प्रधानमन्त्री ओलीसहित एमालेका करीव ५० केन्द्रीय नेताहरू कन्ट्याक्ट ट्रेसिङमा

NAWALPUR TIMES
प्रकाशित : २०७८ वैशाख १५ गते ८:१७
प्रधानमन्त्री ओलीसहित एमालेका करीव ५० केन्द्रीय नेताहरू कन्ट्याक्ट ट्रेसिङमा

काठमाडौं, १५ वैशाख । एमालेका अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी ओलीसहित एमालेका करीव ५० केन्द्रीय नेताहरू कन्ट्याक्ट ट्रेसिङमा परेका छन् ।

ऊर्जा, सिचाइँ तथा जलस्रोतमन्त्री टोपबहादुर रायमाझी र एमालेका केन्द्रीय सदस्य विष्णु रिजाललाई कोरोना संक्रमण भएपछि प्रधानमन्त्री ओली कन्ट्याक्ट ट्रेसिङमा परेका हुन् ।

कोरोना संक्रमण भएका मन्त्री रायमाझी मन्त्रिपरिषद र एमालेको केन्द्रीय कमिटीको बैठकमा सहभागी भएका थिए ।

केन्द्रीय सदस्य रिजाल पनि बालुवाटारको केन्द्रीय कमिटीको बैठकमा सहभागी भएका थिए । नेता रिजालले सामाजिक सञ्जालमार्फत आफूलाई कोरोना संक्रमण भएको भन्दै सम्पर्कमा आएकाहरूलाई सर्तक रहन अनुरोध गरेका थिए ।

बैठकका क्रममा रिजालसहितका एमालेका नेताहरूले प्रधानमन्त्री ओलीका प्रेस सल्लाहकार सूर्य थापासहितका नेताहरूसँग मास्क नलगाएर सामूहिक तस्वीर खिचाएका थिए ।

केन्द्रीय कमिटीको बैठकलाई प्रधानमन्त्री ओलीले सम्बोधन गरेका थिए । नेताहरूसँग भलाकुसारी पनि गरेको एक नेताले बताए ।

प्रधानमन्त्री ओलीसहित एमालेका ५० भन्दा बढी केन्द्रीय नेता कन्ट्याक्ट ट्रेसिङमा परेको एमालेका एक नेताले बताएका छन् ।

प्रेस सल्लाहकार थापा ओलीको प्रत्यक्ष सम्पर्कमा रहने गर्छन् ।

सरकारले २५ जनाभन्दा बढी जम्मा हुन नपाइने सूचना जारी गरिसकेको छ । प्रधानमन्त्रीले नै स्वास्थ्य प्रोकल उल्लंघन गरेको भनेर आलोचना समेत हुँदै आएको छ ।

प्रधानमन्त्री ओलीसहितका एमालेका केन्द्रीय नेताहरू कन्ट्याक्ट ट्रेसिङमा परेपछि एमालेभित्र खैलाबैला भएको छ ।

प्रकाशित : २०७८ वैशाख १५ गते ८:१७
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI