गाई फर्ममा आगलागी : १८ गाई र २ बाच्छा जलेर मरे

NAWALPUR TIMES
प्रकाशित : २०७७ चैत ६ गते १३:०९
गाई फर्ममा आगलागी : १८ गाई र २ बाच्छा जलेर मरे

सप्तरी । सप्तरीको अग्निसाइर कृष्णसवरण नगरपालिका–५ स्थित एक गाई फर्मममा आगलागी भएको छ । शुक्रबार बिहान अचानक भएको आगलागीमा १८ वटा गाई र २ वटा बाच्छा जलेर मरेको सप्तरी प्रहरीले जनाएको छ ।
मनोज साह र दिनानाथ साहले सप्तरीको अग्निसाइर कृष्णसवरण नगरपालिका वडा न.–५ को महुली पुल नजिकै सञ्चालन गरेको कृष्णराम बहुउद्देश्यीय कृषि फर्मको गाई गोठमा ६० वटा गाई पालिएको मध्ये गाई र बाच्छासहित २० वटा जलेर मरेको अवस्थामा फेला परेको हो ।

एक्कासि भएको आगलागी गोठका कर्मचारीले देखेको र गाईको दाम्लाे काट्दासमेत गाईहरू बाहिर नभागेर आगो बलेकै तिर भागेर पसेकाले निकै धेरै क्षति भएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रमुख एसपी राजेन्द्र धमलाले जानकारी दिनुभयो।

आगो बिहानै नियन्त्रणमा आएको र अहिले के–कति क्षति भयो भन्ने बारेमा क्षतिको मूल्याङ्कन गरिएको प्रहरीले जनाएको छ । यता सप्तरीमा पछिल्लो समय आगलागीका घटना बढेको छ ।

बिहीबार मात्र जिल्लाको तिलाठी कोइलाडी गाउँपालिका वडा न.–५ आगलागी हुँदा झन्डै ७५ लाख बराबरको धनमाल जलेर नष्ट भएको थियो । यता आगलागीमा चार वटा घर जलेर खरानी बनेको थियो भने एक जना गम्भीर घाइते भएका थिए ।

प्रकाशित : २०७७ चैत ६ गते १३:०९
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI