरीले बताए

आइतबार जिल्ला प्रहरी कार्यालय परिसरमा प्रहरीको प्रयास पछि मोटरसाइकल फिर्ता पाए पछि कोहि खुसी त कोहि दङ्ग देखिन्थे । करिब एक वर्ष अगाडी भरतपुरको पार्किङबाट २२० सिसिको पल्सर  मोटरसाइकल हराएपछि भेटाउछु भन्ने आशानै नगरेका भरतपुर-१२ सन्तोष अर्यालले प्रहरीले मोटरसाइकल लिन बोलाए पछि तत्काल आफुलाई विश्वासनै नलागेको बताए । मोटरसाइकल बुझे पछि खुसी भएका अर्यालले प्रहरीले एक वर्ष पछि भए पनि मोटरसाइकल खोजेर दिदा प्रहरी प्रती थप विश्वास जागेको बताए । त्यस्तै पश्चिम नवलपरासी बर्दघाट नगरपालिका वडा नं १० का अशोक सापकोटा करिब ४ महिना अगाडी हराएको आफ्नो मोटरसाइकल फेला पर्दा दङ्ग देखिन्थे । मोटरसाइकल बुझे पछि सापकोटाले प्रहरीलाई धन्यवाद दिदै भने “प्रहरीले गर्ने हो भने सक्ने रहेछ, प्रहरी प्रती झनै विश्वास बढेको छ ।”

 

प्रकाशित : २०७७ चैत २ गते १६:३७
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI