अबको २० महिनापछि हुने नियमित चुनावबाट बहुमत सहित सरकार चलाउछौं: देउवा

NAWALPUR TIMES
प्रकाशित : २०७७ चैत ७ गते १७:५६
अबको २० महिनापछि हुने नियमित चुनावबाट  बहुमत सहित सरकार चलाउछौं: देउवा

चितवन । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले चुनावमा केन्द्रीत हुन नेता तथा कार्यकर्तालाई निर्देशन दिनुभएको छ ।

गिरिजाप्रसाद कोइरालाको ११औं स्मृति दिवसमा रत्ननगरमा भएको युवा तरुण जागरण अभियानमा देउवाले कांग्रेसलाई सरकारको लोभमा नभएको बताउँदै प्रधानमन्त्रीको पद काँधमा आए पछि नहट्ने बताउनुभयो ।

अबको २० महिनापछि नियमित चुनाव हुने भन्दै उक्त चुनावमा बहुमत प्राप्त गरेर प्रधानमन्त्री सहित पूर्णरूपमा कांग्रेसको सरकार चलाउने देउवाको दावी छ । जनताको दुःखसुखमा साथ दिएमात्रै कांग्रेसको पक्षमा मत आउने बताउँदै उहाँले कम्तीमा पनि वर्षको तीनपटक जनताको घर–घरमा पुग्न नेता तथा कार्यकर्तालाई आग्रह गर्नुभयो ।

‘जनताले भोट नहालेर गत चुनावमा हार व्यहोरेको हौं,’ उहाँले भन्नुभयो, ‘भाषणले भोट आउँदैन, जनताको घरदैलोमा निरन्तर पुग्नुस् ।’

देउवाले मध्यावधि निर्वाचनको कुरा फेरि पनि उठिरहेकाले निर्वाचनका लागि जुनसुकै बेला पनि तयार रहन निर्देशन दिनुभयो । तरुण विना कांग्रेस बलियो नहुने भएकाले यसको नेतृत्वलाई पूर्णता दिने गरी आफूले काम गरिरहेको उहाँकोभ भनाइ छ ।

कार्यक्रममा बोल्दै सहमहामन्त्री डा प्रकाश शरण महतले अंकगणितले मात्रै सरकार बन्ने भएकाले अहिले कांग्रेसको संसदमा प्रतिनिधित्व कम रहेकाले सरकारमा जाने भन्दा चुनावमा केन्द्रीत हुनुपर्ने बताउनुभयो । कम्युनिष्ट जनतालाई धोका र सपना मात्रै बाँडेको भन्दै यही मौकामा कांग्रेसले जनताको मत जितेर सबै एक ढिक्का भइ बहुमत प्राप्त गर्नेगरी लाग्नुपर्ने बताउनुभयो ।

कांग्रेस भित्र व्यक्ति ठूलो हुने गरी राजनीति नगर्न आग्रह गर्दै सवै मिलेर अघि बढे मात्रै आगामी चुनावमा जित हुने उहाँको दावी थियो । विश्वका कयौँ देशमा कम्युनिष्ट कहिल्यै चुनाव नजित्ने भन्दै नेपालमा भने गाइजात्रा भएको टिप्पणी गर्नुभयो ।

कार्यक्रममा बोल्दै तरुण विभागका प्रमुख एवम केन्द्रीय सदस्य शंकर भण्डारीले तरुणका सबै तहमा नेतृत्वले पूर्णता पाउने गरी काम गर्न सभापति देउवासँग आग्रह गर्नुभयो । अन्यथा आफू तरुण विभागको प्रमुखनै छोडिदिने उहाँको चेतावनी छ ।

प्रकाशित : २०७७ चैत ७ गते १७:५६
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI