कसले टेर्छ सरकारको निर्णयलाई ?

NAWALPUR TIMES
प्रकाशित : २०७७ चैत ३१ गते १२:४४
कसले टेर्छ सरकारको निर्णयलाई ?

काठमाडौं । सरकारले कोरोना भाइरसको संक्रमण बढे पनि शैक्षिक लगायत कुनै पनि क्षेत्र तत्काल बन्द नगर्ने निर्णय गरेको छ । सोमबार राति बसेको मन्त्रिपरिषद्को बैठकले अझै केही दिन कोरोना संक्रमणको प्रकृति हेरेर मात्र बन्द गर्ने वा कसरी अगाडि बढ्ने भन्नेबारेमा रणनीति बनाउने निर्णय गरेको हो ।

त्यस्तै शनिबारको बैठकमा कोभिड संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) ले पनि तीन साताका लागि विद्यालय बन्द गर्न प्रस्ताव गरेको थियो । ।

अहिले बालबालिकाहरु नै संक्रमित बढी भइरहँदासमेत सरकारले विद्यालय बन्द गर्न गरेको अटेरीले स्वास्थ्यकर्मीहरुलाई चिन्तित पारे पनि अभिभावकहरु बोल्न सक्ने अवस्थामा देखिएका छैनन् ।

सोमबार मात्रै कोरोनाका ५५९ संक्रमित थपिए । १३ जनाको ज्यान गयो । यो तथ्यांक गत मंसिर महिनाको तथ्यांकसँग मिल्छ । तर सरकारले कुनै चासो राखेन ।

अहिले आएर नयाँ स्वास्थ्य मापदण्ड बनाउनतर्फ लागिरहेको छ ।

कसले टेर्छ सरकारको निर्णयलाई ? 
सरकारले मास्क अनिवार्य गर्ने, भीडभाडमा पूर्ण रोक लगाउने तथा सार्वजनिक यातायातमा नयाँ मापदण्ड बनाउने विषयमा बैठकमा स्वास्थ्य सम्बन्धी नयाँ मापदण्ड मंगलबार सार्वजनिक गर्ने तयारी गर्दैछ ।

तर सरकारले जारी गर्ने यो नयाँ मापदण्डलाई कसले पालना गर्छ ?

जुन देशको राष्ट्रपति र प्रधानमन्त्रीले नै सरकारका मापदण्ड उल्लंघन गर्छन् भने त्यो देशका नागरिकले कसरी पालना गर्छन् ?

प्रधानमन्त्री केपी शर्मा ओली आफैंले अवस्था यस्तै रहे लकडाउन गर्नु पर्ने बताउँछन् । तर तिनै ओली दैनिक विभिन्न भेला हुने कार्यक्रममा सहभागी भएर भाषण गर्दै आफ्नो सरकारको आयु लम्ब्याइरहेका छन् ।

राष्ट्रपति पनि त्यस्तै गत शुक्रबार राष्ट्रपति विद्यादेवी भण्डारीले शितल निवासमा भव्य समारोह आयोजना गरेर करिब ६ सय व्यक्तिलाई विभिन्न पदकले विभूषित गरिन् ।

आइतबार मात्रै संक्रमणको बेवास्ता गर्दै टुँडिखेलमा घोडेजात्रा मनाइयो । राष्ट्रपति भण्डारी त्यहाँ पनि सरिक भइन् । प्रधानमन्त्री पनि थिए दुवै स्थलमा ।

बुधबार पनि फेरि राष्ट्रपतिले पदक बाँड्दै छिन् । त्यहाँ पनि भीड हुने नै छ ।

रोकथामको पहल गर्नु पर्नेमा आफैले गल्ती गरिरहेको भन्दै विज्ञहरुले सरकारी रबैयाको आलोचना गरेका छन् । स्वास्थ्य मन्त्रालय पनि चिन्तित भइसक्यो । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमलाई सरकारले गरेका गल्ती ढाकछोप गर्दैमा हैरान छ ।

मन्त्रालयले संक्रमण रोक्न तीन साताका लागि शैक्षिक संस्थाहरु बन्द गर्न सिफारिस गरे पनि त्यो सम्भव भएन ।

कोरोनाको नयाँ भेरियन्टले ठूलो मात्रामा संक्रमण फैलिइरहेको छ । ट्रेसिङ गर्ने चलन नै हराइसक्यो ।

सरकारले खोपसमेत पनि ल्याएको छैन । पहिले लगाएकाले दोस्रो डोज नपाउने चिन्ता छ । तर पनि सरकार सचेत भएको पाइँदैन ।

महामारीले खतराको घण्टी बजाइरहँदा पनि सरकारले यसलाई सामान्य रुपले लिएको छ । प्रधानमन्त्री ओलीले विपक्षी तर्साउन सभा सम्मेलनमा रोक लगाउने बताए पनि आफू भने त्यस्ता सभा सम्मेलनमा जान छाडेका छैनन् ।

फेरि अब कसले टेर्छ उनको आदेश ? सरकारले बनाउने नयाँ मापदण्ड झारा टार्ने बाहेक केही हुन सक्दैन । लाखौं जनता सडकमा उतारेर आफ्नो सरकारको आयु बढाउने ओलीको बोलीमा भरोसा कम हुँदै गएको छ ।

ओली आफैले सरकारको निर्देशनको अवज्ञा गर्छन् भने अरुलाई सम्झाउने हैसियत पनि उनले गुमाइसकेका छन् ।

तस्वीर– घोडेजात्रा २०७७ को अवसरमा सैनिक मञ्च टुडीखेलमा उपस्थित प्रमुख अतिथि राष्ट्रपति विद्यादेवी भण्डारी, उपराष्टपति नन्दवहादुर पुन, प्रधानमन्त्री केपी शर्मा ओलीलगायत– रासस ।

प्रकाशित : २०७७ चैत ३१ गते १२:४४
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI